ढुकढुकीमा देशः एक परिचर्चा



डा. राज कुमार थारु

पृष्ठभूमि

२०१९ साल मङ्सिर १५ मा पोखरा २४, कास्कीकोटमा जन्मिनुभएका साहित्यकार भरतबहादुर रानाभाटको चौथो साहित्यिक कृति ढुकढुकीमा देश विधागत हिसाबले उनको पहिलो कविता सङ्ग्रह हो । यस सङ्ग्रहभित्र अनेकन बिषयबस्तुहरुमा जम्मा ४५ वटा कविताहरु समावेश गरिएका छन् । देवी रानाभाट प्रकाशक रहनु भएको यो कृति २०८२ मंशिरमा बजारमा आएको हो । कवि रानाभाटले यो कवितासंग्रहमा प्रकृति, राजनीति, घरपरिवार, जीवन–दर्शन, देशभक्ति प्रेम, मिलंन बिछोड, राष्ट्रसेवक प्रहरी जस्ता बिषयमा आफ्ना भोगाईका अनुभूति हरुलाइ कैद गरेका छन् । यस भन्दा पहिले उनको जिन्दगीको यात्रा कथा सङ्ग्रह (२०७४), नियति कथा सङ्ग्रह (२०७७ ), फ्लोरिडाको सेरोफेरो नियात्रा सङ्ग्रह (२०८१) प्रकाशित भै सकेका छन् । नेपाल प्रहरीमा साढे बीस वर्षको सेवा पश्चात हाल अवकाश जीवन व्यतीत गरिराख्नु भएका साहित्यकार रानाभाट प्रहरीमा सेवारत रहदादेखी नै साहित्य सिर्जनामा लाग्दैआई हालको सेवानिबृत जीवनमा साहित्य सिर्जनामा झन् बढी सक्रिय हुँदै यस भन्दा अगाडी ३ वटा उत्कृष्ट कृतिहरु नेपाली साहित्यको भण्डारमा थपिसकेका छन । आफ्नी पहिलो धर्मपत्नीको अल्पकालीन (२ वर्ष १ महिना १८ दिन मात्र) साथ पाएका कविकी प्रिय कमला रानाभाटले २१ बर्षको अल्पायुमा छोडेर गएपछिको हृदयविदारक क्षणको पीडानुभूति देखि लिएर उक्त वियोगान्त घटनाको करिब तीन बर्षछि जीवनसाथी बन्नुभएकी देवी रानाभाटलाई साक्षात देवी भनेर सम्बोधन गर्दै सिर्जना गरेको कवितादेखि लिएर नेपाल प्रहरीमा सेवारत रहदाको गर्विलो क्षणहरुलाई पनि आफ्नो कविताहरुमा अत्यन्त सरल भाषामा अभिव्यक्त गरेका छन ।

ढुकढुकीमा देशमा कवि रानाभाटको धड्कन शैली

यस कविता सङ्ग्रहमा कवि रानाभाटले उनकै शब्द सापट लिएर भन्नुपर्दा समाजिक विकृती, भेदभाव, विसंगति, शोषण, दमन, अन्याय र अत्याचार जस्ता विषयवस्तुमा केन्द्रित रहेर आफना भावनाहरुलाई कविताको माध्यमबाट अभिब्यक्त गरेका छन, जुन कार्यलाई उनले आफ्नो दायित्वसँग जोडेर हेरेको कुरा आफ्नो मन्तव्य÷मनेसो खण्डमा उल्ल्लेख गरेका छन । आफ्ना कविताहरु मार्फत कवि रानाभाटले समाज परिवर्तनको आशा पनि राखेको देखिन्छ । प्रगतिशील चेतनाले अभिप्रेरित भै समाज परिवर्तनको चाहनाले रचना गरिएको उनका कविताहरुमा उनले देखेको र भोगेको जीवन अनुभूतिहरुले राम्रो स्थान पाएका छन् । यस कविता सङ्ग्रहमा समाविष्ट कविताहरु कवि रानाभाटले मुक्तछन्द अर्थात फ्री भर्समा लेखेका छन । मुक्तछन्दहरु आमपाठकहरुसम्म पुग्ने सशक्त मध्यम भएको हुँदा कविका भावना र मनका कुराहरु सजिलैसँग सम्प्रेषित भएका हुन्छन, यो कुरा मुक्तछन्दको अत्यन्त सबल पक्ष पनि हो । यसकारण दुकढुकीमा देशका कविताहरुका माध्यमबाट कवि रानाभाट सशक्त रुपमा आम पाठकसम्म पुग्ने जमर्को गरेका छन । मुक्तछन्दको कविताको क्षेत्रमा बेग्लै अनि महत्वपुर्ण स्थान भएको हुनाले मुक्तछन्दलाई मुर्धन्य नेपाली कविहरुले उच्च प्राथमिकता दिएको देखिन्छ किनभने यो कवितीय अभिव्यक्तिको सरल तरिका हो ।

भूपी शेरचनले कविता जीवनको सिधा अनुभवबाट जन्मिनुपर्छ र भाषा अनावश्यक रूपमा जटिल हुनुहुँदैन भनेका छन् । उनको विचारमा कविता बुदिजीवीहरूको मात्र होइन, साधारण जनताको पनि आवाज हुनुपर्छ । कवि रानाभाटका यस सङ्ग्रहका कविताहरु पढ्न र बुझ्नका लागि पाठक हरुलाई अतिरिक बौद्दिकता खर्च गर्नुपर्दैन, एक प्रयत्नमै कविका अनुभूती हरुलाई आत्मसात गर्न सकिन्छ । आफ्नो दशकौंको नेपालगंज बसाईको पृष्ठभूमीलाई आधार मानेर कवि रानाभाटले रचना गरेको म नेपालगंज नामक कवितामा अत्यन्तै सरल भाषा तर गहिरो अर्थमा उनी लेख्छन ः– मेरो छातीमा टेकेर / कोहि उडेका छन् / कोहि गुडेका छन् /…..कसैले माया गरे कसैले गाली / तैपनी मलाई कुनै गुनासो छैन / बाँचेको अभिनय गरिरहेको छु म । (पृष्ठ ४५ ) महाकवि लक्ष्मीप्रसाद देवकोटाले कविता हृदयबाट निस्किएको हुनुपर्ने कुरामा जोड दिएका छन् । उनका अनुसार भाषा सजिलो भए भावना अझ गहिरो भएर पाठकको मनमा पुग्छ । अधिकांश कविहरुले कवितामा कृत्रिम अलङ्कारभन्दा भावको स्वाभाविकता महत्वपूर्ण हुन्छ भन्दै सरल भाषामा लेखिएको कविता नै दीर्घकालीन हुने मत राख्दछन । कविहरु केदारमान व्यथित र हरिभक्त कटुवाललको विचारमा जनताले नबुझ्ने कविता सामाजिक रूपमा अर्थहीन हुन्छ । कविता जनजीवनसँग जोडिनु आवश्यक हुन्छ किनभने कविता सजावट होइन, अनुभूति हो ।

सरल शब्दमै गहिरो पीडा र प्रेम अभिव्यक्त गर्न सकिन्छ । यही काव्यिक सिद्दान्तको सेरो फेरोमा कवि रानाभाट स्वर्ग नै गाउँ कवितामा लेख्छन– त्यही पुरानो समयको /  सती रहन्छ सम्झनाले / कति बलवान रहेछ समय / आऊ सम्झना र समयलाई÷ मिसाएर एउटै रंगमा / फर्किऔं त्यहि गाउँ । पृष्ठ २२) रोमान्टिक युगका प्रमुख अंग्रेजी कवि वड्र्सवर्थका लागि कविता शक्तिशाली भावनाहरूको स्वस्फूर्त उद्गार हो । उनले कविताको सरलतामा सबैभन्दा धेरै जोड दिएका छन् । स्यामुएल टेलर कोलरिजले सरल भाषा र गहिरो अर्थको संयोजन नै राम्रो कविता हो ।रबर्ट फ्रस्ट सरल भाषामा गहिरो दर्शन व्यक्त गर्ने कवि हुन् । उनका अनुसार कविता साधारण बोलचालको भाषामा हुनुपर्छ । कवि भरतबहादुर रानाभाटको ढुकढुकीमा देश कविता सङ्ग्रहमा समाविष्ट कविताहरुमा माथि उल्लिखित नेपाली र अंग्रेजी कविहरुका कविताको मुक्त छन्द बारेको दृष्टिकोणलाई आधार मानेर रचिएका देखिन्छन । ढुकढुकीमा देश कविता सङ्ग्रहमा समाविष्ट अधिकांश कविताहरुमा कविका भोगाई र अनुभूतिहरुले स्थान पाएका छन् । यस सङ्ग्रहको पहिलो कविता बाडुलीमा उनले वाल्यकालको संझना गर्दै ती अतितका पलहरुले बाडुली लागेको कुरा गरेका छन भने नेपालगन्जको हावापानीको बर्णन गर्दै म नेपालगंज कवितामा यस नगरीमा हुर्केबढेकाहरुले नै नेपालगन्जलाई वेवास्ता गरेको गुनासो गर्दै धार्मिक सद्भाव पनि बिग्रिन थालेको अनि राज्यद्वारा पनि वेवास्ता गरिएको यथार्थ चित्रण गरेका छन ।

हे मेरी आमा कवितामा कवि रानाभाटले आफ्नी आमालाई परिवारका सदस्यले मात्र होइन आँगन र बारीका बोटबिरुवाले पनि “मिस” अर्थात “याद“ गरिरहेको उल्लेख गरेका छन भने स्वर्ग नै गाउँ भन्ने कवितामा भने आफ्नो गाउँको आत्मीयताको स्मरण गर्दै यसलाई स्वर्गको उपमा दिएका छन । स्वदेशमा रोजगारी नभएर चर्को ब्याजमा रिन लिएर खाडी मुलुक छिरेको छोरा धन कमाएर छिटै घर फर्केको हेर्न चाहने बुवा आमाको अन्तर्मनको चाहनालाइ “छोरो कहिले आउला ?” भन्ने कविता उतारेका छन । यसै विषयवस्तु समेटेर माटो (पृष्ठ ४३ ) कविताका कविले हिजो भन्दा आज गाउँघरमा विकास र परिवर्तन भएकोले बिदेशिएका युवाहरुलाई गाउँ फर्किन आग्रह पनि गरेका छन । आमाबुवाले आफ्ना सन्तान हुर्काउन, पढाउन ठूलो बलिदान र त्याग गर्ने यथार्थलाइ मनन गर्दै छोराछोरीहरुलाई असल र ज्ञानी अनि उत्तरदायी बन्न आग्रह गरिएको कवि रानाभाटको कविता “असल बने है !” पृष्ठ न. २६ मा समाविष्ट छ । कवि रानाभाटले गठबन्धन (पृष्ठ ३६) कवितामा भने मन, विचार र स्वार्थ फरक फरक हुँदा हुँदै पनि भरोसाको घोलले भरोसाकै जगमै टेकेर भावी सन्ततिको सुन्दर भविष्यको लागि गठबन्धनको आह्वान गरेका छन, शायद यो गठबन्धन श्रीमान श्रीमती बिचको हुन सक्छ ।

त्यसैले उनी भन्छन ः जन्मदा नांगै, मर्दा नांगै // मारेर के पो लानु छ र ? / आऊ बाँधौ बलियो गरी // मनको गठबन्धन (पृष्ठ ३९)। मनको मन्दिर (पृष्ठ ४६) मा कवि भरतले प्रेम थिम (विषयवस्तु) बनाएर प्रेमिकाको सौन्दर्य बर्णन पारम्परिक रुपमै गरेका छन – मेरो मनको मन मन्दिरमा //  सजिएको तिम्रो चित्र // बन्यो यो मुटुको ढुकढुकी // ठ्याक्कै यहि भाव कविले वहाँकी प्रिय कमला रानाभाटलाई सम्झिदै कमला (पृष्ठ ४८) शिर्षकको कविता कोरेका छन । कमला रानाभाटसंगको अत्यन्तै अल्पसमय करीब २ बर्ष मात्र वैवाहिक सम्बन्ध रही अकस्मात भएको स्वर्गारोहणलाई कविले ९ रेक्टर स्केलको महाभूकम्पसँग तुलना गर्दै आँशुका ढिका पिउंदै बाँचेको अभिनय गरिरहेको छु भनेका छन ।उनी अगाडी भन्छन ः बाँच्नु त के थियो र खै ! मरीमरी बाँचिरहेछु । प्रथम धर्मपत्नीको अप्रत्याशित गमनपछि कविलाई सम्हाल्न आइपुनु भएकी जीवनसाथी देवी रानाभाटको नाममा पनि उनले एउटा कविता समर्पण गरेका छन – एक आदर्श नारी (पृष्ठ १२६)मा खहरे जस्तो जीवनले फल्ने फुल्ने सौभाग्य पाएको उल्लेख गर्दै उनकी जीवन संगीले थाहा नपाउने गरी नियाल्दै बर्बर आशु झारेका कविले आफ्नी धर्मपत्नीप्रतिको कृतज्ञता, माया र आदर व्यक्त गर्दै भन्छन ः– प्रिय देवी÷ बाँझो बनेको मेरो जीवन÷ तिम्रै कारणले हराभरा बन्यो / त्यसैले तिमि मेरो आँट पनि भरोस पनि // मेरो शान पनि, मेरो मान पनि // (पृष्ठ १२९ ) राजनीतिक विषयवस्तुलाई केन्द्र राखेर कवि रानाभाटले जानि राख नेता हो (पृष्ठ ६८), मेरो देशको लोकतन्त्र (पृष्ठ ७८ ), प्रभु त्वं शरणं (पृष्ठ ८० ), तिमी नेता बन (पृष्ठ ८२ ), जनता (पृष्ठ ८५ ),चोक ( पृष्ठ ९० ) तिमी सहिद (पृष्ठ १३७ ) जस्ता कविताहरु रचेका छन, जसमा खास गरिकन् राजनीतिक अकर्मन्यता, गुट–उपगुट, राजनीतिक आचरण, सत्ताको असामान्य लोभ जसका प्रवृतिहरु माथि प्रहा गरेका छन ः– प्रभु तिम्रो आसिर्बाद सधै सधै लागि रहोस प्रेम बनेर÷ मेरो सत्ता टिकाइ राख्न // गोप्य षड्यन्त्रको तानाबाना बुनेर //  (प्रभू त्वं शरणं , पृष्ठ ८१) भ्रष्टाचारको चिन्ता (पृष्ठ १११) मा कवि रानाभाटले कवि भूपी शेरचनको शहिदहरुको सम्झनामा कविताको हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए//  बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए // भन्ने शैली को अनुशरण गर्दै हुँदैन विकास अनुशासनको बाटोमा नगए // बन्दैन देश अब भ्रष्टहरु जेलमा नगए भन्दै लोकतन्त्र देखि गणतन्त्रको यात्रामा मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेकोमा चिन्ता व्यक्त गरेका छन भने कृषकका आँशु (पृष्ठ १४३ ) कवितामा कवि रानाभाटले कृषि प्रधान देशमा सरकारले नै कृषक लाई बेवास्ता गरेकोले कृषि– विद्रोह हुन सक्ने चेतावनी दिएका छन ।

आफुले सेवा गरेको संस्था नेपाल प्रहरी र प्रहरी सेवाका बारेमा कविले पहरेदार (पृष्ठ १४९ ) र साहसी प्रहरी (१५१) नामक दुइवटा कविता लेखेका छन, जुन कविताहरुमा “सत्य सेवा सुरक्षणम”को मुलमन्त्रबाट अभिप्रेरित भई देश र जनताको सेवामा समर्पित भएको देखाइएको छ । कविता सङ्ग्रहको शिर्षक कविता ढुकढुकीमा देश पृष्ठ संख्या १४६ मा प्रकाशित छ । यस कविताना कविले देश के हो त भनेर अनेकन परिभाषा दिएका छन । देश भनेको भूगोल मात्र होईन यो त सभ्यता, संस्कार, संस्कृति र मौलिक चिनारी पनि हो भनेका छन । कविका अनुसार सगरमाथाको अग्लाई पनि देश हो । कवि रानाभाट अगाडी भन्छन ः

देश भन्नु त मैले फेरेको
श्वास पो रहेछ , प्रश्वास पो रहेछ ।
देश भन्नु त मा भित्र बाचिरहेको आशा रहेछ
देश भन्नु त आफ्नै ढुकढुकी पो रहेछ ।

यसरी साहित्यकार भारत बहादुर रानाभाटले आफ्नो प्रथम कविता संग्रहमा समसामयिक विषयवस्तु हरुमा कलम चलाएको देखिन्छ । बिषयबस्तुको हिसाबले यो कृति अत्यन्त बृहत र गहन कृति हो भने शैलीको हिसाबले उत्तिकै सरल् र सहज छ ! मुक्त छन्दमा लेखिएका कविताहरुले स्पष्ट संदेश दिन सफल छन् भने सरलता, स्पष्टता र संदेशमुलकता यो कविता सङ्ग्रहको बिशेषता हो भन्दा अत्योक्ति नहोला ।पाठकहरुलाई कविता पढ्दाखेरी भन्न खोजेको कुरा नबुझेर निधार खुम्च्याउनु पर्ने अवस्था देखिदैन । प्रथम पठनमै कविका मनका भावनाहरु पाठकहरुले सजिलै बुझ्नेछन् । आफ्नो बौद्दिकताको प्रदर्शन गर्न र आत्मरतिका निम्ति बलपूर्बक अनावश्यक अलंकार जड्ने, फूलबुट्टा भर्दै लेख्ने कथित् उत्तरआधुनिक काव्यिकलहड्का बिचमा प्रकाशित कवि रानाभाटका यी सरल र सहज लेखनशैलीले पक्कै पनि अर्थपूर्ण उपस्थिति देखाएको छ । कथा लेखनमा अब्बल मानिएका सहित्यकार रानाभाटसंग अत्यन्त सुन्दर काव्यिकचेत छ भन्ने कुरा यो उनको प्रथम कविता सङ्ग्रहले प्रमाणित गरेको छ । काव्यिक निखारपनका लागि निरन्तरको साधना र अभ्यास जरुरी रहेको यथार्थलाई मनन गर्दै उनका आगामी कविताहरु अझै परिष्कृत रुपमा आउने नै छन् भन्ने आशा गर्ने प्रचुर आधार र लक्षणहरु यो ढुकढुकीमा देश भन्ने कबिता संग्रहले देखाएको छ ।

अन्त्यमा,

टी. एस. इलियट मुक्तछन्दका आधुनिक प्रबक्ता हुँदाहुँदै पनि कविताभित्र आन्तरिक संरचना, लय र अनुशासन अनिवार्य हुन्छ भन्ने मत राख्छन। रबर्ट फ्रस्ट जो मुक्तछन्द प्रति आलोचनात्मक थिए, उनले भनेका छन् – पूर्ण रूपमा छन्दविहीन कविता जोखिमपूर्ण हुन्छ । छन्द कवितालाई शक्ति दिने तत्व हो । यस अर्थमा कवि रानाभाटका कविताहरुमा मुक्त छन्द भएता पनि केही कविताहरुमा आन्तरिक संरचना अलि कमजोर हुनुका साथै धेरै श्लोकहरु सामान्य वार्तालाप या कुराकानी जस्ता लाग्छन । कविताहरुमा सरल रुपमा भए पनि बिम्ब प्रतीक, लक्षनाहरु प्रयुक्त हुनु राम्रो मानिन्छ । त्यस अर्थमा ढुकढुकीमा देशका केही कविताहरुमा मात्रै यी बिम्बप्रतीक आदि प्रयोग भएको पाइन्छ ।केही कविताहरुमा कविको बिषय विचलन पनि भएको देखिन्छ भने केही रचनाहरुमा शिर्षकमा केन्द्रित हुनुपर्ने ठाउँमा अन्य कुरामा शब्दहरु खर्चेको हुनाले कविताको आन्तरिक तालमेल बिग्रिन पुगेको छ । अर्को कविता सङ्ग्रह तयार पर्दा यसतर्फ कविको ध्यान जाओस भन्दै यो सरल एवं अग्र्यानिक कविता संग्रहका लागि हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार