कांग्रेस–एमालेको प्रस्ताव मैले इन्कार गरेँ : प्रचण्ड



नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकलम दहाल ‘प्रचण्ड’ आइतबार बिहान बीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममा धारणा राख्दै । तस्बिर : हेमन्त केसी / रासस

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सरकार परिवर्तन गर्न कांग्रेस–एमालेको प्रस्ताव इन्कार गरेको बताएका छन् । सुर्खेतमा आइतबार आयोजित कार्यक्रममा उनले आफूहरू प्रदेशमा सत्ता परिवर्तनको खेलमा नरहेको बताए ।

नेपाली कांग्रेस र एमालेबाट प्रदेश सरकारमा सहकार्यको प्रस्तावहरू आए पनि आफूले इन्कार गरेको उनको भनाइ छ । “कांग्रेस, एमालेबाट प्रस्तावहरू आउने गरेको छ । संयोजकको हैसियतले मैले इन्कार गरिसकेको छु,” प्रचण्डले भने, “प्रदेश सरकारमा प्रतिनिधित्व भएका सबै दलहरू मिलेर सबै दलीय सरकार बनाउने कुरामा हामी सहमत छौँ ।”

मुलुकका लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्य जरुरी रहेको उनको भनाइ छ । अहिलेको सरकारले लोकतन्त्रको उपहास गरेको प्रचण्डको भनाइ छ । “नेपालको सन्दर्भमा भन्ने हो भने, अहिलेसम्म कहिल्यै नभएको, सरकार आफैँले संसद् बोलाएको भोलिपल्ट त्यसलाई रोकेर अध्यादेश ल्याउने भनेको लोकतन्त्रको  भद्दा मजाक हो,” उनले भने ।  लोकतन्त्र रक्षाका लागि नेपालका सबै राजनीतिक दलहरू एक ठाँउमा उभिनुपर्ने अवस्था आएको प्रचण्डले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ३ गते आइतबार