राजेन्द्रप्रसाद धिताल
देउडाको परिचयः
विभिन्न लोक गीतहरु मध्ये देउडा गीत सर्वाधिक लोकप्रिय मानिन्छ । नेपाली लोकगीतको फाँटमा बेग्लै र विशिष्ट स्थान ओगटेको देउडागीत जुम्ला जिल्लामा मात्र नभई पूरै कर्णाली अञ्चल तथा भेरी, सेती र महाकाली अञ्चलमा समेत लोकप्रिय रहेको छ । सबै ठाउँमा देउडाको संरचना र लय एउटै भए पनि यस गीतलाई विभिन्न ठाउँमा कतै देउडा, कतै द्यौडा त कतै ड्यौउडा नामले चिन्ने गरिन्छ । दैलेखमा यस गीतलाई न्याउले गीत पनि भनिन्छ । लोकगीत प्रेमी विभिन्न व्यक्तिहरुले यसको नामाकरणको सम्वन्धमा आ–आफ्ना मत राखेका छन् । अनुसन्धानकर्ता विजय चालिसेले देउडा शब्द संस्कृतको “देवदाय, देउदुरा हुँदै देउडा” भएको भन्ने भनाई राखेका छन् । लेखक देवकान्त पन्तले देउडा गीतलाई ड्यौउडा नाम दिएका छन् । जुम्लाका प्रशिद्ध लोकगायक महाशंकर देवकोटाले खेल्दा खुट्टा बाङ्गा गरेर चलाउने तथा देव्रे खुट्टा अगाडि बढाउने तथा देउडिएर खेल्दै गाइने भएकोले यस गीतको नाम देउडा गीत भएको हो भन्ने विचार राखेका छन् ।
लोक गायक तथा प्राज्ञ नन्दकृष्ण जोशीले देढी कदममा देब्रे खुट्टा चालिने खेल भएको हुनाले र एउटा गीतलाई गाउँदा देढ पटक गाईने तथा सोही अनुसार गोडाको ताल मिलाएर देउडिदै गाउनुपर्ने भएकोले यसलाई देउडा भनिएको हो भन्ने भनाई राखेका छन् । यस प्रकार विभिन्न व्यक्तित्वहरुले देउडाका सम्वन्धमा आ–आफ्ना मत राखेका छन् । तथापी यस सम्वन्धमा अझै गहन अध्ययन र खोज हुन आवश्यक देखिन्छ । देउडाको गीतको नामाकरण देउडिएर खेलिने भएको हुनु अथवा डेढ पटक दोहो¥याएर गाइने भएको हुनु भन्ने भनाई सान्दर्भिक देखिन्छ । यी गीत गाउँदा कतै गीत एक पङ्क्ति भनिसकेपछि पुनः त्यही पंक्तिको आधा भाग दोहो¥याएर डेढ पंक्ति पारिन्छ भने कतै एक पंक्तिको अगाडीको आधा भागलाई दुई पटक भनिसकेपछि मात्रै पछाडीको आधा पंक्तिलाई भनेर डेढपंक्ति पारिन्छ र गाइन्छ ।
जस्तै
लौडी बगाउँदैन, कर्णाली घुमाउटो प¥यो, लौडी बगाउँदैन
डुली अघाउँदैन, बैरागीका बाँजा मन, डुली अघाउँदैन ।
त्यस्तै
कहाँ जाँदो पानीय२ रात उँदै, दिन उँदै
नौला सुन खानीय२ देख्नु भइ, पैरनू भैनै ।
उपर्युक्त गीतमा पहिलो गीतमा आधा पंक्तिलाई पुनः अन्तिममा दोहो¥याएको छ, दोस्रो गीतमा गीतको अन्त्यानोप्राशीय पदांशलाई अघिल्तिर ल्याएर दुईपटक भनी प्रत्येक पंक्तिलाई डेढ पारिएको छ । देउडाको खेल पक्ष पनि रोचक छ । यो गीतात्मक खेल सामूहिक रुपमा खेलिन्छ । यसरी खेल्ने क्रममा एकले अर्कोलाई हातले समातेर खुट्टाको ताल मिलाई अन्दाजी डेढ पैतालाको नापमा खुट्टा अगाडी पछाडी चलाउने गरिन्छ। जुम्ली भाषिकाको अर्थमा डेढ पंक्ति पारेर गाईने र खेल्दा पनि डेढ पैतालाकै नापोमा पाइला चलाइने भएकोले डेढ शब्दकै सेरोफेरोमा डेउडा हँुदै देउडा हुनु सान्दर्भिक छ।
देउडा गीतको संरचना
सहज, स्वभाविक र स्वस्फुर्त रुपमा गाउँका अपठित नरनारीका जिब्राबाट धारा प्रवाह टप्कने जस्तो परिवेश देखिन्छ त्यस्तै सृजना गरेर अभिव्यक्त हुने देउडा गीतको संरचना कुनै शास्त्रीय नियममा बाँधिएर गरिएको हुँदैन । लोक कविका हृदयबाट यो सोतह सृजित हुन्छ र यसले झ्याउरे लयको रुप लिन्छ । अन्त्यानोप्रासयुक्त दुई पंक्तिको संयोगबाट एउटा गीतको संरचना भएको पाइन्छ । गीतमा रहेका दुई पंक्ति मध्ये कुनै गीतमा पहिलो पंक्ति मूल भावसंग सम्वन्धित भएको हुँदैन, गीतको लय र संरचना मिलाउनको लागी मात्र आएको हुन्छ, स्रष्टा वा गायकको खास भाव वा मूल मर्म दोस्रो पंक्तिले मात्र स्पष्ट गरेको हुन्छ ।
जस्तै
नदी लामा कणालीय, मैना लामा जेठ
मरीगया यति भैगौ, बाँच्या होला भेट
एउटा सहृदयीले विछोडको बेलामा जीवन यस्तै हो, मरेपछि सवै यत्तिकैमा रह्यो, बाँचेपछि भेटौला भन्ने भाव व्यक्त गरेको छ । जुन भाव दोस्रो पंक्तिबाट मात्र स्पष्ट भएको छ । पहिलो पंक्तिले दोस्रो पंक्तिको भावसँग कुनै सम्वन्ध राखेको छैन । यो पंक्ति निरपेक्ष रुपमा लय र संरचना मिलाउन मात्र आएको छ । तर सवै देउडा गीतमा यस्तै अवस्था हुन्छ भन्न सकिदैन । गायकका मूल भावलाई अझ स्पष्ट र प्रभावकारी बनाउन पहिलो पंक्तिको पनि भूमिका रहेको हुन्छ अर्थात पहिलो पंक्ति पनि सापेक्ष रुपमा आएको हुन्छ ।
जस्तै
कसैका ज्यूनारी वासी, कसैका पेट भोका
किन राख्यौ भगुमान, यस्तो लेखाजोखा ।
यहाँ गायकले समाजमा रहेको असमानतालाई स्पष्ट्याउन खोजेको छ । गायका भावनालाई स्पष्ट पार्न यहाँ दुवै पंक्तिको समान भूमिका छ । पहिलो पंक्तिमा कसैको स्वादिष्ट भोजन बासी रहेको छ त कसैका पेटहरु भोका छन् भनिएको छ र दोस्रो पंक्तिमा यस्तो विभेदकारी हिसावकिताव किन राखिएको भनेर भगवानसँग प्रश्न गरिएको छ । गायकको भावनालाई स्पष्ट गर्न यहाँ दुवै पंक्तिले समान रुपले काम गरेका छन् । आक्षरिक संरचनातर्फ हेर्दा देउडा गीतमा लोक सवाई छन्द झै एक पंक्तिमा चौध पन्ध्र अक्षरहरु रहेका हुन्छन्, कुनै योजना साधना र गम्भिर सोचविचार विना नै ग्राम्य अपठित नरनारीका आवाज हुनाले यित गीतको अक्षर संरचनामा अनियमितता हुन सक्छ, तैपनि लयात्मक उच्चारण गर्दा लयको संयोजनले नै प्रत्येक पंक्रिको निर्माण भएको हुन्छ । देउडा गीतको बर्णसंयोजन केही मात्रामा सवाई गीतसँग मिलेतापनि धेरै जसो ठाउँमा यसको संयोजन भिन्न प्रकृतिको हुन्छ । वर्ण संयोजनका गण व्यवस्था, विश्राम, उपविश्राम पनि देउडामा आफ्नै प्रकृतिका हुन्छन्। गीतमा देखिने वर्ण संंयोजन र गण व्यवस्थालाई नमुनाका रुपमा निम्नानुसार प्रस्तुत गरिएको छ ।
कैल्यै हात्ती लाल्झाडीमा कैल्यैहात्ती दाङ्मा ।
बादल् फाटी घाम् लागिजा बैरागीका आङ्मा ।।
यस गीतमा ४ं४ं४ं२ को गण व्यवस्था र यति मिलेको देखिन्छ ।
नफुल्यै कमल्का फूल बसन्तका वाग
सुुख्मेरा कर्ममै छैन दुःखमेरा भाग
यहाँ ३ं३ं२ं४ं२ को गण व्यवस्था र यति मिलेको छ ।
गाईधुन्या बाम्नको छोरो भैसलु धुँदैन
एकै सुर्जि घाम् ताप्ता छौ भेट्कैल्यै हुँदैन
यहाँ ४ं४ं३ं३ को गण व्यवस्था र यति मिलेको छ ।
वारकै देखिंदो घारी दैलेखको गढी
हे¥यार क्यैपनि छैन मायाभन्दा बढी
यहाँ ३ं३ं२ं४ं२ को गण व्यवस्था र यति मिलेको छ ।
यस प्रकार देउडा गीतमा लय संरचना खलवलिएको हुँदैन तर अक्षर संरचनामा भने पूर्ण नियमितता नभई फरक फरक संरचना लेख्न सकिन्छ । त्यसैले जुम्ला क्षेत्रका देउडा गीतमा लय विस्राम र गाउने तरिका आदी विविधता पाइन्छ ।
देउडा गीतको वर्गीकरण
देउडा गीतको खानी यहाँका नरनारीहरुले निकै पहिले देखी देउडा खेल्दै र गाउँदै आएका थिए । बालबालिका देखी बृद्धबृद्धासम्म सबैले सहजै गाउँदै आएका यी गीतहरुका लयमा समाजका विविध विषयवस्तुहरु समेटिएका छन् । प्रकृतिक छटा, सामाजिक जीवन, समसामयीक अवस्था र ऐतिहासिक घटनाहरुलाई समेट्दै भावुक लोककविका हृदयबाट गीतहरु सृजित भैरहन्छन् र वस्ती वस्तीमा गुन्जीरहन्छन् । यि गीतहरुको मूल संरचना एकै प्रकारको हुन्छ । तथापी लोककविहरुले एकल वा सामुहिक रुपमा गाउँदा विभिन्न लयको प्रयोग गरेका हुन्छन् । सामुहिक रुपमा गाउँदा, खेल्दै गाइन्छन् भने एकल रुपमा गाउँदा खेल्दे गाइँदैनन् । आत्मालापी यी गीतहरुले हृदयको भावना तथा विरह वेदनालाई छताछुल्ल पोखेका हुन्छन् । यहाँ गाइने देउडा गीतहरु विषयवस्तु, लयविधान र गाउने तरिकाका दृष्टिले फरक फरक प्रकृतिका छन् । तिनका प्रमुख प्रकारलाई निम्नानुसार वर्गीकरण गरिएको छ ।
१,विषयवस्तुको आधारमा
जुम्लामा देउडा गीतहरु परमपरादेखी नै गाइँदै र खेलिदै आएका छन् यहाँका मान्छेका हृदयका कथाव्यथा पोख्ने सशक्त माध्यम नै देउडा गीतहरु हुन । यहाँका सवैथरी मानिसहरुका लागि प्रिय रहेका देउडा गीतहरुले विभिन्न विषयवस्तुलाई समेटेका हुन्छन् । ती विषयवस्तुहरु मध्ये प्रमुख विषयवस्तुहरुलाई निम्न वमोजिम उल्लेख गरिएको छ ।
क, प्रकृतिसँग सम्वन्धित देउडा
प्राकृतिक दृष्टिले अत्यन्त मनोहर मानिने जुम्ला जिल्लामा प्रकृतिका विभिन्न पक्षमा केन्द्रित भई गीतहर सृजना गरिएका हुन्छन् । यी गीतहरुले प्रकृतिका विविध अवस्थालाई व्यक्त गरेका हुन्छन् । प्रकृति र मानव जीवनको अन्तरसम्वन्धलाई नजिकबाट नियालेका हुन्छन् । खोला नाला, डाँडापाखा छहरा आदीको वर्णन प्राकृतिक सौन्दर्य र विकटता जस्ता कुरा पनि लोककविका हृदयबाट प्रवाहित भएका हुन्छन् । यहाँ कतै प्रकृतिको मानवीकरण गरिएको हुन्छ त कतै मानवलाई प्रकृतिकरण गरिएको हुन्छ । जम्ली देउडा गीतहरुले आफ्ना शब्दहरुमा हिमाल, पहाड, खोला, छहरा र हिउँको भाषा बोलेका हुन्छन् ।
जस्तै
जेठी दिदी कर्णालीय कान्ठी दिदी हिमा ।
देश् विदेश जाँ डुल्या पनि भुल्न्या छैन पिमा ।।
पाटन छल्याका हुनान्, डाँफ्या र कस्तुरी ।
आउँदो हो गुरौंशी बास चल्या मन्द हुरी ।।
पाटनैका पल्ला कुना स्याल मा¥यो गुनाले ।
नुन चामलको सकाल छैन, सडक नहुनाले ।।
कर्णालीको चीसो पानी पिऊँ भन्या कति पिऊँ ।
नदिऊँ भन्या सान्या रुस्न्या दिऊँ त क्या गरी दिँऊ ।।
कर्णाल्पुदो बगि आयो गेडो भलायाको ।
चर्न आयाँ रानीवन छै क्या पलायाको ।।
ख, इतिहाससँग सम्वन्धित देउडा गीत
विसं १८४६ सालमा विशाल नेपालमा जुम्ला राज्यको विलय हुनुअघि जुम्ला एक वैभवशाली राज्य थियो । जुम्लाका अन्तिम राजा सुर्यभान शाहीका प्रधानमन्त्री शोभान शाहीका कृति, जुम्ला राज्य नेपालमा विलय हुँदाको केही हर्ष केही वेदनाका गीतहरु जुम्लाको लोक जीवनमा अझै जीवन्त छन् ।
जस्तै
भातु खाया शोभान साइले ताउली हाल्या कुम्ला ।
जिति आयो गोरख्याय हानी हाल्यो जम्ला ।।
गोख्र्या बढी आयो भनी साइ बाइगया भोट ।
नौला धजा हाल्न लाग्या चन्दनाथका कोट ।।
शोभान साइ भोटैमा म¥या सुनले पोलनान् ।
जुम्लामा बछेडो जन्म्यो हजार मोलनान् ।।
मेट्न सक्न्या को छ कठै भाविनीका लेखा ।
भोट म¥या शोभान शाही अगुल्टाका टेका ।।
जुम्ला झित्या गोर्खालीले कोइ भएन दङ्ग ।
तेरा लाग्दा शोभान साइय लामाथाडा भङ्ग ।।
ग, नारी वेदनासँग सम्वन्धित देउडा
देउडा गीतहरुले यहाँका नारीहरुका करुण देदनाहरुलाई पनि समेटेका छन् । जुम्ली नारीहरुले भोगेको अपमान तिरस्कार र यातनाका विलौनाहरु देउडा गीत मार्फत पोखिएका हुन्छन् । सामाजिक कुरीति, अशिक्षा, आर्थिक विपन्नता जस्ता विसङ्गतिले व्यथित बनेकी जुम्ली नारीहरुको हृदय पुरुषका मर्मभेदी कटुवचन र मैमत्तापनले झन विदीर्ण वन्दछ । यस्तै कटु यथार्थलाई जम्ली देउडा गीतहरुले भावपूर्ण ढङ्गले व्यक्त गरेका छन् ।
जस्तै
माइत मेरी आमा छैनन् घर सौत्या गाँदो ।
मकन काँइ पनि छैन मन बझाउन्या बाटो ।।
साउन आयो साउन पुनी आयो सबै लुगा धुनिन् ।
आमा हुन्या माइत जानिन् टोक्या छोरी रुनिन् ।।
तेल ताँइ छ काँगियो ताँइ छ कोर नन्दकेश
दाजुले सम्पत्ति खानु बैनी परदेश ।।
न छल्यै जल् खानु भएइ कर्णालीका छिटा ।
कि बाज साथलाई लैजा कि दैबाय टिठा ।।
मेग पानी नआउन्या भैगो गड्क सर्ग गड्क ।
सुनचाँदी नपैरी रौंला साइ प्रदेश् नलड्क ।।
भलखेत बाल्याका मुडा बेलखेत खरानी ।
घरबारौंको टाटी प¥यो विमौदो परानी ।।
भोट्याले जोईकन हान्यो बरात्या बाँकले
हात पुग्दैन टाँगी छैन क्या गरौं खाँकले ।।
घ, संस्कार र रीतिरिवाज सम्वन्धी देउडा गीत
हरेक समाजका आफ्नै मौलिक संस्कार रीतिरिवाज र चालचलन हुन्छन् । यी संस्कार रीतिरिवाज तथा चालचलनहरुलाई युगौदेखी बचाइ राख्ने र तिनलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित गर्ने कार्यमा लोकगीतको महत्वपूर्ण भूमिका रहेको हुन्छ । जुम्लाका विभिन्न लोकसंस्कारहरुलाई जम्ली लोक कविहरुले जुम्लाका डाँडा पाखाहरुमा देउडा गीत गाँउदै बचाइराखेका छन् । जातपात, धर्मकर्म देवीदेवता, नारीप्रतिको दृष्टि, अर्तिउपदेश, रुढीवादी भावना, सामाजिक मानमर्यादा जस्ता तमाम सामाजिक मान्यतालाई जुम्लाका लोकगायकहरु परिवेश अनुसार देउडाका माध्यमबाट अभिव्यक्त गर्दछन् । यस्ता केही गीतहरु निम्न अनुसार छन् ।
जस्तै
माघमास धर्मी मैना कोइ आउदैनन् पाउना ।
जाँ बज्या शङ्ख र घण्ट त्यति देउता आउना ।।
प्रथम जुम्ला हैन हिउँ पाइन्या धातु हैन ।
जैसी बाहुन हैन चिनाको भात हैन ।।
दोविट्या कम्पनी हैन जुँडे चील बाज हैन ।
सिं पुछरी ठाकुर हैन टाकेरे राज हैन ।।
तरबारका धारमा राख्नु बामनका जात ।
भोक लागी क्या गरु भनूँ खानु छैन भात ।।
ङ, जन–जीविकासँग सम्वन्धित देउडा गीत
देउडागीतले समाजमा विद्यमान आर्थिक अवस्था र यहाँका नरनारीका जन–जीविकाका कुराहरुलाई पनि मर्मस्पर्शी रुपमा चित्रण गरेका हुन्छन्। भौगोलिक विकटता, परम्परागत कृषि, सामाजिक शोषण, आर्थिक विसमता र अशिक्षा जस्ता कुराहरुले गर्दा जुम्ली समाज व्यापक गरिवीको चपेटामा परेको छ । रात दिन कठोर शारीरिक श्रम गर्दा पनि जनसाधारणलाई साँझ बिहानको हातमुख जोड्ने पिरलोले छोकेको हुँदैन । हिउँदभरी हिउँ पर्ने भएकोले यहाँ लोग्ने मानिसहरुले व्यापार वा अनय कुनै कामका लागि आफ्ना घरमा श्रीमती, छोराछोरीहरुलाई चटक्क छोडेर प्रदेशतिर हिड्नुपर्ने बाध्यता छ । यी सबै विकटता र विडम्वनालाई मार्मिक ढङ्गले जुम्ली गीतहरुले व्यक्त गरेका हुन्छन् ।
जस्तै
कान्याँ हिड्दै डुँड्या हिड्दै कात्तिक थाँ होला ।
मीठो गास कौंलो बास दुःखीलाई काँ होला ।।
औलेल साउ भैंसीका घिउले जुम्ली साउ नुन्याले
यै देश नजन्मनु रैछ भाग्या नहुन्याले ।।
कसैका कम्पनी माला कसैथी पोत्या नाँइ ।
कसैका मालमार्सी धान कसैथी कोद्या नाँइ ।।
जोवन बाङ्गो दिन ढल्किगो सबै हेप्ता हेर ।
भोको नाङ्गो देख्या पछि गाउल्या चेप्ता हेर ।।
च, प्रेम सम्वन्धी देउडा गीत
मानव हृदयमा धेरै भावनाहरु ओतप्रोत रहेको हुन्छन् । भावनाको संवेगमा तरङ्गिने प्राणी मानव हो । जीवनमा आउने सुख दुःख, मिलन–विछोड, प्रेम र प्रणयका भावना मानव हृदयमा नैसर्गिक रुपमा रहेका हुन्छन् । यस्ता भावनाले कहिले मनलाई उमङ्गमय बनाइदिएका हुन्छन् भने कहिले बेदनामय । मनमा उत्पन्न प्रणयसँग सम्वन्धित उमङ्ग र वेदनाका गीतधारालाई यहाँ प्रेम सम्वन्धी देउडा गीतको शीर्षकमा राखिएको छ । जुम्ला जिल्लामा प्रचलित देउडा गीतहरुमध्ये प्रेम सम्वन्धी देउडाको ठूलो महत्व छ । प्रेमी–प्रेमिकाका अन्तहृदयमा टुसाएका कोमल भावनालई यी गीतहरुले व्यक्त गरेका हुन्छन् । निर्जन एकान्त स्थलमा होस् या सामुहिक उत्सवस्थलमा होस् लोकगायकका मधुर कण्ठबाट प्रणय सम्वन्धी देउडा गीत गुञ्जिरहेका हुन्छन् । परम्परागत मान्यता, अशिक्षा, दमिन मनोभावना आदि कारणले जुम्ली समाजमा प्रम–प्रणय खुला रुपमा गर्न सक्ने र खुला प्रेम प्रस्ताव राख्ने स्थिति हुँदैन । यौवनले भरिपूर्ण भएका प्रेमी–प्रेमिका एक अर्कालाई प्राप्त गर्न व्यग्र र आतुर हुन्छन् तैपनि उनीहरुको हृदयमा त्यो भावना सलबलाइरहेको हुन्छ र मौका पाएपछि त्यो अन्तः हृदयको रागात्मक भावना गीतिमाध्यमबाट अभिव्यक्त हुन पुग्छ । यसरी गीतमा प्रीत व्यक्त गर्न उनीहरु आ–आफ्ना प्रेमी–प्रेमिकाका लागि प्रतीकात्मक शब्दको प्रयोग गर्दछन् । प्रेमीकाका लाग ‘बाज’ ‘साइ’ जस्ता शब्दहरु प्रयोग गरिएका हुन्छन् भने प्रेमिकाका लागि ‘सुवा’ ‘मैना’ जस्ता शब्द प्रयोग गरिउका हुन्छन् । प्रेम, मिलन, बिछोड, विवशताका भावनाहरु व्यक्र भएका यी प्रेम गीतहरु देउडा कहिले सवाल जवाफका रुपमा हुन्छ भने कहिले प्रेमी वा प्रेमिकाका एकल भावनाका रुपमा जुञ्जिएका हुन्छन् ।
जस्तै
केटाः फुल्लै रमै फूलबारीय आउला पुल्ती भेष ।
नटुटेइ पिरमका डोरा थाँ नभएइ देश ।।
केटी ःबाह्रै मैना फूल फुल्लो छ मेरा फूलबारी ।
ह्याँ नभ्या बाइजाउँला बजौ टाढै डाँडा पारी ।।
केटा ः कैले होला मनका जसो कैले जाला खाँक ।
एकै चुचा चारो खाउँला लाग परेवा साथ ।।
केटी ःबाज मेरा चन्द्र र सुर्जे म बाजकी अप्सरा ।
आजै मलाई उडाइ लैजा हिउँ चुलीका चरा ।।
स्वास्नी ःआउँदै रौंनु जाँदै रौंनु देवीका मन्दिर ।
जिन्दगी लाखको छोडी नभुल्नु धन्तिर ।।
लोग्ने ःखाँदै रयै लाउँदै रयै पैसा ल्याउँला भारु ।
मन राख्यै मन्दिर जसो जोवन राख्यै फारु ।।
छ, समसामयिक देउडा गीत
कुनै निश्चित समय र निश्चित परिवेशका परिघटनाहरुमा मात्र सीमित नरही समाज अनि राष्ट्रमा जस्तो परिवेश देखा प¥यो, त्यही परिवेशमा सिर्जना हुने गीतहरु समसामयिक देउडा भित्र पर्दछन् । गीतहरुले अनेकौं विषयवस्तुलाई समेटेका हुन्छन् । त्यसैले यी गीतलाई विविध गीत अन्तर्गत पनि राख्न सकिन्छ । यी देउडा गीतहरुका माध्यमबाट सामाजिक तथा राजनैतिक परिवर्तन, समाजमा देखापर्ने विकृति, विसङ्गति, शोषण, भ्रष्टाचार जस्ता कुराहरुको उजागर गर्नुका साथै राजनैतिक नेतृत्वका क्रियाकलापको व्यङ्ग्यपूर्ण आलोचना र प्रशंसा गरिएको हुन्छ ।
जस्तै ः
दुई हजार छयालीस सालमा प्रजातन्त्र आयो ।
जनतालाई रिनको भारी नेताको घर लाग्यो ।।
साल वित्यो समय वित्यो मैना फिरनान् कि ।
नेताले लायाका रिन जन्ता तिरनान् कि ।।
फल खाउँ कि फेदमा बसुँ सुन्तलाका बोट ।
विकास गर्नु क्यै पनि नाइ नेता माग्दा भोट ।।
राजधानीका जालसाँजीको कालो खेल खेलियो ।
अन्त जाँकाइ विकास भयो कर्णाली पेलियो ।।
उबो रह्यो मान सरोवर उँदो कालीकोट ।
कर्णालीमा विकास छैन मर्म लाग्छ चोट ।।
मानिहाल ठूला ठालौ इजेत र साज ।
अब दाब्या दब्न्या छैनन् जनताका आवाज ।।
२, लयका आधारमा वर्गीकरण
कुनै पनि लोकगीतको पहिचान नै त्यसमा रहेको ‘लय’ हो । गीत गाउँने क्रममा हुने विश्राम, उपविश्राम, स्वरको अल्पता, दीर्घता आदिले लयको निर्धारण गरेका हुन्छन् । देउडा लोकगीतको आफ्नै छुट्टै र विशिष्ट लय हुन्छ । त्यसलाई जुम्ली भाषिकामा ‘ताल’ भनिन्छ । देउडा गीत गाउँदा गीतको तालसँगै हात र खुट्टाको ‘ताल’ मिलाइन्छ । संरचनाको क्रममा आक्ष्रिक विसमता भए पनि देउडागीत दुई पदमा पूर्ण हुन्छन् । गीतहरु विभिन्न भाकामा गाइने हुन्छन् । गीत गाइने विभिन्न तरिकालाई नै ‘भाका’ भनिन्छ । कुनै दुई पदीय गीतहरुलाई छोटो प्रवाहमा गाइन्छ । यसरी गाइनुलाई ‘ठाडी भाका’ भनिन्छ । कुनै गीतहरुमा विभिन्न प्रकारका थेगोहरुको प्रयोग गरिएको हुन्छ । यी थेगाहरुले भाकालाई विशिष्ट बनाएका हुन्छन् र गीतको लयलाई लामो बनाएका हुन्छन् । यसरी लयात्मक रुपले जम्ली देउडालाई दुई भागमा विभाजन गरी हेर्न सकिन्छ ।
क, छोटो लयका देउडा गीत
कुनै पनि थेगोको प्रयोग नगरी गीतको जस्तो संरचना छ त्यस्तै रुपमा गाइने गीतहरुलाई छोटो लयका देउडा गीत अन्तर्गत राखिएको छ । छोटो, छरितो र मिठासयुक्त ढङ्गमा गाइने यी गीतहरुलाई ठाडीभाका गीत पनि भनिन्छ । जुम्ला जिल्लामा यस्ता गीतहरु प्रायः एकल रुपमा बनपाखा, खोला छहराहरुमा गुञ्जिएका हुन्छन् । कहिलेकाँही समूहगत रुपमा हुने सवाल जवाफमा पनि यी गीतहरु गाँसिन्छन् । यी गीतहरु लोककविका हृदयबाट शीघ्रातिशीघ्र विस्तृत हुन्छन् र यिनको लय प्रायः गीति लोककाव्यसँग मिल्न पुग्छ ।
जस्तै ः
जुम्लाकी रौतेली रोइन् कठै धराधरी ।
हुलाक नरोइएई जाएइ चिठी सरासरी ।।
छोरा छोरी नहुँदा हुन् काँइतिर जाना हुँ ।
लाग्ना हौ जागीका साथ भीक मागी खानु हुँ ।।
बर काट्याँ पिपल काट्याँ आउदैन चोवन ।
दिनदिन बारबार जान्या यै जोवन ।।
रामसाथै लक्ष्मण साथै सीता पनि साथै ।
सुखीकन दिन ब्याउन्या हो दुःखीकन रातै ।।
सुन बग्दो जम्लाका धारा चाँदी बग्दो रारा ।
हिउद्बर्खे पिठ्युदो भारी क्या दि दैव भारा ।।
ख, लामो लयका देउडा गीत
देउडा गीतहरु मध्ये ‘थेगो’ को प्रयोग गरी लामो दय बनाउने गीतहरुलाई यस बर्गमा राखिएको छ । मूल गीतको आगाडि पछाडि वा बीचमा कुनै न कुनै थेगोको प्रयोग गरी गीतको लयलार्य लामो बनाइन्छ र स्वास पनि लामो प्रवाहमा लिइने हुन्छ । यस्ता गीतहरु समूहगत र एकल दुवै रुपमा गाइएका हुन्छन् । थेगोको प्रयोगले गर्दा एकातिर गायनमा नवीनता आउँछ भने अर्कातिर गीतहरुको लय पनि कर्णप्रिय र श्रुतिमधुर बनेको हुन्छ।
जस्तै ः
अ सिंजाउँदो नराकोट – नलाईदेऊ मर्म चोट
कर्णाली कर्णालीतिर सिजाउँदो नरोकोट भेरी भेरीतिर नलाइदेऊ मर्मचोट ।
म एक्लो डाँडाको मृग सिंजाउँदो नराकोट क्वैनाइ भेरीतिर नलाइदेऊ मर्मचोट ।।
आ छमक्क छमक्क रातपडिगो झमक्क
छमक्क छमक्क सजहिड्दो करनाली छमक्क छमक्क
छमक्क छमक्क फाल हाल्लो छ भेरी रात पडिगो झमक्क ।
छमक्क छमक्क खुटुक्क बाडुली लाउँला छमक्क छमक्क
छमक्क छमक्क दिनका नौ फेरी रात पडिगो झमक्क ।
इ, चिर प दाउरा बाल प आगो
गलबन्दीमा रातो धागो ।
कर्णालीय छाल न हाल्यै चिर प दाउरा बाल प आगो
भेरीकन फटा गलबन्दीमा रातो धागो ।
घरबारीय घर नजा चिर प दाउरा बाल प आगो
दुःखीका दिन कटा गलबन्दीमा रातो धागो ।
गायनका आधारमा देउडा गीतको बर्गिकरण
देउडा गीतहरु जसरी विषयवस्तु र लयका दृष्टिले पृथक पृथक प्रकृतिका छन्, त्यसैगरी गाउने तरिकाका दृष्टिले पनि फरक फरक छन् । विभिन्न परिवेशमा अनेकौ विषयवस्तलाई समेटेर गाइने यी गीतहरु मध्ये कुनै गीतले ब्यक्तिका व्यक्तिगत मनोभावको अभिव्यक्ति दिएका हुन्छन् भने कुनै गीतहरुले समग्र समाज, प्रकृति र देश, काल परिस्थितिको चित्रण गरेका हुन्छन् । सामाजिक रीतिरिवाज, चालचलन, भेषभूषा, प्रणय बन्धन, उमङ्ग, आर्थिक विवशता, वियोगका वेदना आदि विषयवस्तुलाई आत्मसात गर्दै सिर्जित गरिएका र जुम्ली समाजमा गुञ्जिदै आइरहेका देउडा गीतहरु समाजका सबै उमेर समूह र वर्गका व्यक्तिहरुका लागि एकसमान हुँदैनन् । प्रणय बन्धनमा बाँधिएका युगल जोडीका गायनमा आत्मालाप, प्रेम, विरह र रतिरागको भाजना हुन्छ । एक्लो प्रेमी गायक भए ऊ आफ्ना प्रेमका उच्छवासहरु एकलासमा पोख्छ । त्यस्तै कुनै जात्रा, मेला, पर्व जस्ता सामुहिक उमङ्गका अवसरमा गाइने गीतको प्रकृति अलग हुन्छ । तसर्थ गायनका दृष्टिले गीतहरुको प्रकृति अलग अगल हुने भएकाले यस आधारमा जुम्ली देउडा गीतहरुलाई दुई भागमा विभाजन गर्न सकिन्छ ।
एकल देउडा गीत
एउटा व्यक्तिले मात्र एकान्तमा आफ्ना अन्तरहृदयका भावावेगहरुलाई देउडा गीतका माध्यमबाट अभिव्यक्त गर्दै गाउँने तरिकालाई एकल गायन भनिन्छ । जुम्ला जिल्लामा यी एक एकल गायनका देउडागीहरु लोकप्रिय छन् । बालकदेखी बृद्धसम्म सबैले आफ्ना मनोरागलाई गीतका माध्यमबाट डाँडा, पाखा, खोला, छहरा, घट्टदेखि प्रेमप्रणयका एकान्त स्थलसम्म पोखेका हुन्छन् । यी गीतहरुमा सामाजिक सांस्कृतिक झलकभन्दा बढी व्यक्ति जीवनका अनेकपक्षहरु उब्जाएका मनोभावहरुको मर्मस्पर्शी अभिव्यक्ति पाइन्छ ।
जस्तै ः
मदेश रमाइलो हुँदो तोरी फुलनान् र
भोट मदेश मुखैथी आउँदो सुर्ता चलनान् र ।
आँट छैन कर्णाली थुनन सर्ग तारा गन्न
लहरी उल्ल्याकी बेला कैथी जानु भन्न ।
दुखारीलाई दुःखै दिन्या भगुमानका खेल
मेरीलाई त भैगो बाजौ मेरै जीवन नेल ।
युवा ःकैले फूल पूmल फुललाई कैले मह खाउँला
कैले फूल रस भरिन्छै कैले माथ लाउँला ।
युवती ःधीर ग¥या खिर खान मिल्छ धिर खा मन धिर खा
मलाई ब¥या लाग्दैन हो क्या पानी खान्या तिर्खा ।
सामुहिक गायनका देउडा गीत
धेरै मानिसहरुको समूहमा मिलेर देउडा खेल खेल्दै गीत गाउने तरिका नै सामुहिक गायन हो र यही सामुहिका गायनमा गाइने गीतहरु नै सामुहिक गायनका देउडा गीतहरु हुन् । विभिन्न किसिमका चाडपर्व, मेला, उत्सव जस्ता सामुहिक समारोहमा उपस्थित भएका नरनारीहरुमध्ये उत्सुक व्यक्तिहरु दुई समूहमा विभाजित भएर एक अर्काको हात समाउँदै, कम्मर मर्काउँदै, पाइलामा पाइला र स्वरमा स्वर मिलाएर यी सामुहिक गीतहरु गाइन्छन् । दुवै समुहमा विभक्त यी खेलाडीहरुमा सबै चाहिँ सिपालु हुँदैनन् । प्रत्येक समुहमा एकएकजना गायनमा दक्षता राख्ने व्यक्ति हुन्छन् । उनले गीतको उठान गर्छन र अरुहरुले साथ दिन्छन् । एक समुहका तर्फबाट एउटा गीत भनिसकेपछि अर्को समूहले त्यसको जवाफ फर्काउँछ ।
जस्तै ः
समुह क ः गाउँ खाइहाल्या देश खाइहाल्या यी दुःख काँ हालु
काँ जाँदा छन् क्या गद्दा छन् तुम्मा गाउँका ठालु ।
समुह ख ः चैत बैशाख ताता दिन लामा छोटा उस्तै
दाल्द दुःखी रोयाकै छन् ठालु मोटा उस्तै ।
निस्कर्ष
नेपालका विभिन्न भाषाभाषी, जातजातिका आ–आफ्ना वस्तीहरुमा गाइने विभिन्न लोकगीहरुझै लोक साहित्यका अनेक विधाहरुले सजिएको जुम्ला जिल्लामा अनेक प्रकारका लोकगीहरु मध्ये देउडा गीतहरु अत्यन्त महत्वपूर्ण लोकगीत गायिन्छन् । प्राचिन काल देखिनै पुर्खाहरुद्धारा आफ्ना मनका अनेकौं तीतामीठा अनुभूतिहरु सामाजिक जीवन, प्रकृति, संस्कार आदि जस्ता तमाम पक्षको अङ्कन गरेर जीवित राखिएका देउडा गीतहरु समाजका अमूल्य सम्पत्तिका रुपमा रहेका छन् । विभिन्न सामुहिक उत्सवहरु, चाडपर्वहरु, मेलापात, बनजङ्गल आदिमा सधैं सधैं गुञ्जिदै आइरहेका यी गीतहरु श्रुतिपरम्परामा जीवित रहेका छन् । उत्सव समारोह मनाउँदा होस् वा घाँसदाउरा गर्दा होस्, यहाँका नरनारीका मधुरकण्ठबाट देउडा गीतहरु गुञ्जिरहेका हुन्छन् । पुस्तौ पुस्तादेखि मानवीय जीवनका उमङ्ग, वेदना, प्रेम, वियोग, हाँसो, आँसुका साथसाथै सामाजिक जीवनका विभिन्न अवस्थाहरु, रीतिरिवाज, चालचलन, संस्कृति, संस्कार, प्राकृतिक वातावरणलाई समेट्दै गाइने यी देउडा गीतहरु जुम्ली लोक जनजीवनका सुखदुःखका साथीका रुपमा रहेका छन् । यहाँका नरनारीहरुका भावावेगहरुलाई मधुर गीतिलयात्मक रुपमा अभिव्यक्त गर्ने सशक्त माध्यम समेत देउडा गीतहरु नै रहेका छन् । जुम्ली समाजले मान्दै आएका र यहाँ चलनचल्तीमा रहेका मौलिक संस्कारहरु चाहे पौष १५ को राति होस् वा श्रावणपूर्णिमाको दिन, विवाह व्रतवन्धको उत्सव होस् वा बालकको जन्मोत्सव मष्टा भवानीको धाममा पूजा गर्दा होस् वा त्यस्तै अवसरहरु जहाँ र जहिलेसुकै समाजका बालबालिकादेखि युवायुवती र बुढाबुढीसम्म सबै एक आपसमा हाँस्दै खेल्दै रमाउदै देउडागीतसँग एकाकार भएर पूर्ण मनोरञ्जन प्राप्त गर्दछन् ।
समाजमा बालदेखि बृद्धसम्म सवैले आआफ्ना जीवनपथका तीतामीठा अनुभूतिहरु, दुःखसुख, आँसुहाँसो, प्रेमवियोग, उमङ्ग बेदना, विरह उल्लासहरुलाई गीतिमाध्यमका रुपमा पोख्ने यी देउडा गीतहरु के खेताला, के गोठालो, के लेकवेशी गरिरहेका भारी बोक्ने भरियाहरु र हाटबजारबाट फर्कने हटारुहरु सवैका लागि उत्तिकै प्रिय रहेका छन् । गाउँले किसानहरुले बनजंगल, खेतबारी, खोलानाला जस्ता दैनिक कार्यस्थलमा मात्र होइन अशक्त बुढाबुढीहरु घरका झ्यालमा बसेर पनि गुनगुनाइरहेका हुन्छन् । बालबालिकाहरुले पनि गोठाला जाँदा होस् वा गाउँघर तथा विद्यालयहरुमा गरिने सांस्कृतिक कार्यक्रममा होस् देउडा गीतलाई नै महत्व दिएका हुन्छन् । प्रेमी प्रेमिकाहरुका मनोभावहरुको साटासाट गर्ने महत्वपूर्ण माध्यम पनि देउडा गीत नै रहेका हुन्छन् । परापूर्व कालदेखि नै समाजमा प्रचलित रहेका र यहाँका खोला नाला, वनजङ्गल चौतारी, सार्वजनिक चाडपर्व मनाइने स्थल वा अन्य भूभागमा जतातै गाइदै आएका देउडा गीत जुम्ली सभ्यता, संस्कृति र संस्कारका अभिन्न अङ्ग हुन् । युगौदेखि यहाँको संस्कार, संस्कृति, परिवेश र प्रकृतिलाई अङ्कित गर्दै खुसीको बेलामा उल्लास जगाउने दुःखको बेलामा वेदनाको आँसुसँगै रुवाउने यी देउडा गीतहरु विकट जुम्लाका सर्वसाधारण जनताका जीवन साथी हुन् ।









प्रतिक्रिया दिनुहोस्