निर्वाचनका लागि १९ अर्ब २१ करोड निकासा



काठमाडौँ – अर्थ मन्त्रालयले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि अहिलेसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालनका लागि उक्त रकम निकासा गरिएको हो । निर्वाचन आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय तथा अन्तर्गतका सुरक्षा निकायका लागि अहिलेसम्म १९ अर्ब २१ करोड रुपैयाँ बजेट निकासा गरिएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रवक्ता पाण्डेयका अनुसार १९ अर्ब २१ करोड रुपैयाँमध्ये गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड रुपैयाँ निकासा भएको छ । त्यस्तै, रक्षा मन्त्रालयका लागि १ अर्ब ९९ करोड र निर्वाचन आयोगका लागि ६ अर्ब ७२ करोड रुपैयाँ निकासा भइसकेको छ ।

आगामी निर्वाचनका लागि निर्वाचन आयोगले करिब २७ अर्ब रुपैयाँ खर्च हुने अनुमान सहित अर्थ मन्त्रालयका प्रस्ताव पेस गरेको थियो । सरकारले भने निर्वाचनका लागि २५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरी त्यही अनुसार स्रोत सुनिश्चितता गरिरहेको प्रवक्ता पाण्डेयले बताए ।

फागुन २१ को निर्वाचनमा करिब २५ अर्ब खर्च हुने अनुमान सरकारको छ । मन्त्रालयले उक्त अनुमान अनुसार स्रोत सुनिश्चितता गरिरहेको छ । त्यसमध्ये हालसम्म अर्थ मन्त्रालयले सवा १९ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।

गृह र रक्षा मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीका लागि आवश्यक पर्ने खर्चको अनुमान गरेर अर्थमा प्रस्ताव पठाएका थिए । दुवै मन्त्रालयले निर्वाचन सुरक्षाका लागि करिब साढे २० अर्ब रुपैयाँको स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका थिए । उक्त प्रस्ताव अनुसार बजेट क्रमिक रूपमा निकासा गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार