सम्पादकीयः निर्धारित समयमै निर्वाचन



गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि नेपालको राजनीतिक अवस्था परिवर्तन भएको दृश्य देखिन्छ । तत्पश्चात्को नेपाली राजनीतिले आम नेपालीलाई आशा गर्नसक्ने ठाउँमा देशलाई पु¥याउँछ भन्ने देखिएको छ । लामो समयदेखि नेपालमा भइरहेको संगठित तथा संस्थागत भ्रष्टाचार, कुशासन लगायतविरुद्धको जेनजी आन्दोलनले देशमा राजनैतिक परिवर्तनको सम्भावना देखाएको छ । वर्षौँदेखि परम्परागत राजनीतिदेखि वाक्कदिक्क भएका नेपाली नागरिकले अब भने देशमा परिवर्तन हुने आशा गरेका छन् । पुराना राजनैतिक दलका विरुद्ध यतिखेर नयाँशक्तिहरू गोलबन्द भएर एकैठाउँमा आएका छन् । नयाँशक्तिबाट केही परिवर्तन हुन्छ कि भन्ने आशामा आम नागरिक रहेका देखिन्छन् । निर्वाचन आयोगले सरकारले तोकेको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नका लागि विभिन्न चरणका कार्यक्रमहरू गरिरहेको छ । राजनैतिक दलहरू पनि निर्वाचनमा भाग लिनका लागि कस्सिएका देखिन्छन् । देश निर्वाचनमय अवस्थामा पुगेको देखिन्छ । र यो अहिलेको आवश्यकता पनि हो । जेनजी आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारले निर्धारित गरेको समयमै निर्वाचन गरि जनताले दिएको म्यान्डेटअनुसार नयाँ सरकार बनाएर आफ्नो जिम्मेवारी र कार्यभार बहन गर्न आवश्यक छ ।

निर्वाचन आयोगले विभिन्न चरणमा निर्वाचनसम्बन्धी कार्यहरू गरिरहँदा पनि यदाकदा भने समयमै निर्वाचन नहोला कि भन्ने आशंकाहरू उत्पन्न भइरहेका पाइन्छन् । अझै पनि चिया चौताराहरूमा निर्धारित समयमै निर्वाचन हुन्छ कि हुन्न भन्ने आशय व्यक्त भइरहेका पाइन्छन् । सरकारले तोकेको मिति र समयमै प्रतिनिधिसभाको निर्वाचन गरेर ती आशंकाहरूलाई चिर्न जरुरी छ । देशमा स्थिरता हुन नदिनका लागि स्वदेशी तथा विदेशी बाह्य शक्तिहरू लाग्दै गरेका परिदृश्यहरू विगतदेखि नै देखिने गरेका प्रशस्त उदाहरणहरू पाइन्छ । धमिलो पानीमा माछा मार्ने तथा आफ्ना विभिन्न उद्देश्यहरू पूरा गर्न र देशमा अस्थिरता फैलाइरहने तत्वहरूका विरुद्ध समयमै निर्वाचन गरेर नयाँ जनादेशसहितको सरकार गठन गर्नुनै अहिलेको सरकारको प्रमुख कार्य हो । निर्वाचन प्रयोजनका लागि दलहरू निर्वाचन आयोगमा दर्ता हुने तथा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको सूची तयार पार्न दलहरू यतिखेर व्यस्त देखिन्छन् । सम्पूर्ण राजनैतिक दल र शक्तिहरूलाई लिएर मात्र निर्वाचन सम्भव हुन्छ । तसर्थः सम्पूर्ण राजनैतिक दल र शक्तिहरूलाई सरकारले विश्वासमा लिन जरुरी छ । सरकारले आम नागरिकले निर्धक्क भएर निर्वाचनमा भाग लिन पाउने र सक्ने वातावरण तयार गर्न आवश्यक छ ।

निर्वाचनमा मुख्यतया सुरक्षाको प्रश्न महत्वपूर्ण भएर आउने गर्दछ । यदि सुरक्षा व्यवस्था राम्रो हुन सकेन भने त्यहाँ सही तरिकाले निर्वाचन हुन सक्दैन । आम नागरिकले स्वतन्त्रतापूर्वक आफ्नो गोप्य मतदान गर्नसक्ने अवस्था हुँदैन र देखिँदैन । यसकारण सर्वप्रथम सुरक्षा व्यवस्थालाई मजबुद बनाएर निष्पक्ष तरिकाले निर्वाचन गराउनका लागि सरकारले पहल गर्नुपर्दछ । निर्धारित समयमै निर्वाचन हुन सकेन भने देश थप अन्यौलतामा जाने निश्चित छ । सरकारको समपूर्ण शक्ति निर्धारित समयमै निर्वाचन गराउन केन्द्रित हुन आवश्यक छ । देशलाई अस्थिर, तरलता तथा अनिश्चितताबाट जोगाउने मुख्य बाटो भनेकै निर्वाचन हो । हुनसक्ने सुरक्षा चुनौतीको विश्लेषण गरेर संवेदनशील तथा अतिसंवेदनशील स्थानहरूको पहिचान गरि त्यहाँका समस्याहरूको पहिचान गरि समाधानका लागि योजना बनाउन जरुरी छ । आम नागरिक तथा राजनैतिक दलको साथ मात्रै भएर पनि निष्पक्ष निर्वाचन गराउन मुस्किल पर्दछ । सम्पूर्ण नागरिक र राजनैतिक दलहरूलाई सुरक्षित भएको महसुस गराएर मात्र निर्वाचन हुन सके त्यसले मात्रै सही निकास दिन सक्दछ । निर्वाचन मिति फागुन २१ आउनका लागि करिब दुई महिनाको मात्रै समय भएका कारण निर्वाचनसम्बन्धी कार्यहरू द्रुत गतिमा सम्पन्न गर्दै मतदाता शिक्षा कार्यक्रमहरू गर्न आवश्यक छ । आम नागरिकलाई भय, डर, त्रासबाट मुक्त गराउँदै निष्पक्ष निर्वाचनको वातावरण तयार पारेर निर्धारित मिति र समयमै निर्वाचन गराउनु अहिलेको आवश्यकता हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार