संरक्षण अभावमा गुप्तेश्वर गुफा ओझेलमा



शिवु खनाल, दाङ ।

पूर्वपश्चिम राजमार्ग स्थीत धान खोलामा रहेको गुप्तेश्वर गुफा ओझेलमा परेको छ । प्रदेश ५ का तीन जिल्लाको संगम स्थल धान खोलामा रहेको गुप्तेश्वर गुफा प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ११ जाबुने सामुदायिक वनमा रहेको उक्त गुफाको बारेमा धानखोलाका स्थानीय समेत अनविज्ञ छन् । गढवा गाउँपालिका वडा नम्बर १ धानखोलाका रमेश सिंजालीले आफुहरुले गुफाको छ भन्ने मात्रै सुनेपनि गुफासम्म नपुगेको बताए ।‘नजिकैबाट गुफाले देख्ने हामीले नदेखे जस्तै भएको छ,यहाँ आसपासका नयाँ पुस्तालाई थाहा नै छैन ।’

पछिल्लो पटक गुप्तेश्र गुफाको विस्तारै संरक्षण र प्रचारप्रसार थालिएको छ । हाल सम्म गुफाकै बारेमा अनविज्ञ रहेका सरोकारवालाले यस बारेमा खोज अनुसन्धान गर्न थालेका छन् । अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कपिल आलेले आफूहरु धानखोलामा रहेको गुप्तेश्वर गुफाको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजनामा रहेको बताए । उनले भने,‘हामीले पहल थालेका छौ, गत आर्थिक बर्षमा एकलाख ५० हजारको लागतमा खोला देखि गुफासम्म पुग्ने सिँढि र रेलिङ निर्माण गरेका छौ,थप बजेट विनियोजन गरेर यसको संरक्षण गर्छौ ।’

१५ फिट जती भित्र सम्म जान सकिएपछि अँध्यारो भएकाले बिना उज्यालो जान समस्या छ । अप्ठ्यारो ठाउँमा रहेकाले सहजै अवलोकन गर्न जाने अवस्था नरहेको उक्त गुफाको नामकै बारेमा पनि धेरै थरी मत छ । थारु समुदायले दिलबाबा गुफा भन्ने गरेका छन भने केहिले नागेश्वर गुफाको नामले चिन्दछन । महेन्द्र राजमार्ग नजिकै रहेको गुप्तेश्वर मन्दिरका कारण गुप्तेश्वर गुफा भन्न थालिएको हो । गुफाको संरक्षण र प्रचारप्रसारमा छिमेकी पालिकाले पनि चाँसो देखाउन थालेका छन् ।

गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीले प्राकृतिक गुफाको संरक्षणमा आफुहरुले पहल थाल्ने बताए । उनका अनुसार छिमेकी जिल्लाका पालिकासँग समन्वय गरेर यसै आर्थिक बर्षमा गुफासम्म पुग्न सडक बनाइनेछ । अनुसन्धानकर्ता उदयराज आलेले गुप्तेश्वर गुफाको संरक्षण गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्ने प्रशस्त सम्भावना भएपनि सीमा क्षेत्रमा भएका कारण पनि गुफा ओझेल पर्न गएको बताए । उनका अनुसार अब उक्त गुफा संरक्षणको लागि जोड दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ३ गते बुधबार