आत्मपरक निबन्धः खरिले लेखिएको सपना



ऋषिराम सापकोटा

खरि । मेरो सपनाको जग, कालो पोतिएको पाटिमा सेतो अक्षरले छरिएको उज्यालो ले देखाएको बाटो पछ्याउँदै अगाड बढेको म। प्रविधिले विर्षिएको होला आफ्नै जननी, खरि बनिसकेको छ चक,माउस , टचप्याड र टचस्क्रिन।मेरो जग अनि मेरो सपना लेखिदिने त्यो खरि जसको सुगन्धले मलाई आजपनि स्पर्ष गरिरहेछ। सपना त्यो हो जसले सुत्न दिदैन , लक्षउन्मुख गराउँछ न कि निदायको वेलामा देखिन्छ। धेरै ठूलो सपना थिएन त्यो बेला, बस विद्यालय जाने रहर थियो। तर त्यही रहर पनि सजिलै साकार हुने जमाना थिएन । म हुर्किएको गाउँमा विद्यालय हेर्न कतिकोष हिड्नु पथ्र्याे । स्कुल भन्ने शब्द नै बुढाबुढीको कानमा परे पनि अनौठो लाग्थ्यो। अझ छोरी मान्छे,पढ्नुपर्छ भन्ने चेतनाको नामै लिन नहुने। छोरी त चुलोचौको, धाँसपात र घरगृहस्तीमै सीमित रहने हो भन्थे। म छोरो भएकै कारण होला घरबाट मलाई पढ्न जाने अनुमति दिईयो।त्यो बेला पंचायती व्यवस्था थियो। अधिकार भन्ने कुरा सीमित व्यक्तिको हातहरूमा कैद थियो, विचारको स्वतन्त्रता बन्धक बनाईएको थियो।
त्यसै बेला, मेरा बाबुआमा भने सामान्यभन्दा असामान्य हुनु हुन्थ्यो । “छोरी होस् वा छोरा पढ्नुपर्छ!“ उहाँहरू जस्ता अभिभावक सायद औंलामा गन्न सकिन्थे। त्यो सचेतता मेरा लागि आशिर्वाद बन्यो। मैले पहिलो पटक विद्यालयको आँगन छुँदा म पाँच वर्षको थिएँ। काँधमा लेख्ने कालो पाटी, खरि ढुङ्गा, र बस्ने चकटी बोकेर म उत्साहसाथ स्कुल पुग्थेँ। स्कुल भनेको पक्की भवन होइन, माटोले लिपिएको, काठका झ्यालढोका भएको एउटा छानोमुनि सञ्चालित ज्ञानको गोठजस्तै लाग्थ्यो। हप्ताको शुक्रबार हामी विद्यार्थीहरू मिलेर गोबर संकलन गरेर कक्षाकोठा लिप्थ्यौं। दशैँमा त विद्यालयलाई ‘रातोमाटो’ र ‘कमेरो’ले रंगाएर उत्सवजस्तो मनाउँथ्यौं । त्यो हाम्रो विद्यालयप्रतिको श्रद्धा थियो र त्यो श्रद्धाभित्रै आत्मसम्मान लुकेको थियो।

जब म सात कक्षामा पुगेँ, स्कुल पढ्नअझ टाढा जानुपर्ने भयो। हिँडेरै जानुपथ्र्यो उकाली ओराली,खोलानाला तरेर, झाडी पार गरेर, झन्डै दुई घण्टा टाढा। तर त्यो दुरी मेरो साहस अगाडि कहिल्यै ठूलो बनेन। अहिलेका बालबालिका जस्तै कहरले होईन रहरले स्कुल जन्थेँ म।अहिले जस्तो करकाप अनि स्याबासी माग्दै स्कुल जाँदिन थिएँ म। विहान एक डोको घाँस काटेर हस्याङ्ग र फस्याङ गर्दै आटोको गास बकुसायर,आमाले बनाएको कादोको रोटी पोको पारेर साथि हरुले छोडेर गएकी भनेर कुदिन्थ्यो। उता बाटोमा, अमाले बनाएको अर्निको पोको ढुङ्गाका कापमा लुकाएर ,कहिले बाटोमा पर्ने खरको गोठको छानोमा सिउरेर राखिन्थ्यो। चार बजेसम्म स्कुल सकेर फर्कँदा त्यो कोदाको रोटीको स्वाद?सायद चौरासी ब्यन्जन भन्दा मीठो थियो। कहिलेकाहीँ त्यो पनि चराले मान्छेले चोरेर लैजान्थे, अनि म भोक मेटाउन व्याकुल भएर बारीका खनिउँ, वेडुला, बोडी टिपेर लुकिछिपि खान्थेँ। शिक्षकको पनि अभाव थियो। गणित, विज्ञान त परै जाओस्, कहिलेकाहीँ सामान्य विषयका शिक्षक पनि हुन्नथे। भारतबाट आएका अस्थायी शिक्षक, र आवासीय विद्यालय सेवा अन्तर्गत आएका शिक्षकमै भर पर्ने अवस्था थियो। कतिपय कक्षाहरू त एसएलसी पास गरेका स्थानीय विद्यार्थीले पढाउँथे।

शिक्षा पाउने हाम्रो रहर थियो, कहर होइन। मैले गुरुहरुबाट सुनेको थिएँ र पुस्तकमा पढेको थिएँ,ज्ञान सजिलै पाइँदैन, यसलाई अनुशासन ,मेहनत र लगनशीलताले सींच्नुपर्छ। घरको अवस्था पनि त्यस्तै — धाँस दाउरा गर्नु, मेलापाता जानु, कुटो कोदालो गर्नु हाम्रो दैनिकी थियो। तर ती सबै कार्यबीच पनि मेरो मनमा विद्यालयले घर वनाएको थियो। सायद त्यो गरिबीको झ्यालबाट देखिएको उज्यालो थियो। रातपरेपछि टुकी बालेर गुन्द्रिको कुनामा बसेर पढिन्थ्यो। निद्रा लाग्छ भनेर अनुहारमा पानी छ्यापिन्थ्यो। बर्खायाममा त खेतालासमेत जानुपथ्र्यो । हुद्दा लगाएर मकै, कोदो, धान रोपिन्थ्यो फलाईनन्थ्यो, गुजारा चलाईन्थ्यो। त्यही बाली बेचेर जम्मा भएको थोरै नगदले किताब किनिन्थ्यो, स्कुलको शुल्क तिरिन्थ्यो। अनि ती किताब, ती अक्षरहरू नै बने मेरा साथी, मेरा भविष्यका सीढी। खरिले कोरिएको सपना ,धन्नै क्ीऋ मै टुटेको थियो। मेरा दुई साथी थिए , तिलक र विकल। विकलको सोच फरक थियो,छिटो पैसा कमाउने, सजिलो बाटो समाउने। उ भारततिर जागिर खान जाने सोचमा थियो। ऊ भन्थ्यो, “अब कति पढ्ने? जागिर खाने उमेर भयो।” ऊ बाहिरको झिलिमिली संसार देखाएर मलाई पनि लोभ्याउँथ्यो। तर तिलक फरक थियो। ऊ भन्थ्यो, “यो पढ्ने बेला हो, बाँकी कुरा पछि गरौंला।” उसको आँखामा जति संघर्ष थियो, त्यति नै भविष्यको उज्यालो पनि। त्यसै कारण, जब म विकलसँग जाने सोचमा थिएँ, तिलकले भनेको एक शब्दले मेरो जीवन बदल्यो— “सपना तेसै पुरा हुँदैन, पढाई पुरा गर्नु पर्छ,ईन्डिया गयौ भने जीवन अन्धकारमै रुमलिने छ।“

म फर्किएँ, सही बाटो रोजेँ।त्यही मोड थियो, जसले मलाई अबको जीवनको नयाँ अध्यायतिर डो¥यायो। धेरै संघर्षपछि मैले एसएलसी पास गरें ।नतिजा निस्केको १५ दिन पछि कोदो रोप्दारोप्दै थाहा पाएको नतिजा , त्यो खुसी वर्णन गर्न सक्दिन।त्यो मेरै लागि मात्र हैन, मेरो परिवार, गाउँ सवैको लागि,अनि त्यो पुरानो चकले–पाटीमा लेखिएको सपनाको एक अध्याय थियो। एसएलसी पास गर्नु भनेको एउटा गोरेटो बाटोमा राजमार्ग बनाउनु जस्तै थियो। त्यो सानो, खरिले लेखिएको सपना पहिलोपटक आकाश छुने प्रयास थियो। त्यसपछि मैले उच्च शिक्षा तिर पाइला राखें,शहर आएँ। शहरमा आएको बेला मसँग थिए—दुई जोर कपडा, केही किताब, र सपनाहरूको भारी। शहर फरक थियो। यहाँ न चक थियो, न पाटी, न टुकी।यहाँ थियो बिजुली बत्ती, कम्प्युटर, माउस, टचस्क्रिन।शिक्षा अब खरिबाट टाइपमा पुगिसकेको थियो।तर मेरो मन भने कहिल्यै बिर्सेन त्यो खरिको गन्ध, त्यो टुकीको उज्यालो।शहरमा पढ्दा पनि मनमा त्यो ‘पर्वतीय साहस’ बगिरहन्थ्यो। हो यही शिक्षा हो, जसले मलाई आजको म बनाएको छ।

न सरकारी जागिरले मलाई मान दिएको हो, न कुनै उपाधिले ,मलाई मान दिएको छ ती चिसा बिहानहरू, त्यो खरिको टुक्राले, त्यो कालो पाटिले,भोकमा बाँचेको पढाइले, त्यो सस्तो पाटीमा खरिले कोरिएका अक्षरले, अनि पढ्ने रहर र इच्छाले। शिक्षा भनेको केवल कक्षा वा किताबमा सीमित छैन, त्यो जीवनसँगको निरन्तर संवाद हो। म सानो हुँदा त्यो संवाद चक र पटी संग हुन्थ्यो, आज माउस बटन र स्क्रिन संग भएको छ। सजिलो थिएन शिक्षा आर्जन गर्नु धेरै गाह्रो थियो। खोलानाला तर्नु जस्तो अप्ठ्यारा, समाजको कठोरताजस्तो तगाराहरू थिए। तर मैले ती तगाराहरू पार गरेँ, किनभने मसँग सपना थियो,रहर थियो पढ्ने, जान्ने, र आफुलाई बदल्ने। आज म जहाँ छु, त्यो मेरो बाल्यकालमा चकले देखाएको उज्यालो ,मेहनत र पसिना ले बनाएको बाटो हो। शिक्षा क्षेत्रमा मेहनत गर्दै, म एक दिन शिक्षा क्षेत्रकै सरकारी सेवामा नाम निकाल्न सफल भएँ। “खरिले लेखिएको सपना पूरा भयो” आज, म मेरो आँगनको माटोमा रमाउँछु,मेरो कमाएको सम्मानमा सन्तुष्टि लिन्छु।किनभने त्यो सम्मान मैले आशिर्बादबाट होइन,मेहनत र संघर्षबाट कमाएको हुँ। मैले महसुस गरेँ,सपना ठूला भए पनि तिनीहरू साना चिजबाट सुरु हुन्छन।जस्तै चक, पाटी, खरि, टुकी, र भोक यी नै थिए मेरा भविष्यका खम्बाहरू।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार