विश्वास गुमाएका अनुहारहरू !



विष्णु पादुका 

आज देश विश्वासको संकटमै गुज्रिएको छ । जीवनभर मत जाहेर गरेका दलहरूको , नेताहरूको चरित्र प्रायः सबैको स्खलित भएको छ । उनीहरुको कुरा सुन्दा ढाकछोप गरे जस्तो मात्र लाग्छ । विपक्षीले त कत्लेआम पार्ने नै भए । राजनीतिक अस्थिरताको यो भेलमा जो कोहि विश्लेषक भएको छ । जो कसैले अवको चुनाव जनताको हातमा छ भनेर फलाकी रहेछ । तर सबै चुनावमा जनता माथी नै थोपरिन्छ यो विश्वासको बोझ । जनताले दिएको एक मतको अन्तरमा कोहि बिजयी हुन्छ कोहि पराजित हुन पुग्छ । जितेकाहरूले देश हाँक्न पाउनुपर्ने अधिकारको दावी गर्छन् र यीनै जनता माथी शासन गर्छन् । लोकतान्त्रिक व्यवस्थाको कडि भनेकै यहि हो । मानिसको जीवनलाई अघि बढाउने शक्ति धेरै हुन्छन् ।तर तिनमध्ये सबैभन्दा मौलिक शक्ति हो विश्वास। विश्वास भनेको केवल धर्मसँग जोडिएको अन्ध आस्था मात्र होइन हुन त ब्यक्तिगत रूपमा आन्तरिक ऊर्जा हो । जसले मानिसलाई संघर्ष गर्न, सपना देख्न, र यथार्थसँग टिकिरहन साहस दिन्छ। यसो भन्दैमा विश्वासले सधैं समान किसिमले काम गर्दैन। यो मानिसको चेतनासँग गाँसिएको हुन्छ । चेतनाको स्वरूप फेरिएसँगै विश्वासहरू पनि बदलिएको देख्छौँ हामी । मानिसलाई दुई किसिमको दृष्टिकोणले बाँड्न सकिन्छ। पहिलो त उसले के देख्न चाहन्छ भन्ने कुराले निर्भर गर्छ । दोस्रो –उसले वास्तवमै के देखिरहेको छ भन्ने कुरा आउँछ । धेरै मानिसहरू पहिलो धारमा अड्किएका हुन्छन्।

उनीहरू यथार्थलाई नाङ्गा आँखाले देख्दैनन् । आफ्नो चाहना र पूर्व धारणाले बनाएको छायालाई मात्रै देख्छन्। यस्तो सोचाइले व्यक्तिलाई सहज लाग्न सक्छ । यो समाज र देश दुवैका लागि हानिकारक हुन्छ । किनभने त्यसले प्रगतिलाई ढाक्छ । आलोचनालाई दबाउँछ र नयाँ सम्भावनाहरूलाई अस्वीकार गर्छ। पूर्व धारणा नेपाली समाजको एउटा गहिरो समस्या हो जसले द्विविधा दिई रहन्छ । विश्वास यदि पूर्वनिर्धारित धारणामा मात्र अड्कियो भने त्यो इतिहासको छायामा मात्र बाँच्ने अभ्यास हुन्छ। इतिहासलाई गौरव मानेर बस्नु सजिलो हुन्छ होला । त्यसैमा चिप्लिनु भनेको वर्तमानको चुनौतीसँग टाढा भाग्नु हो। बिगतको ब्याज सधैं सजिलै खान पाइँदैन । आजको मिहिनेत, आजको संघर्ष बिना त्यो गौरव केवल काल्पनिक कथामा रुपान्तरित बनेर रहन बेर लाग्दैन । विश्वासलाई यथार्थसँग जोड्न सकियो भने मात्र त्यसले मानिसलाई आन्तरिक रूपमा अघि बढाउँछ। देख्न चाहिएको कुराभन्दा देखिरहेको कुरामा आँखा ठोक्ने साहस नै वास्तविक शक्ति हो। किनकि यही साहसले भ्रान्ति हटाउँछ । अँध्यारो आँधीमा पनि मार्ग देखाउँछ । समाजलाई झूटो गौरवभन्दा पर तितो यथार्थको खुला बगरमा लैजान्छ। तीन महिना अघिको आन्दोलन त्यसैको उपज थियो । त्यसैले विश्वासले जीवनलाई दुई बाटो देखाउँछ ।अतीतको खड्केरिमा फसाउने बाटो र अर्को यथार्थलाई अंगालेर भविष्यतिर उचाल्ने बाटो। बिगतलाई सम्मान गर्दै भविष्यलाई नयाँ दृष्टिले हेर्ने मान्छे मात्र यथार्थ अर्थमा प्रगतिशील हुन्छ। विश्वास त्यही बेला मात्र विश्वसनीय हुन्छ जब उसले व्यक्तिलाई कल्पनाभन्दा यथार्थतिर, भ्रमभन्दा सत्यतिर, अनि निस्क्रियताभन्दा सिर्जनशीलतिर लैजान सक्छ । तर आज पनि नविन सिर्जना हुन सकेको कतै देखिन्न ।

जीवनका प्रत्येक कुराको आफ्नै आयु हुन्छ। जन्मिएको हरेक वस्तु, बनाइएको हरेक संरचना, अनि मानिसका भोगाइ–अनुभव सबैको एक निश्चित कालखण्ड हुन्छ। तर विडम्बना के छ भने, मानिसलाई आफ्ना धारणाहरू, सम्बन्ध, वा सत्ताहरू स्थायी जस्तो लाग्छ । यही भ्रामक सोच नै पीडाको मूल कारण बनिदिन्छ अन्ततः । पछिल्लो पुस्ताले स्विकार्न नसकेको यो एउटा तितो सत्य हो । यहाँ राजनीतिक दलको नाम लिएर कटाक्ष गर्नु छैन । दल त केवल नाम मात्र फरक हुन् । प्रवृति सबैको साझा छ । समग्रमा अन्तिम लक्ष्य सबैको उस्तै छ । देखाउने दाँत कसैका सिधा कसैका बाँङ्गा मात्रै हो । अत्यन्तै छोटो आयु बोकेको कुरा हो अहं। अहंको उचाइ एक क्षणमै चुलिन्छ, र अर्को क्षणमै स्खलित हुन्छ। इतिहासलाई हेर्दा पनि संसारका साम्राज्यहरू, अधिपतिहरू, शक्तिशाली नामहरू यही अहंको कारणले पतन भएका छन्। जसरी अग्निको झिल्को बल्झिएर तुरुन्तै निभ्छ, अहं पनि त्यस्तै क्षणिक हुन्छ। तर अहंमा हुर्केको विश्वासलाई मानिसले शाश्वत सम्झिन्छ। यही भूलले समाजमा दुर्घटना थपिन्छ। हामीले माथि विश्लेषण गरेको विश्वासलाई मान्छेले आयुको दृष्टिबाट हेर्न सक्दैनन्। विश्वास पनि जन्मन्छ, हुर्कन्छ, अनि फेरिन्छ। तर जब मानिसले आफ्नो विश्वासलाई अटल सत्य ठान्छ र त्यसलाई समयभन्दा बाहिर राख्छ । त्यसैले द्वन्द्व, हिंसा, असहिष्णुता , संघर्ष र अन्ततः अन्त्य जन्माउँछ ।समाज दुर्घटनाको मुख्य कारण यही हो ।

मानिसले आफ्नो धारणा र विश्वासलाई अस्थायी नभई स्थायी ठान्नु पथ्र्यो । यथार्थमा स्थायी केही छैन न सत्ता, न विचार, न अहं। तर जब अहं स्थायीताको भ्रममा हुर्किन्छ, त्यसले विश्वासलाई अन्धकारमा धकेल्छ । विश्वासलाई जीवन्त बनाउन, त्यसलाई युगसँगै बग्न दिनुपर्छ। विश्वास समयको आयुसँग मेल खाँदै बदलिन सक्यो भने त्यसले समाजलाई पनि सिर्जनशील बनाउँछ। तर अहंको छोटो र खतरनाक आयुलाई नबुझी त्यसमा अड्किएको मानिस, समाज र राष्ट्र अवश्य दुर्घटनातिर जान्छ । अन्ततः, विश्वास र अहंबीचको सम्बन्ध बुझ्नु नै जीवन बुझ्नु हो। विश्वास दीर्घकालीन ऊर्जा हुन सक्छ, तर अहं क्षणिक छ। त्यसैले स्थायीत्वको भ्रम तोडेर, अस्थिर अस्तित्वको यथार्थ स्वीकार गर्न सके मात्र पीडाबाट मुक्ति सम्भव हुन्छ । राजनीति र अस्थायी विश्वासको यो खेल अझ भिन्न छ ।राजनीति भन्नासाथ हामी प्रायः चरित्र खोज्छौँ। तर विडम्बना के छ भने, राजनीति धेरैपटक त्यस्तो चरित्रमै आधारित हुन्छ । वास्तवमा कुनै चरित्र हुँदैन। त्यसैले राजनीतिज्ञले सबैभन्दा पहिले सिक्नुपर्ने कुरा के हुन्छ भने विश्वास लाग्ने तरिकाले झूट बोल्ने कला । जब कसैले त्यसलाई अभ्यासमा उतार्छ । उसलाई पत्याउने भीड आफैं जम्मा हुन्छ। यही हो राजनीति र भीड र मनोविज्ञानको सबैभन्दा खतरनाक सूत्र । हजारौं पटक हजारौं जनाले एकै बोली बोल्दा त्यो साँचोरुपमा मान्छेको मनमा बसाल्न सकिन्छ भन्ने प्राविधिक कुरा उच्चस्तरीय नेतृत्व हुने सबैलाई थाहा छ ।

मानिसलाई हरेक कुरा स्थायी जस्तो लाग्छ। नेता आएपछि, भाषण सुनेपछि, वाचा पाएपछि, उनीहरूले दिएको विश्वास सधैं कायम रहन्छ भन्ने भ्रम हुन्छ। तर वास्तविकता सधैं फरक रह्यो ।विश्वासको पनि आयु हुन्छ । राजनीतिमा विश्वास जन्मिन्छ, बाँच्छ, र कहिलेकाहीँ एकै क्षणमा मर्छ पनि । राजनीतिक विश्वास प्रायः अघिल्लो धारणामा टेकेको हुन्छ । भीडले यथार्थभन्दा बढी के सुन्न चाहन्छ भन्ने कुरामा भरोसा गर्छ । त्यही चाहना राजनीतिक झूटको उर्वर भूमि बन्छ। हरेक दृश्यमा, हरेक नीतिमा, अघिल्लो धारणा गौरव, मिथ, वा खोक्रो राष्ट्रियता पहिल्यै रोपिएको हुन्छ । यसैले राजनीतिज्ञलाई सत्यभन्दा झूट सजिलो लाग्छ किनभने त्यो झूटलाई विश्वास गर्ने मानसिक आधार पहिले नै तयार छ। आज पनि पुराना सिद्धान्त मै टेक्नेहरूले यसको खण्डन गर्न सक्दैनन् बरू नवीन तर्क दिएर अलमल पार्छन् सर्वसाधारणलाई । यसरी अन्ध–विश्वासले राजनीतिक बल पाउँछ, तर त्यो विश्वास दीर्घकालीन हुँदैन। किनभने यसको आधार अहंमा हुन्छ। अहं भनेको सबैभन्दा छोटो आयु बोकेको शक्ति हो । एकै क्षणमा चुलिन्छ, अर्को क्षणमा भत्किन्छ। राजनीतिमा अहं चढेर बोलिएका शब्दहरू, गर्व गरेर बनाइएका संरचना वा आक्रोशले खडा गरिएका आन्दोलनहरू एकैपटक स्खलित हुन सक्छन् । इतिहासले पटकपटक देखाएको छ ।

अहंमा हुर्केका साम्राज्यहरू, दलहरू, र नेताहरूको पतन क्षणभरमा भएको हुन्छ । आफ्नो अहंलाई स्थापित गर्न सबैभन्दा चर्को मुल्य चुकाइरहेको स्पष्ट देख्न सकिन्छ आजको दिनमा । समाजमा दुर्घटना बढ्नुको कारण यही हो । विश्वासलाई अस्थायी होइन स्थायी ठानेर त्यसैमा चिप्लिनु । अनि अहंलाई अमर ठानेर त्यसैमा टेकिनु ,टिक्न खोज्नु । जब विश्वासलाई समयसँगै बदल्ने आँखा हुँदैन, र अहंलाई क्षणिक भन्न सक्ने साहस हुँदैन, राजनीति केवल झुटहरूको उत्पादक मात्र हुन्छ। नत्र भने कुन चाहिँ दल र व्यवस्थामा थिए नराम्रा कुरा ? किन देशले एउटा गतिलो बाटो लिन सकेन ? त्यसैले राजनीति शुद्ध बन्ने हो भने विश्वासलाई अस्थायीको दृष्टिले हेर्नुपर्छ । विश्वासलाई पनि युगसँगै रुपान्तरण गर्नुपर्छ। अनि अहंलाई एक क्षणिक तर खतरनाक आवेगको रूपमा नियन्त्रण गर्नुपर्छ । राजनीति तब मात्र जनताको मुक्ति हुनेछ जब यसमा विश्वासको अनुहार यथार्थसँग जोडिन्छ र अहंको आयु बुझिन्छ। नभए राजनीति सधैं त्यही रहन्छ कुनै चरित्र नभएको चरित्र जसलाई पत्याउने भीड फेरि फेरि जम्मा हुन्छ । भ्रमको यो खेल विभिन्न अनुहार र बहानामा भिन्न भिन्न खेलमैदानमा देख्न सकिन्छ । भुगोल , अनुहार र समय फरक होला असफल राजनीतिका आधारभूत अभ्यास यिनै हुन् । तर पनि जनतासँग विश्वास गर्न पर्याप्त विश्वासहरू आज पनि छैनन् । अँध्यारोमा ढुङ्गा हाने जस्तो भएको छ मतदान । यो त राम्रो भनेर छान्ने विश्वास नै भरपर्दो छैन । खाली एउटा तुलना छ त्यो भन्दा यो राम्रो भन्ने । नेपालीपनको साझा र चित्तबुझ्दो दीर्घकालीन योजना कसैसँग नदेखिनु नेपाली राजनीतिको दुर्भाग्य हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार