
नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशमा लागू भएको दूर चिकित्सा सेवा प्रभावकारी बन्दै गएको छ । दूर चिकित्सा सेवाको प्रभावकारीताको कारण कर्णालीमा एक वर्षको अवधिमा एक हजार ७२७ जनाले सेवा लिएका छन् । इन्टरनेट र डिजिटल उपकरणको प्रयोग गरी उनीहरुले दूर चिकित्सा सेवा लिएका हु्न् । बुधबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न दूर चिकित्सा (टेलिमेडिसिन) तथा विद्युतीय स्वास्थ्य सेवा (ई–हेल्थ)सम्बन्धी कार्यशालामार्फत दूर चिकित्सा सेवाबारे जानकारी गराइएको हो ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश र छायाँ नेपालद्वारा सुरु गरिएको नेपाल टेलिहेल्थ कनेक्ट परियोजनाअन्र्तगत कर्णालीका पाँच जिल्लामा दूर चिकित्सा सेवा प्रवाह भइरहेको छ । जसअन्तर्गत खत्याड गाउँपालिका मुगु, भेरी नगरपालिका जाजरकोट, शुभकालिका गाँउपालिका कालीकोट, खार्पुनाथ गाउँपालिका हुम्ला र त्रिपुराकोट गाउँपालिका डोल्पामा यो परियोजना लागू भएको हो । हाल यो परियोजना कर्णाली प्रदेशका दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवाको पहुँच सुधार गर्न केन्द्रित छ ।
बिरामीहरूलाई डाक्टरहरूसँग जोड्न डिजिटल प्रविधिको प्रयोग गर्ने गरिएको छ । जसले गर्दा बिरामीहरुले विशेषज्ञ डाक्टरहरूको अभावलाई सम्बोधन गरेको महशुस गर्ने गरेका छन् । एक वर्षको अवधिमा दूर चिकित्सा सेवा लिनेहरुमध्ये जाजरकोटमा ४६२, डोल्पा ४३५, हुम्ला ३८५, कालीकोट २६६ र मुगुमा १७९ जना रहेका छन् । यो सेवाअन्तर्गत बिरामीले सिधै विशेषज्ञ डाक्टरहरुसँग परामर्श गरी थप उपचार पद्धति अपनाउने गर्दछन् ।
छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापाका अनुसार दूर चिकित्सा सेवा लिएकामध्ये करिब ५०० जना बिरामीले फ्लोअप चेकजाँच समेत गराएका छन् । यो सेवाको प्रमुख उपलब्धिका रुपमा विशेषज्ञ डाक्टरहरूसँग बिरामीको पहुँच वृद्धि भएको उनले बताए । ‘डिजिटल प्रविधिको प्रयोग गरी विशेषज्ञहरूसँग परामर्श लिँदा अस्पतालमा सिफारिस भार कम भएको छ भने बिरामीको सन्तुष्टिमा सुधार आएको छ ।
यस्तै स्थानीय स्वास्थ्य कर्मचारीहरूको क्षमता अभिवृद्धि पनि भएको छ,’ उनले भने, ‘तर सेवालाई थप प्रभावकारी बनाउन आवश्यक नीति, इन्टरनेट कनेक्टिभिटी, विद्युत् आपूर्तिमा अवरोध, डिजिटल साक्षरतामा अन्तर, भौगोलिक दुर्गमता र बजेट विनियोजनमा समस्या जस्ता चुनौतीहरू पनि छन् ।’ एनका अनुसार यस परियोजनाअन्तर्गत शिक्षा र समावेशीकरण, वातावरण, पानी, सरसफाइ र स्वच्छता, जीविकोपार्जन सुधार र मानवीय सहायताका गतिविधि सञ्चालन भइरहेका छन् ।
कार्यशालामा कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न दूर चिकित्सा र विद्युतीय स्वास्थ्य सेवाको भूमिकाबारे छलफल गरिएको हो । दुर्गम तथा ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभावलाई पूर्ति गर्न प्रविधिमार्फत स्वास्थ्य सेवा प्रवाह गर्ने उपायहरूबारे सहभागीहरूलाई जानकारी गराइएको थियो । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रदेश सरकारले डिजिटल हेल्थ नीति कार्यक्रमको अवधारणा लिएको उल्लेख गरे । दूर चिकित्सा सेवालाई प्रभावकारी बनाउन कुनै एक अस्पताललाई दूर चिकित्सा सेवा मात्रै प्रदान गर्ने गरी विकास गर्नुपर्ने उनको भनाइ छ ।
‘दूर चिकित्सा सेवामार्फत बिरामी र चिकित्सकबीच प्रत्यक्ष परामर्श सम्भव हुने रहेछ । अनावश्यक रेफर र यात्रा खर्च घट्नुका साथै समयमै उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्छ,’ उनले भने, ‘विद्युतीय स्वास्थ्य सेवाअन्तर्गत डिजिटल स्वास्थ्य अभिलेख, अनलाइन रिपोर्टिङ, टेलि–कन्सल्टेशनर स्वास्थ्य सूचनाको सुरक्षित व्यवस्थापनबारे मन्त्रालयले काम गरिरहेको छ ।’
मन्त्रालयका सचिव धोलकराज ढकालले कर्णाली प्रदेशको भौगोलिक कठिनाइलाई ध्यानमा राख्दै दूर चिकित्सा सेवाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । अस्पतालमा पूर्वाधार र उपकरण व्यवस्थापनमा मात्रै जोड दिएर नहुने भन्दै त्यसको प्रभावकारी उपयोग गर्न आवश्यक जनशक्ति व्यवस्थापनमा पनि ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।
स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक मानकुमारी गुरुङले कर्णालीको भौगोलिक जटिलताको अवस्थालाई ध्यानमा राखी दूर चिकित्सा सेवालाई प्रभावकारी बनाउनुपर्ने बताइन् । दूर चिकित्सा सेवा प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत व्यवस्थालाई बलियो बनाउनुपर्ने उनको भनाइ छ ।
कार्यक्रमका आयोजक संस्था छायाँ नेपाललले आगामी दिनमा प्रदेशका विभिन्न जिल्लामा दूर चिकित्सा तथा विद्युतीय स्वास्थ्य सेवाको विस्तार गर्दै स्वास्थ्य सेवाको गुणस्तर र पहुँच सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।यसले कर्णाली प्रदेशका नागरिकलाई सहज, सुलभ र प्रविधिमैत्री स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यशालामा प्रदेश तथा स्थानीय तहका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था प्रमुख, सूचना प्रविधि विज्ञ र सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।
स्वास्थ्य उपचारमा एक करोड खर्च
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नागरिकको स्वास्थ्य उपचारमा एक करोडभन्दा बढी रकम खर्च गरेको छ । नगरपालिकाभित्रका दीर्घरोगीको उपचारमा पालिकाले खर्च गरेको हो । गत आर्थिक वर्षमा मात्र पालिकाले एक करोड २७ लाख रुपैयाँ स्वास्थ्य उपचारमा खर्च गरेको जनाएको छ ।
स्वास्थ्य शाखा संयोजक भूपेन्द्रदेव गिरीका अनुसार २३३ दीर्घरोगी (क्यान्सर, डायलाइसिस, मिर्गौला प्रत्यारोपण, मेरुदण्ड, पक्षाघात) लगायतकालाई उपचार खर्च दिइएको हो । नगरपालिकाले कार्यविधि नै बनाएर मासिक पाँच हजारका दरले खर्च गरेको उनको भनाइ छ ।
यस्तै नगरपालिकाले विपन्न नागरिकलाई औषधि उपचारका लागि भन्दै १८० जनालाई सिफारिस गरेको छ । सिफारिसअनुसार सेवाग्राहीले आफूले चाहेको स्वास्थ्य संस्थामा एक लाख बराबरको उपचार सहयोग पाउँछन् ।
वीरेन्द्रनगरले विपन्नलाई दिइने उपचार खर्च दुरुपयोग भएको गुनासो आएपछि अहिले वास्तविक विपन्नको निःशुल्क बीमा गरिदिएको उपप्रमुख नीलकण्ठ खनालले बताए । उनका अनुसार यस वर्ष पनि थारू समुदायमा सिकलसेल एनिमिया रोगको परीक्षण गर्ने कार्यक्रम रहेको छ ।दीर्घरोग मानिने सिकलसेल एनिमिया थारू समुदायलाई लाग्ने गरेकाले उपचारका लागि पनि नगरपालिकाले परीक्षण मेसिन खरिद गरेर सुर्खेतस्थित प्रदेश अस्पताललाई दिएको छ । गत आर्थिक वर्षमा २० लाखको लागतमा परीक्षण गर्ने मेसिन खरिद गरी प्रदेश अस्पताललाई प्रदान गरिएको हो । प्रत्येक वर्ष परीक्षण गर्ने किट खरिद गर्न दुई लाख बजेट पनि विनियोजन गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्