नेकपा एमालेले बाँके क्षेत्र नम्बर २ मा पूर्व मन्त्री तथा जनता समाजवादी पार्टीका नेता इश्तियाक राईलाई उम्मेदवार बनाउने भएको छ । एमालेले शनिबार बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्य ढकाल र बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट दलबहादुर सुनारलाई उम्मेदवार घोषणा गर्दा क्षेत्र नम्बर २ मा भने अध्यक्ष केपी शर्मा ओलीले टुंग्याउने बताएर होल्ड गरिएको थियो । आइतबार त्यसरी होल्ड गरिएका क्षेत्रमा उम्मेदवार टुंगो लगाउने क्रममा एमालेले राईलाई पनि उम्मेदवार बनाएको हो ।
एमालेको जिल्ला कमिटीले भने बाँके क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्षसमेत रहेका निरक गुरुङ, क्षेत्रीय समन्वय कमिटी सदस्य कृष्णप्रसाद श्रेष्ठ र लुम्बिनी प्रदेश सदस्य अक्षरी पोखरेलको नाम सिफारिस गरेको थियो । उनीहरुलाई पाखा लगाएर राईलाई टिकट दिएसँगै एमाले पार्टीभित्रका नेता कार्यकर्ताहरुको असन्तुष्टि व्यक्त भइरहेको छ ।
बाँके निर्वाचन क्षेत्र नम्बर २ नेपालगन्ज सहर भएको क्षेत्र हो । यस क्षेत्रमा डुडुवा गाउँपालिकासमेत पर्दछ । एमालेले अघिल्लो निर्वाचनमा यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा आफ्ना उम्मेदवार नउठाएर राप्रपाका डा. धवलशमशेरलाई समर्थन गरेको थियो । डा. राणा विजयी भएर प्रतिनिधिसभा सदस्यसमेत भए । यसपटक पूर्व मन्त्री तथा एमालेले यस क्षेत्रका लागि जनता समाजवादी पार्टीका महासचिव मो. इश्तियाक राईलाई पार्टीमा भित्र्याएर उनैलाई उम्मेदवार बनाउन लागेको चर्चा चलिरहेको छ । राई अहिले एमालेका नेताहरु र अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता भइरहेको छ ।
अघिल्लो निर्वाचनमा राई बाँके निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. राणासँग पराजित भएका थिए । राईले राणाभन्दा ६ हजार ५७ कम मत पाएका थिए । राणाले २९ हजार पाँच सय ७७ मत ल्याएका थिए भन राईले २३ हजार पाँच सय २० मत ल्याएका थिए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले चार हजार चार सय तीन मत प्राप्त गरेका थिए ।
राईले २०७४ को निर्वाचनमा भने २१ हजार पाँच सय ७५ मत प्राप्त गरेका थिए । त्यतिबेला तत्कालीन एमाले र माओवादीसहितको वाम गठबन्धनका उम्मेदवार थिए पशुपतिदयाल मिश्रलाई राईले पाँच हजार ६ सय २४ मतान्तरले पराजित गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्