सम्पादकीयः मनोनयनमा उल्लासमय सहभागिता



आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । माघ ६ गते प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि देशभरका उम्मेदवारहरूले उल्लासमय वातावरणमा सहभागी बनेर मनोनयन दर्ता गरेका छन् । यो एक महत्वपूर्ण दिन हो, जसले आगामी निर्वाचनको दिशा निर्धारण गर्नेछ । निर्वाचन आयोगले माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्य सम्पन्न गरेको छ । सहभागी उम्मेदवारहरूले तोकिएको कागजसहित मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवार तथा नागरिकलाई निर्वाचन आचारसंहिता पालनासहित निर्धारित स्थानबाटै मनोनयन दर्ता गर्न आह्वान गरेको थियो । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ, जसका लागि यो मनोनयन दर्ता एक महत्वपूर्ण कदम हो । अब उम्मेदवारहरूको सूची प्रकाशन भएपछि उजुरी दिने अवधि लगायतका विभिन्न प्रक्रिया निर्वाचन आयोगको रेखदेखमा हुनेछ, जसले निर्वाचनलाई शान्तिपूर्ण र पारदर्शी बनाउन प्रयास गर्नेछ । निर्वाचन आयोगका अनुसार १६५ प्रत्यक्षतर्फको सिटका लागि देशैभरबाट ३०८९ पुरुष, ३९६ महिला र एक अन्य गरी जम्मा ३४८६ जना इच्छुक उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबी विरोधमा उजुरी दिने कार्य पनि सम्पन्न गरेको छ । आज बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशित गर्नेछ । ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने, दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगको निर्वाचनसम्बन्धी कार्यतालिका रहेको छ । उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा जुन उत्साहपूर्ण सहभागिता देखियो, यसले देश पूर्णरूपमा निर्वाचनमा होमिएको देखाएको छ । यो सकारात्मक पक्ष हो । निर्वाचनको विकल्प अरु कुनै पनि उपाय हुन सक्दैन् । फरक परिवेश र फरक परिस्थितिमा सम्पन्न हुन लागको निर्वाचनले देशलाई निश्चित दिशातर्फ पक्कै पनि मोड्ने छ । अधिंकाश पार्टीका नेता तथा स्वतन्त्र व्यक्ति गरी हजारौँको सङ्ख्यामा उम्मेदवारी मनोनयन दर्ता हुनु निर्वाचनप्रतिको लगाव हो ।

केही अपवाद बाहेकका राजनीतिक दलहरूले उत्साहपूर्ण रूपमा निर्वाचनमा भाग लिनका लागि आआफ्ना दलका उम्मेदवारहरूलाई मनोनयन दर्ता गराउनु अत्यन्तै सराहनीय पक्ष हो । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी अधिकांश कार्यक्रमहरू सम्पन्न गर्दै यो चरणसम्म आइपुग्दा देश निर्वाचनमय हुँदै गएको देखिन्छ । अझै पनि केही चुनौतीहरू देखिन्छन् । निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउनका लागि विशेषत सरकार गम्भीर हुनु आवश्यक छ । सरकारले विशेषगरी सुरक्षासम्बन्धी योजनाहरू कार्यान्वयन गर्दा गम्भीर बन्न आवश्यक छ । प्रमुख चुनौती भनेकै जेलबाट भागेर निस्केका हजारौँ कैदी तथा जेनजी आन्दोलनका क्रममा लुटिएका सयौँको सङ्ख्यामा बाहिर रहेका हतियार हुन सक्छन् । यतिमात्रै नभएर निर्वाचन प्रक्रियामा भाग नलिएर निर्वाचन वहिष्कार गर्न लागेका केही राजनैतिक दल र अपराधिक समूहहरूसँग पनि सचेत भई सोहीअनुसार सुरक्षा व्यवस्था अवलम्बन गर्न जरुरी छ । आम नागरिकलाई सुरक्षित भई मतदानमा भाग लिने व्यवस्था मिलाउन आवश्यक छ । उम्मेदवारी मनोनयन दर्तामा जुन उल्लास देखियो, शान्तिपूर्ण देखियो यसले पनि निर्वाचन शान्तिपूर्ण रूपमा नै सम्पन्न हुन्छ भन्ने आशा जगाएको छ । यसअघिका अधिकांश निर्वाचनहरूमा उम्मेदवार मनोनयनका समयमा राजनीतिक दलबीच झैझगडा हुने तथा लडाइँ हुने गरेका घटनाहरू हुने गरेका देखिएका थिए । शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता कार्य सम्पन्न हुनु सकारात्मक पक्ष हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार