सम्पादकीयः निर्वाचन आचारसंहितामा कडाइ आवश्यक



आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने उद्देश्यका साथ आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी छ । निर्वाचनलाई स्वच्छ, स्वस्थ, धाँधलीरहित, निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि आचारसंहिता महत्वपूर्ण मानिन्छ । निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्न र सम्बन्धित सरोकारवाला पक्षले आचारसंहिता पालना गर्न आवश्यक छ । निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी पक्षले गर्ने गतिविधि, राजनीतिक दल तथा सरोकारवाला निकायले खेल्ने भूमिका महत्वपूर्ण रहन्छ । निर्वाचन आचारसंहिता कार्यान्वयन नेपालको लोकतान्त्रिक प्रक्रियामा एक महत्वपूर्ण चरण हो । यो संहिता निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउनका लागि आवश्यक छ । आचारसंहिताले राजनीतिक दल, उम्मेदवार र सरकारी संयन्त्रका लागि मार्गदर्शन प्रदान गर्दछ, जसले गर्दा निर्वाचन प्रक्रियामा पारदर्शिता र विश्वास बढ्दछ । निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनका लागि बलियो संयन्त्र निर्माण गर्नुपर्ने हुन्छ । यसका लागि प्रविधिको प्रयोग, सामाजिक सञ्जालको नियमन र अनुगमन समितिको गठन जस्ता कदमहरू आवश्यक छन् । आचारसंहिताको प्रभावकारी कार्यान्वयनले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन मद्दत गर्दछ । आचारसंहिता कार्यान्वयनमा हुने चुनौतीहरूलाई सबै पक्ष मिलेर समाधान गर्न जरुरी छ ।

सरकारी संयन्त्रको सहयोग, राजनीतिक दलहरूको सहयोग र नागरिकहरूको जागरूकता जस्ता कारकहरूले आचारसंहिताको कार्यान्वयनलाई प्रभाव पार्छ । यसका लागि सबै पक्षको सहयोग र समन्वय आवश्यक छ । निर्वाचन आचारसंहिताका बारेमा सम्पूर्ण सरोकारवाला निकायबीच समन्वय तथा छलफल हुनु जरुरी छ । साथै नागरिकलाई समेत आचारसंहिताका बारेमा स्पष्ट बनाउन आवश्यक छ । विभिन्न सञ्चारमाध्यम तथा अन्य माध्यमको प्रयोग गरेर सर्वसाधारण नागरिकलाई निर्वाचन शिक्षा कार्यक्रमका साथै आचारसंहिता शिक्षाका बारेमा पनि सचेतना बनाउन जरुरी छ । निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगले प्रविधिको प्रयोग गरेर आचारसंहिताको उल्लंघनलाई पत्ता लगाउन र रोक्न सक्छ । जसले आचारसंहिताको उल्लंघन गर्दछ, उसलाई कानुनअनुसार कडा कारबाहीको दायरामा ल्याउन जरुरी छ । पछिल्लो समयमा सबैभन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सामाजिक सञ्जालको प्रयोग गरेर आचारसंहिताको उल्लंघन गर्ने तथा दुरुपयोग गर्ने हुन सक्छ । यसलाई रोक्न र नियमन गर्नका लागि विशेष विशेषज्ञको टोली बनाएर छानबिन गर्न आवश्यक छ । आचारसंहिताको कार्यान्वयनको अनुगमन गर्न अनुगमन समितिको गठन गर्न सकिन्छ । निर्वाचन आचारसंहिताको दुरुपयोग गर्ने उम्मेदवार, राजनीतिक दल, कर्मचारी लगायतलाई कानुनअनुसारको दण्डको भागीदार गराउन आवश्यक छ ।

निर्वाचन आचारसंहिता भनेको निर्वाचन प्रक्रियामा राजनीतिक दल, उम्मेदवार र सरकारी संयन्त्रले पालन गर्नुपर्ने नियम र मार्गदर्शन भएकाले यो संहिताले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउनका लागि आवश्यक छ । निर्वाचन प्रचारप्रसार, मतदान प्रक्रिया, निर्वाचन खर्च तथा सामाजिक सञ्जाल लगायतमा आचारसंहिताको पालना हुनुपर्छ । विशेषगरी सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा गम्भीर चुनौतीहरू देखिन्छन् । यसलाई प्रभावकारी नियन्त्रणका लागि सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्नका लागि विशेष संयन्त्र नै बनाउनुपर्ने आवश्यक देखिन्छ । आयोगले सम्पूर्ण संयन्त्रहरूलाई प्रभावकारी रूपमा प्रयोग गरि हुनसक्ने दुरुपयोगलाई रोक्न तथा नियन्त्रण गर्न सबै सरोकारवाला पक्षलाई समेटन् जरुरी छ । बढ्दो प्रविधिको प्रयोगले सकारात्मकताका साथै नकारात्मक पक्षलाई पनि बढी प्रभाव पारिरहेको छ । हरेक नागरिकको हातमा मोबाइल फोन हुने तथा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मबाट आउन सक्ने मिथ्या सूचनालाई तत्काल विश्वास गर्न सक्ने भएकाले यो चुनौतीलाई प्रमुख रूपमा समाधान गर्नका लागि गम्भीर हुन आवश्यक देखिन्छ । निर्वाचनसम्बन्धी सम्पूर्ण सरोकारवाला पक्षले आचारसंहिता पालना गर्न तथा कडाइका साथ कार्यान्वयन गरि मर्यादित रूपमा निर्वाचनलाई सफल बनाउन आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार