विद्यालयकेन्द्रित एचपिभी खोप अभियान सञ्चालन गरिँदै



धनगढी ।

महिलामा पाठेघरको क्यान्सरको जोखिम न्यूनीकरण गर्न लक्षित विद्यालयकेन्द्रित एचपिभी खोप सेवा कैलाली जिल्लामा माघ २७ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने भएको छ । नियमित खोप कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको उक्त अभियानलाई प्रभावकारी बनाउन जिल्ला पूर्णखोप समन्वय समिति, पत्रकार, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूबीच अन्तक्र्रिया तथा बैठक आइतबार गरिएको छ ।

स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय खोप समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख टीकाकुमारी भुल चौधरीको अध्यक्षता रहेको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खगेन्द्र बम, औषधि व्यवस्था तथा आपूर्ति केन्द्रका प्रमुख झनक ढुङ्गाना, स्वास्थ्य कार्यालयका अधिकारी, पत्रकार तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा जानकारी दिँदै स्वास्थ्य कार्यालय कैलालीले यस वर्ष निर्वाचनका कारण खोप अभियानको समयतालिका परिवर्तन गरिएको जनाएको छ । यसअघि फागुन २१ गतेबाट सञ्चालन गर्ने तयारी गरिएको भए पनि यस वर्ष माघमै अभियान सुरु गरिएको हो । एचपिभी खोप मुख्यतया कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरूलाई लगाइने छ । स्वास्थ्य कार्यालयले कर्मचारी सूर्य विष्टका अनुसार यस वर्ष दश हजार तीन सय ८५ किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।

जसमा विद्यालय बाहिर रहेका एक सय ७६ जना बालबालिकालाई समेत खोजी गरी खोपमा समावेश गरिनेछ । यस्तै, गत वर्ष कुनै कारणले खोप छुट भएका ११–१४ वर्ष उमेर समूहका ९९ जना किशोरीहरूलाई पनि यस पटक समेटिने योजना बनाइएको छ । जिल्लाभर खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न ३८५ सामुदायिक र २८१ संस्थागत विद्यालय छनोट गरिएका छन् ।

यी विद्यालयमार्फत ४२९ वटा खोप केन्द्र स्थापना गरिनेछ । अभियानलाई सफल बनाउन ३८८ जना स्वास्थ्यकर्मी र ३८८ जना स्वयंसेवक खटाइने स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा जिल्लामा ४७ हजार ६ सय ५५ जनाले विभिन्न खोप सेवा लिएका थिए । यस वर्ष उक्त सङ्ख्यालाई अझ बढाएर शतप्रतिशत लक्ष्य हासिल गर्ने उद्देश्य रहेको छ ।

गत वर्ष खोप अभियानका क्रममा दुई जनामा स्वास्थ्य समस्या देखिएको विषयमा उठेका जिज्ञासाप्रति स्पष्ट पार्दै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले ती समस्या खोपका कारण नभएको बताएका छन् । ‘खोप लगाउँदा होइन, एन्जाइटी र मानसिक त्रासका कारण समस्या देखिएको हो,’ उनले भने, ‘खोप पूर्णरूपमा सुरक्षित छ ।’ उनका अनुसार खोपसम्बन्धी गलत सूचनाले बालबालिका र अभिभावकमा अनावश्यक डर सिर्जना गर्ने गरेको छ, जसले खोप अभियानलाई चुनौतीपूर्ण बनाइरहेको छ ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर खगेन्द्र बमले जनप्रतिनिधि र समाजका प्रभावशाली व्यक्तिहरूले जिम्मेवार अभिव्यक्ति दिनुपर्नेमा जोड दिए । ‘तथ्यहीन कुरा, अफवाह र भ्रम फैलिँदा खोप अभियानमा गम्भीर असर पर्छ,’ उनले भने, ‘धनगढीजस्तो शिक्षित क्षेत्रमा समेत किशोरीहरूलाई खोपमा समेट्न समस्या देखियो ।’

उनले गलत सूचना फैलिएमा किशोरीहरू त्रसित हुने, अभिभावकहरू अन्योलमा पर्ने र दीर्घकालीन रूपमा अन्य खोप कार्यक्रमसमेत प्रभावित हुने चेतावनी दिए । ‘एचपिभी खोप मात्र होइन, नियमित सबै खोप कार्यक्रममा यसको असर पर्छ,’ उनले भने । कार्यक्रमकी अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख टीकाकुमारी भुल चौधरीले महिलामा पाठेघरको क्यान्सरको जोखिम अत्यधिक रहेको उल्लेख गर्दै कुनै पनि किशोरी खोपबाट नछुट्न नहुने स्पष्ट पारिन् ।

‘डर र त्रासको मनोविज्ञान हटाउन जरुरी छ,’ उनले भनिन्, ‘हामीले समाजमा कस्तो मानसिकता निर्माण गरिरहेका छौँ, त्यो बुझ्न आवश्यक छ।’ उनले विद्यालयकेन्द्रित खोप अभियान प्रभावकारी हुने बताउँदै विद्यालय छोड्ने किशोरीहरू पनि खोपबाट वञ्चित हुन नदिन स्थानीय तह, शिक्षक, अभिभावक र जनप्रतिनिधिहरूबीच समन्वय आवश्यक रहेको बताइन् ।

कार्यक्रममा सहभागी वक्ताहरूले एचपिभी खोपलाई सफल बनाउन पत्रकार, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी र जनप्रतिनिधि सबैको सकारात्मक भूमिका आवश्यक रहेकोमा जोड दिए । सही सूचना प्रवाह, समयमै खोप केन्द्रमा उपस्थित गराउने वातावरण र भ्रमविरुद्ध सचेतना फैलाउन सके मात्र पूर्णखोपको लक्ष्य हासिल गर्न सकिने निष्कर्ष निकालिएको थियो ।

स्वास्थ्य कार्यालय कैलालीले खोप अभियानका क्रममा कुनै समस्या, जिज्ञासा वा शंका भएमा स्वास्थ्यकर्मीमार्फत सही जानकारी लिन सबैलाई आग्रह गरेको छ । सुरक्षित, प्रभावकारी र जीवनरक्षक खोपबाट कुनै पनि किशोरी वञ्चित नहोस् भन्ने लक्ष्यसहित अभियान अघि बढाइएको कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार