‘संसद्मा अनसन बस्ने चेतावनी दिएपछि सुरुङमार्ग बनेको हो’



श्यामलाल पोखरेल । बुटवल ।

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार सोमप्रसाद पाण्डेले पाल्पाको विकास आफ्नो महत्वपूर्ण भूमिका रहेको बताएका छन् । आफू सांसद र मन्त्री हुँदा पाल्पामा विकासका ३ सय योजना ल्याएको बताउँदै पाल्पाको विकासले गति लिनुमा आफ्नो मुख्य भूमिका रहेको दाबी गरे ।

आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी सुरुङमार्गदेखि पाल्पाका सानाठूला सबैजसो योजनाहरू आफ्नो पालामा ल्याएको दाबी गर्दै केही योजना पूरा गर्न बाँकी रहेको र ति अधुरा र बाँकी रहेका योजनाहरू पूरा गर्नका लागि आफूले उम्मेदवारी दिएको बताए । २०७४ को निर्वाचनमा विजयी भएपछि पाल्पाले विकास पाएको र त्यसपछि २०७९ सालको निर्वाचनमा आफू हार्दा पाल्पाको विकास रोकिएको बताउँदै पाल्पालाई समृद्ध बनाउन पाल्पावासीको आग्रहमा आफूले उम्मेदवारी दिएको बताए ।

निर्वाचन प्रचारकै क्रममा मतदातासँग भेटघाट गर्न बुटवल झरेका सोमप्रसाद पाण्डेले भने, ‘आफू खुला किताब भएकाले मेरो प्रमुख उद्देश्य भनेको पाल्पालाई हरेक क्षेत्रबाट समृद्ध बनाउने हो, मलाई पाल्पाली जनताले ठूलो भरोसा गरेका छन् ।’ उनले आफू मन्त्री हुँदा प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लासरह बजेट पारेर पाल्पाको विकास गरेको दाबी गर्दै सिद्धबाबाको सुरुङमार्ग निर्माणमा सडकदेखि सदनसम्म विशेष भूमिका खेलेकै कारण अहिले सुरुङमार्ग निर्माण सम्पन्नको अन्तिम चरणको रहेको उल्लेख गरे ।

सुरुङमार्ग निर्माणका लागि १० अर्ब बजेट माग गर्दा त्यसबेलाका अर्थमन्त्री युवराज खतिवडाले आनाकानी गर्दा संसद्मा अनसन बस्ने चेतावनी दिएपछि बजेटको सुनिश्चित भएपछि अहिले सुरुङमार्ग बनेको उनले दाबी गरे । पाण्डेले पाल्पाको तानेसनलाई भक्तपुरजस्तै ऐतिहासिक सहरको रूपमा विकास गरेर पाल्पालाई लुम्बिनीसँग जोडेर लुम्बिनी आएका पर्यटकका लागि पाल्पालाई पर्यटकीय विश्रामस्थल बनाउने योजनाका साथ निर्वाचनमा होमिएको बताए ।

उनले पाल्पामा बुद्ध गार्डेनसहित नेपालको सबैभन्दा ठूलो बुद्धको मूर्ति राखेर पाल्पालाई हेर्ने र देख्ने खालको बनाउने बताउँदै पाल्पाको तानसेन र श्रीनगरलाई साँच्चिकै आन्तरिक र बाह्य पर्यटकलाई आर्कषित गर्ने गरी विकास गरेरै छाड्ने प्रतिबद्धता जनाए । नेता पाण्डेले गत भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनमा विदेशी शक्तिकेन्द्रहरूको घुसपैठ हुँदा संसद्, सर्वोच्च अदालतलगायत महत्वपूर्ण राज्यका उच्च निकायमा धावा बोलेर संविधान र गणतन्त्रमाथिको प्रहार भएको भन्दै अहिले देशको इतिहासमै संकटको मोडमा रहेकाले गणतन्त्रवादी शक्तिलाई मत दिन जनतालाई अपिल गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार