नेपाली महिला क्रिकेटको उद्गम थलो कोहलपुरमा कोहलपुर प्राइड लिगले वर्षौँपछि क्रिकेटको आत्मा फर्काएको छ । कोहलपुरका केही स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको प्रतियोगिता निकै उत्साहपूर्ण दर्शकहरूको उपस्थितिमा सम्पन्न भएको हो। आगामी दिनमा प्रतियोगिताको निरन्तरता र खेलमैदानको स्तरोन्नति लगायतका महत्वपूर्ण सवाललाई ध्यान दिन आवश्यक देखिन्छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाँकेमा क्रिकेटको इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्न विभिन्न समयका मिति निकै महत्वपूर्ण ठहरिनेछन् । पहिलो मिति हो, ४ माघ २०६१ । दोस्रो मिति हो, २८ फागुन २०८२ । यी दुई मितिले बाँकेमा क्रिकेटको उदय र पुनर्जागरणलाई प्रतिविम्बित गर्छन् । सुरुमा पहिलो मितिबारे केही चर्चा गरौँ । यो त्यही हो, जुन दिन नेपालमै पहिलो पटक बाँकेमा महिला क्रिकेट अभियानबारे पत्रकारमार्फत जानकारी गराइएको थियो ।
बाँकेमा क्रिकेटको इतिहासबारे जान्न भुल्नै नहुने अर्को मिति पनि छ, १५ फागुन २०६१ । यो नगर विकास समितिले प्रदान गरेको जग्गालाई ‘प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ नामाकरण गरिएको थियो । त्यसरी सुरु भएको महिला क्रिकेट अभियानकै कारण बाँकेलाई महिला क्रिकेटको उद्गम थलो मानिन्छ ।
सन् २००७ जुलाई ११ देखि १८ गतेसम्म मलेसियाको जोहारबारुमा प्रथम एसीसी महिला क्रिकेट प्रतियोगिता तय भएको थियो । नेपालको पहिलो राष्ट्रिय महिला क्रिकेट टिममा बाँकेका मात्रै सातजना खेलाडी परेका थिए । बाँकेकी नेरी थापा, ममता थापा, विनु बुढामगर, केशरी चौधरी, कृष्णा सिंह, सीता राना र मनीषा रावल टिममा परे । सिता राना अहिले पनि राष्ट्रिय टिमबाट खेलिरहेकी छन् ।
बाँकी खेलाडीले सक्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । त्यतिबेलाका टोलीका प्रशिक्षक एलवी क्षेत्री, कप्तान नेरी थापा र उपकप्तान ममता थापा क्रिकेट विकासका लागि अहिले पनि सक्रिय छन् । महिला क्रिकेटको स्वर्णिम इतिहास बाँकेमा पछिल्लो दशक क्रिकेटका गतिविधि शून्य रह्यो । कुनैबेला राष्ट्रिय टिममा सातजना खेलाडी परेको बाँके मूलधारको क्रिकेटबाट किनाराकृत हुन पुग्यो ।

संघीयता लागू भएपछि स्थानीय सरकार कार्यान्वयनमा आएपछि केही क्रिकेटका गतिविधिबाहेक अन्य ठूलो प्रतियोगिता हुनै सकेका थिएनन् । नेपाली क्रिकेट विश्वभर परिचित हुँदा महिला होस् या पुरुष टिममा बाँकेको प्रतिनिधित्व हुनै छोड्यो । बाँकेमा नेपाल क्रिकेट संघबाट मान्यताप्राप्त कुनै पनि राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता हालसम्म भएका थिएनन् । तर, २८ फागुनमा सुरु भई २ चैत २०८२ मा सम्पन्न भएको संघबाट मान्यताप्राप्त कोहलपुर प्राइड लिगले बाँकेमा क्रिकेटको आत्मा फकाईदिएको छ ।
कोहलपुर क्रिकेट एकेडेमीको आयोजना सञ्चालन भई सम्पन्न भएको कोहलपुर प्राइड लिड राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हो । पहिलो संस्करणमा ६ टिम सहभागी भएका थिए । प्रतियोगितामा नेपाली पुरुष राष्ट्रिय टिमबाट खेलिसकेका र खेलिरहेका आधा दर्जन खेलाडीको सहभागिता थियो ।
राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित बसिर अहमद्, कुशल मल्ल, लोकेश बम, भीम सार्की, मोहम्मद आदिल आलम, विनोद भण्डारी, देव खनाल र नेपालको एकमात्र अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग खेलेका अधिकांश खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि कोहलपुरकै स्थानीय क्लब युनाइटेड भिजन क्रिकेट क्लबले जित्यो । प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले गरेका थिए । नेपाली पुरुष राष्ट्रिय क्रिेकट टिमका पूर्वकप्तानसमेत रहेका सचिव खड्काले भनेका थिए, ‘बाँके नेपाली क्रिकेटको एक विशेष जिल्ला हो । यहाँबाट नेपाली महिला क्रिकेट उदय भएको थियो । अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणाधीन अवस्थामा छ । यहाँको संरचना निर्माणमा स्थानीय सरकार र राज्यले ध्यान दिनुपर्छ ।,’
क्रिकेट क्रेजले ब्युँताएको क्रिकेटको आत्मा

नेपालमा क्रिकेट खेल निःसन्देह सबैभन्दा बढी रुचाइएको खेल हो । विश्व क्रिकेटमा समेत नेपाली क्रिकेटको छुट्टै पहिचान स्थापित भएको छ । नेपाल प्रिमियर लिग त्यसको उदाहरण हो । यस्तै नेपालभित्रै मोफसलमा हुने प्रतियोगितामा समेत क्रिकेट प्रतियोगिता निकै सफल देखिन्छन् । बाँकेमा क्रिकेटको आत्मा फर्काउन सफल भएको कोहलपुर प्राइड लिगको पहिलो संस्करण सफल नै भयो भन्नुपर्छ ।
विगतमा क्रिकेट खेलाडी रहेका र क्रिकेटप्रेमी एक युवाहरूको समूहले लामो प्रयासपछि आयोजना गरेको प्रतियोगिता हो । प्रतियोगिताको घोषणा र सुरु हुँदासम्म यतिधेरै एक्सपोजर पाउला भन्ने आयोजकले सायदै पूर्वआकलन गरेको थियो । तर पहिलो संस्करणमा अभूतपूर्व क्रिकेट क्रेज देखियो । यसले सायदै आयोजकलाई आगामी संस्करण आयोजनाका लागि निकै ठूलो हौसला प्रदान गरेको छ ।
यसका प्रमुख भागिदार छन्, क्रिकेटप्रेमी दर्शकहरू । प्रतियोगिताको सेमिफाइन र फाइनल खेलमा जुन तहको दर्शकको उपस्थिति देखियो ।
२०६१ सालदेखि निर्माण सुरु भएको कोहलपुर क्रिकेट मैदानले अझै पूर्ण रुप धारण गरिसकेको छैन् । अघिल्लो वर्ष मात्रै करिब ३ करोड लागतमा प्याराफिट निर्माण गरिएको छ । जुन दुई हजार दर्शक क्षमताको छ ।
प्याराफिटमा अटाउनै नसक्ने गरी जसरी दर्शकहरूको उपस्थिति रह्यो, त्यसले देखाइदियो बाँकेमा क्रिकेटिङ आत्मा कसरी दबेर बसेको रहेछ भन्ने कुरा । प्रतियोगिता आफूहरूले आकलन गरेको भन्दा पनि सफल भएको टिप्पणी गर्छन् नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान एलबी क्षेत्री । उनी भन्छन्, ‘नेपाली क्रिकेट व्यवसायीकरणतर्फ गइरहेको छ । नेपाली क्रिकेटमा बाँकेको आफ्नै पहिचान थियो ।
त्यो ऐतिहासिक विरासत फर्काउन यसले भूमिका खेलेको छ ।’ यति मात्रै होइन प्रतियोगिताले राष्ट्रियस्तरमा मैदानको पहिचान दिलाएको उनको भनाइ छ । प्रतियोगिता समापनपछि कोहलपुरका नगरप्रमुख पूर्णप्रसाद आचार्यले लेखेका छन्, ‘इतिहासको प्रारम्भ । मैदानमा जोस–मनमा विश्वास ।’ खेलकुदको क्षेत्रमा कोहलपुरले अर्को ऐतिहासिक अध्यायको सुरुवात गरेको उनले बताएका छन् ।
प्रतियोगितामा सहभागी सबै खेलाडी, समर्थक र खेलप्रेमीहरूको प्रेम, उत्साह र खेल भावनाको प्रतीक पनि भएको नगरप्रमुख आचार्यको भनाइ छ । आयोजक कोहलपुर स्पोर्टस एकेडेमीका सञ्चालक एवम् प्रतियोगिता संयोजक विनायक गिरीले कोहलपुर प्राइड आफूहरूको धेरै वर्ष अघिदेखिको सपना भएको बताए । उनका अनुसार सपनाबाट वास्तविकतामा परिणत भएको कोहलपुर प्राइड लिग केवल एक प्रतियोगिता मात्र नभई जोस, एकता र अटुट भावनाको कथा बनेको छ । केपीएलले एउटा इतिहास बनाएको उनले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्