मनबहादुर वि.क.
साहित्यको आख्यानात्मक विधा कथा हो । संस्कृतको कथ् धातुमा आ प्रत्यय लागेर बनेको कथा शब्दले कथ्नु वा कहनु भन्ने अर्थ दिन्छ । विशेषगरी यसले मानवजीवनका भोगाइ, व्यवाहार, रीतिरिवाज, संस्कार र संस्कृतिलाई विम्वात्मक प्रस्तुति दिन्छ । समाजमा देखिएका कुरीति, कुसंस्कार, अन्याय, अत्याचार आदिको अन्त्य गरि लोककल्याणकारी भूमिका निर्वाह गर्नु हरेक सचेत नागरिकको कर्तव्य हो । अझ भनौँ कि साहित्यको माध्यमबाट समाजमा चेतनाको सुगन्ध फैलाउन सबै साहित्य स्रष्टा, सर्जकको कर्तव्य पनि हो । साहित्य आफैमा समाजको दर्पण हो । कथा विधाले त झन् पाठक वर्गमा समाज, संस्कृतिको विचार, विमर्श कथिरहेको हुन्छ ।
कथा विधालाई थप स्पष्ट चिनाउन केही विद्वानका विचार राख्न उचित लाग्यो ः
निश्चित परिणामको बिन्दुसम्म पु¥याउने घटनाहरूको तारतम्यलाई कथा भनिन्छ । – ई. एम. फोस्टर (अक्सफोर्ड इङ्गलिस डिक्सनरी, भोलुम १७) एकै बसाइमा पढेर सकिने, सानो तर पूर्ण र पाठकलाई प्रभाव पार्ने तथा यही विशिष्ट प्रभावका लागि विभिन्न उपकरणको प्रयोग गरि लेखिने आख्यानात्मक रचनालाई कथा भनिन्छ । – एडगर एलेन पो (द ग्रेस्ट फर लिटरेचर पुस्तक) एकै बसाइमा सजिलोसँग पढेर सकिने आख्यान नै कथा हो । यसमा एउटामात्र मूलभाव रहन्छ र त्यसलाई तार्किक निष्कर्षमा पु¥याइएको हुन्छ । – विलियम हेनरी हड्सन (परिभाषाको स्रोत ः ऐच्छिक नेपाली कक्षा १२, डा. केशव भुसाल र अन्य) समग्रमा, कथाले समाजका घटना, परिघटना, सांस्कृतिक, प्राकृतिक, धार्मिक, पुरातात्त्विक, ऐतिहासिक आदि विषयवस्तुको उठान गर्छ । मानवजीवनका उतारचढावहरुलाई बेलिबिस्तार लगाउँदै पाठकवर्गमा सहजताका साथ उपस्थिति गराउने एक रोचक, घोचक एवम् सहज, सरल विधा हो । कल्पना पौडेल जिज्ञासुद्वारा लेखिएको कचहरी भित्रका कथाहरूमा समाजका वास्तविक अनुहारलाई विम्बात्मक प्रस्तुति गरिएको छ । कथामा उनिएका पात्रहरू समाजमा यत्रतत्र छरिएका छन् । कोही अरुलाई दबाउन सकियो, कजाउन सकियो अर्थात् रुवाउन सकियो भनेर आफ्नो छाती फराकिलो बनाउँदै अहमताको हाँसो हाँसिरहेका छन् त कोही अरुको दास भइयो, समाजाबाट तिरस्कृत भइयो अर्थात् शोसित भइयो भनेर पिंजडाको रोदनमा छट्पटाइरहेका छन् । शोषक र शोषित, बिजेता र पराजित, अग्ला र होचा, रोमान्चक र तिरस्कार, नूतन र पुरातन आदिबिचको टकराव, युद्ध सजिलै देख्न र बुझ्न सकिन्छ ।
समाज जति शिक्षित र परिष्कृत हुँदै गएको छ, त्यति नै स्वार्थ र अभिमानले पनि जकडिएको छ । जुन कुरा कथाकारले कचहरी भित्रको पहिलो कथा बकसपत्रमा छताछुल्ल पारेर विम्ब प्रस्तुत गरेकी छन् । पहाडबाट छोराछोरीको लागि मीठो सपना बोक्दै तराई झरेर सङ्घर्षका पाइला उकालो चढाएका श्रीप्रसादजस्ताको कथाले सबैको मन भावविह्वल बनाउँछ । आफू र श्रीमती बिरामी हुँदासमेत आफ्नो उपचार नगरेर छोराछोरीको भविष्यमा जीवन समाहित गर्ने बाआमालाई अन्त्यमा सन्तानले नै घर निकाला गर्ने पछिल्लो पुस्ताको व्यवाहारलाई जीवन्त चित्रण गरिएको छ । बाआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामुढामाथि भन्ने चरितार्थ कथाले बोकेको छ । सन्तानको लागि आफ्नो जीवन समर्पण गरेका बाआमा अन्त्यमा एक्लै अर्थात् वृद्धाश्रम जानुपर्ने बाध्यात्मक परिस्थितिलाई कथामा व्यङ्ग्य प्रहार गरिएको छ । समयको प्रहरसँगै देशविकासले पनि निकास पाउनुपर्छ । विकासमा जोडिएका विषयवस्तु गाँस, बास, कपाससँगै शिक्षा, स्वास्थ्य, रोजगारजस्ता अत्यावश्यक मानव हकअधिकार सबै नागरिकले प्राप्त गर्नु उसको नैसर्गिक अधिकार हो । तर, यी सबै नारा आसन र भाषणमा मात्रै सीमित भए । जति परिवर्तनको विगुल फुके पनि श्रमजीवी, निमुखा वर्गले कहिल्यै त्यसको छत्रछायामा ओत लाग्न पाएन । कति परिवारले सुखको गाँस निल्न पाएको छैन । एकसरो पहिरनले शरीर सजाउन पाएको छैन । लालाबालाले शिक्षाको घाम ताप्न पाएको छैन । रोग, भोक, शोकले विरक्तिएको छ, त्यही परिवार र समाजको कथा मनकुमारी, कचहरी जस्ता कथामा जीवित छन् ।
घरको आर्थिक अवस्थालगायत परिवार पालनपोषणमा हाम्रोजस्तो समाजमा प्रायः पुरुषकै हात रहन्छ । त्यो परिवार अनि समाजमा त्यही पुरुष अशक्त, अपाङ्गता हुँदा त्यो घरको अवस्था कस्तो दर्दनाक हुन्छ ? अपाङ्गता श्रीमानलाई बचाउन अनि घरको बागडोर सम्हाल्न एउटी श्रीमती गरेको जीवनसङ्घर्षको कथाले जो कोहीको मन पनि हृदयस्खलित हुन्छ । घरको बर्बर अवस्थालाई सुधार्न काखको दुधे बालकलाई छोडेर वैदेशिक रोजगारमा जाँदा चरम यौनशोषणमा परी नारकीय जीवन व्यथित गर्न बाध्यात्मक परिस्थितिको बिम्ब कथामा उतारिएका छन् । शोषण, दमन, अन्याय, अत्याचारले सीमा नाघिसकेको छ । जतिसुकै कानुनी धारा ल्याए पनि त्यसको उचित कार्यन्वयन नहुँदा समाज धरापमा परेको छ । कानुनका सैद्धान्तिक र व्यावहारिक पक्षले फरकफरक बाटो लिएको स्पष्ट देख्न सकिन्छ । यदि न्यायिक पक्ष बलियो हुँदो हो त लाखौँ निमुखा प्राणीले न्यायको उज्यालो राप प्राप्त गर्ने थिए । हजारौं चेलीबेटी बेचबिखनमा पर्ने थिएनन् । समाजमा अझै अशिक्षा, अन्धविश्वासको जालोभन्दा बाहिर आउन सकेको छैन । अबोध बालिकालाई ललाइफकाइ गरेर बम्बइको कोठीमा पु¥याएर अचुक कालो धन थुपार्ने दलालको कमि छैन । यस्तै अथाह पीडा र जर्जरताको कथा कचहरी भित्र उकुसमुकुस छरिएका छन् । सुन्दर भविष्यको परिकल्पना गर्न नपाउँदै ओइलिएका फूलहरुको भविष्यप्रति राज्य सचेत हुनुपर्नेमा कथाकारको दरो अनि खरो सुझाव रहेको छ ।
छोराछोरी दुबै बराबरी भन्ने त हाम्रो ओठमा झुण्डिएको नारा मात्रै हो । कति नाराहरु नारामै सीमित हुन्छन् । यस्ता विषयहरु व्यवाहरमा देखिनु भनेको केवल अपवाद मात्रै हो । होइन भने हाम्रो पितृसत्तात्मक मानसिकताले लैङ्गिक विभेदको अपराध नगरेको सायद बिरलै होला । छोरा र छोरीबिचको विभेदले एउटा ठूलो खाडल सिर्जना गरिएको छ । वंश धान्ने आसमा दर्जनौं छोरी जन्मनुपर्छ । कति छोरीहरु गर्भमै तुहिनुपर्छ । कति छोरीहरू जन्मेर पनि मरेतुल्य हुनुपर्छ । छोरालाई काखा र छोरीलाई पाखा लगाउने हाम्रो रुढिग्रस्त सोचको अझै अन्त्य हुन नसकेको प्रति कथाकार चिन्तित छन् । श्रीमतीको मृत्यु हुँदा श्रीमानले बाजागाजासहित नयाँ दुलही भित्र्याउने तर श्रीमानको मृत्युमा श्रीमतीले ठूलो कष्ट व्यहोर्नुपर्ने, पोइ टोकुवाको आरोप झेल्नुपर्ने । घरपरिवार, छरछिमेक, आफन्तजनको सिकार हुनुपर्ने पीडादायी अवस्थाको कथाका पात्रहरूले प्रदर्शन गरेका छन् । समाजमा सबै एकै किसिमका मानिस हुँदैनन् । कसैले राक्षसी रूप धारण गरेको हुन्छ भने कोही देवताको रूपमा उभिएर अन्याय, अत्याचारको जरो उखेल्न लागिपरेका हुन्छन् । त्यसको ज्वलन्त उदाहरण पुनर्निविवाह कथाकी पात्र भवानी हुन् । जसले कुसंस्कारी समाजलाई ठाडो चुनौती दिएकी छन् । विवाह गरेको चार महिनामै बीस वर्षको उमेर नपुग्दै विधवा बनेकी तराईकि राधालाई पोइ टोकुवा र अलच्छिनाको संज्ञा दिइएको थियो । सर्वहारा वर्गका लागि लड्ने राधाको श्रीमानलाई शोषक, सामन्ती जमिनदारहरुले हत्या गरिदिएका थिए । अज्ञात अवस्थामै राखिएको हत्याको जिम्मा कसैले लिदैन । राधाले न त न्याय पाउँछिन्, न त सहजसँग जीवन जिउन नै ।
पाउँछिन् त केवल दुख, दर्द, पीडा, व्यावधान, अन्याय, अत्याचार । त्यही दुख देख्न नसकेर भवानीले आफ्नो छोरोसँग राधाको विवाह गराइदिन्छिन् । जात, धर्म, संस्कार, रीतिरिवाज, चालचलन वेशभूषा फरकफरक भएतापनि विधवा नारीलाई बुहारी स्वीकारेर नारीको उत्थान गर्नु यो समाजमा सानो चुनौती पक्कै होइन । कथाकारले समाजको यो उदाहरणीय कार्यलाई कथामा उन्न सक्नु निकै सबल पक्ष हो । कथाकार कल्पना पौडेल जिज्ञासुका हरेक कथाले समाजको बिम्ब प्रस्तुत गरेको देखिन्छ । रामजी शीर्षकको कथामा समाजको यथार्थ प्रस्तुति छ । जुन घटना, परिघटना समाजमा अहिले पनि व्याप्त छ । जसरी रामजीको आमा सिकिस्त बिरामी हुँदा उपचार गर्नुको सट्टा उनका बुबाले सौतेनी आमा भित्र्याएर श्रीमतीप्रति घोर अन्याय गरे । मामाले आफ्नो घर लिएर आमाको उपचार गरेर नयाँ जीवन दिए । आमा सन्चो भएतापनि सौता हालेका श्रीमानले रामजीको आमालाई निरन्तर तिरस्कार गरिरहे । यस्ता पात्र हाम्रो समाजमा यत्रतत्र भेट्न सकिन्छ । कहिले घर कहिले माइत गर्ने रामजीको आमाले पुनः कान्छो छोराको जन्म दिन्छिन् । सौतेनी भाइको हेरचाह र आफ्नो भाइको हेरचाहले गर्दा रामजीले चाहना हुँदाहुँदै पनि पढ्नलेख्न पाउँदैनन् । आफू पढ्न नपाए पनि भाइको पढाइ पूरा गर्ने आमालाई खुसी राख्ने उद्देश्यले छुट्टै घर बनाएर सङ्घर्ष दिन सुरु गर्नु रामको उच्च कार्य हो । त्यति मात्र नभएर रामजीले भाइलाई पढाइलेखाइ ठूलो मान्छे बनाएर विदेश पठाउँछन् । शिक्षित भाइको विवाह ठुलै कुलघरानबाट गरिदिएर आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्छन् । भाइ कमाउने भएर अब परिवारमा शान्ति, अमनचयन ल्याउने रामजीको ठूलो सपना थियो । भाइलाई राजधानी पु¥याउन जाँदा रामजी गाडी दुर्घटनामा परेका थिए ।
त्यही चोटले उनी अपाङ्गता जीवन व्यथित गरिरहेका थिए । रामजीको श्रीमतीले लगातार छोरीको जन्म दिइन् । उता सहरमा भाइको छोरो जन्मिएको थियो । आमा पनि छोरो जन्माएकी कान्छी बुहारीको स्याहारसुसार गर्न सहर पसिन् । यता गाउँमा छोरी जन्माएकी जेठी बुहारीलाई घृणाको नजरले हेर्न थालिन् । भाइले कुनै आर्थिक सहयोग गरेनन् । रामजीको मन निरास हुन थाल्यो । भाइलाई त्यत्रो सहयोग गरेको, आमाको नारकीय जीवन पन्छ्याएको । उनले एकएक बिगत कोट्याउँदै जाँदा बिरक्तिएको भारी मनले जीवन गुजार्दै गए । सहरमा छोरीलाई पढाउन नसके पनि गाउँकै सरकारी विद्यालयमा छोरीहरुको शिक्षादीक्षा गराए । छोरी जेहेन्दार, लगनशील भएर पढ्दै अगाडि बढे । जसले गर्दा रामजीले छोरीलाई डाक्टरसम्म बनाए । उता आमालाई सहरमा कान्छा छोराबुहारीले दिनानुदिन तिरस्कार गर्न थाले । आमाको मन भारी हुन थाल्यो । डाक्टर छोरीले काम गर्ने अस्पतालमा अलपत्र परेकी आमालाई छोरीले नै आफ्नो गाउँमा ल्याएर परिवारसँग मिलन गराउन सक्नु, जीवनमा पीडाले छट्पटिएको रामजीलाई छोरी डाक्टर भएर खुसी दिनु, छोरी पनि समाज परिवर्तनका संवाहक हुन् भन्ने प्रमाणित गराउन सक्नु नै कथाकारको अब्बल खुबी हो । प्रमुख पात्र रामजीको कथाबाट सबै पाठकको मनलाई पगाल्न सक्नु नै सफल कथाको पर्याय हो ।
जीवन जिउन सहज छैन । हरेक मोडमा कठिनाइ अनि सङ्घर्षका पहाडहरु खडा छन् । जिज्ञासुका प्रत्येक कथाले यिनै सङ्घर्षका पहाड उचालिरहेका छन् । प्रस्तुत कथा सङ्ग्रह कचहरीमा १५ ओटा कथाहरु सजिएका छन् । बकसपत्र, मनकुमारी, कचहरी, प्रतिशोध, अठोट, प्रतिकार, जीवन आधार, अन्तर मनको संसार, पुनर्विवाह, मातृत्व, रामजी, रजनीको प्रेम, समाजलाई चुनौती, मृत्युको पर्खाइ र फातिमा । यी सबै कथाले प्रायः समाज बोलेका छन्, देश बोलेका छन्, । कतै आशा अनि कतै निराशाको शब्द गुन्जाएका छन् । कथाकार जिज्ञासुका हरेक कथाले मेरो मनलाई पटकपटक कहिले आकाशतर्फ उडाएका छन्, कहिले शमशान घाट पु¥याएका छन्, कहिले स्वर्गको यात्रा गराएका छन् त नर्कलोकको दृश्यावलोकन । हरेक कथाका पात्रहरुसँग सँगै दौडिएको छु । कुनै पात्रसँग रिस, डाहले क्रोधित छु त कुनै पात्रसँग आत्मीयताको कसीमा । जे होस् सबै प्रकृतिका कथाले पाठकमनलाई आकर्षित गर्छ नै । तर, यस कृति भित्रको अन्तर मनको संसार कथाकी प्रमुख पात्र प्रियाको दमित यौन कुण्ठाको पराकाष्ठा समाजको विकृति, विसङ्गतिको द्योतक हो । मानवमा अन्तर मन बाह्य मनको बेमेल हुँदा जीवनमा नीरसता पैदा हुन जान्छ । अवचेतन मनले जीवन सार्थक पार्दैन । यसमा कथाकार अझै सचेत भएर अगाडि बढ्नुपर्छ । समग्रमा कथा सङ्ग्रह कचहरीले चेतनाको आवाज बुलन्द गरेको छ । कथाकार कल्पना पौडेल जिज्ञासुका अन्य कृतिहरु अझै सशक्त हुँदै जाउन् । नेपाली साहित्यनक्षत्रमा जिज्ञासुज्यूको योगदान उच्च रहको छ, रहोस् शुभकामना ।









प्रतिक्रिया दिनुहोस्