कोहलपुर (बाँके) ।
बाँकेमा विगत दुईसातादेखि बाक्लो हुस्सु लाग्दा घाम देखिएको छैन । घाम नलागेपछि यहाँका सर्वसाधारण जाडोले थुरथुर बनेका छन् । ह्वात्तै जाडो बढेपछि दैनिक ज्यालादारी गरेर छाक टार्ने विपन्न परिवारको जीवन कष्टकर बनेको छ । उसो त, बाँके जिल्ला गर्मीमा अत्यधिक गर्मी हुने, लू चल्ने र जाडो मौसममा शीतलहर चलेर अत्यधिक चिसो हुने जिल्लामा पर्दछ ।
जिल्लाका प्रमुख सहरी क्षेत्र नेपालगन्ज र कोहलपुर लगायतका क्षेत्रमा अत्यधिक चिसो छ । जिल्लामा शीतलहरबाट सबैभन्दा बढी प्रभाव सहरीभन्दा ग्रामीण क्षेत्रका बासिन्दालाई पर्ने देखिएको छ । शीतलहरबाट सबैभन्दा बढी प्रभावित हुने पालिकाहरूमा नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र बैजनाथ गाउँपालिका रहेका छन् । यस्तै नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकामा अन्य पालिकाभन्दा कम प्रभावित हुने स्थानीय तहका रूपमा पर्दछन् ।
बाँकेमा चिसो अत्यधिक बढेसँगै ‘शीतलहर आकस्मिक योजना’ लागू गरिएको छ । शीतलहरबाट सर्वसाधारणलाई जोगाउन यस्तो योजना लागू गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार जोखिममा पर्नसक्ने विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, सुत्केरी पहिचान गरी उनीहरूलाई सघाउने योजना रहेको छ । यसवर्ष बाँकेमा एक लाख ८० हजार सर्वसाधारण शीतलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ ।
अत्यधिक चिसोको जोखिममा पर्नसक्ने विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, सुत्केरी पहिचान गरी उनीहरूलाई सघाउने निर्णय गर्दै ‘शीतलहर आकस्मिक योजना’ लागू गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए । शीतलहरले जिल्लाको जनजीवन कष्टकर बन्नुका साथै सर्वसाधरणको दैनिकी प्रभावित भएको छ । रातदिन बाक्लो हुस्सुले कठ्याङ्ग्रिने गरी जाडो बढेको छ ।
शीतलहरले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य छन् । सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थित पातलिएको छ । हिडँडुल गर्ने संख्या कम देखिन थालेका छन् । चोकचोकमा सर्वसाधारणले आगो बाल्दै तापेर राहत महसुस गर्ने गरेका छन् । घरमा पनि आगो र हिटर बालेर बस्ने बढेका छन् । मुटु छुने चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित बनेका छन् ।
चोकचोकमा दाउरा वितरण
हुस्सु र शीतलहरले जनजीवन कष्टकर बन्दै जान थालेपछि जिल्लाका स्थानीय सरकारले पूर्वतयारी गरिरहेका छन् । चोकचोक दाउरा वितरणदेखि सचेतना फैलाउने काम स्थानीय सरकारले गरिरहेका छन् । चिसो बढ्दै गएपछि जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाले विभिन्न चोकमा दाउरा वितरण गरेको छ । चिसो बढन थालेपछि नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध गरिएको छ ।
शीतलहर सुरु भएसँगै सार्वजनिक स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था गरिएको नेपालगन्ज उपमहानगरका विपद् सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठले बताए । उनका अनुसार नेपालगन्जका केही वडाले आगो ताप्नका लागि आफैँ दाउरा खरिद गरेका छन् । केही वडामा पालिकास्तरबाट पनि दाउरा वितरण गरिएको उनले जानकारी दिए । कोहलपुर नगरपालिकाले समेत नगरका मुख्य चोकमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाएको छ ।
कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले दाउरा वितरण गरेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाइएको जानकारी दिए । जिल्लाको जानकी गाउँपालिकाले पालिकामा शीतलहर बढ्न थालेपछि गाउँपालिकाका विभिन्न स्थानमा दाउरा वितरण गर्ने तयारी थालेको छ । गाउँपालिकाको बैठक बसेर दाउरा वितरणको तयारी थालिएको हो । दाउरा वितरणको लागि खरिद प्रक्रिया चलिरहेको गाउँपालिकाकी सूचना अधिकारी शोभा पौडेलले बताइन् । उनका अनुसार गाउँपालिकामा पहिलोपटक चार चट्टा दाउरा खरिद गर्ने निर्णय भएको छ ।
‘गाउँपालिकाको टिमले दाउरा हेरेर पनि आइसकेको छ । दुई ट्रक दाउरा ल्याउँछौँ । त्यसपछि पालिकाका विभिन्न स्थानमा वितरण हुन्छ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भनिन् । जिल्लाको खजुरा गाउँपालिकाले शीतलहर बढेको भन्दै सचेत रहन सार्वजनिक अपिल गरेको छ । शीतलहरसम्बन्धी सचेत रहन अपिल जारी गर्दै गाउँपालिकाले प्रत्येक वर्षको पुस र माघ महिनामा शीलतहरका कारण जनजीवन प्रभावित हुने भएकोले गाउँपालिकावासीलाई सचेत रहन आग्रह गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलद्वारा जारी अपिलमा चिसोको समयमा न्यानो कपडाको प्रयोग गर्न, खानेकुरामा सावधानी अपनाउन, अनावश्यक बाहिर ननिस्कन, सुरक्षित रहन अपिल गरिएको छ । यसैगरी चिसोको समयमा सम्पत्तिको संरक्षण गर्न, सडकमा सावधानी अपनाउन, लक्षित वर्गको संरक्षण गर्न, चिसोबाट हुने स्वास्थ्य समस्याबारे सचेत रहन आपसी सहयोगमा ध्यान दिन आग्रह गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले सार्वजनिक अपिल जारी गरिएको र चिसोबाट नागरिकहरूलाई बचाउनका लागि प्रत्येक वडा कार्यालयमा सेवा लिन आउने नागरिकको सहजताका लागि आगो बाल्ने प्रबन्ध गरिएको बताए । शीतलहरबाट नागरिकमा हुन सक्ने समस्या समाधानका लागि विपद् व्यवस्थापन शाखालाई सक्रिय बनाइएको उनको भनाइ छ ।
‘चिसोको समयमा आत्मसुरक्षा महत्वपूर्ण कुरा हो । पालिकाले अपिलसमेत जारी गरेको छ । नागरिकको सुविधाका लागि स्थानीय सरकारले गर्नुपर्ने काम गर्न हामी तयार छौँ,’ उनले भने । उनले पहिलो चरणमा वडा कार्यालय, स्वास्थ्य सेवा केन्द्र, मन्दिर, कुटी, नागरिकहरूको धेरै जमघट हुने स्थानहरूमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइने बताए । चिसो धेरै भएकोले सम्पूर्ण नागरिकलाई सचेत रहनसमेत उनले आग्रह गरे ।
यसैगरी डुडुवा गाउँपालिकाले समेत शीतलहरबाट बच्न दाउरा वितरणको तयारी गरेको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले यसबारे तयारी गरिरहेको बताए । उनका अनुसार गाउँपालिकाका विभिन्न स्थानमा दाउरा वितरणको तयारी भइरहेको छ । ‘चिसो अलि धेरै बढेको छ । सर्वप्रथम नागरिकहरूलाई सचेत रहन आग्रह गर्दछौँ । पालिकाको तर्फबाट हुने सहयोग गर्न हामी तयार छौँ,’ उनले भने ।
जिल्लाको राप्ती सोनारी गाउँपालिकाले चिसोलाई मध्यनजर गरेर वृद्धवृद्धा, बालबालिका र विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरेको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरव लामिछानेले राप्ती सोनारीमा शीतलहरको समयमा दाउरा वितरण गर्नु नपर्ने बताए । उनका अनुसार चिसोलाई मध्यनजर गरेर सुरक्षित रहन अपिल गरिएको छ । ‘चिसो बढ्दै गएको छ । राप्ती सोनारीमा दाउरा नै वितरण गर्ने अवस्था छैन । जंगल क्षेत्र धेरै भएकोले नागरिकले आगोको लागि आफैँले प्रबन्ध गर्न सक्छन् । सम्पूर्ण नागरिकलाई सचेत रहन आग्रह गर्दछु,’ उनले भने ।
बैजनाथ गाउँपालिकाका प्रशासकीय अधिकृत तप्तराज आचार्यले गाउँपालिकाले पूर्वतयारी बैठक बस्ने तयारी गरिरहेको बताए । उनका अनुसार शीतलहरको समयमा के के काम गर्न सकिन्छ भनेर बैठकको तयारी भएको छ । बैठक बसेर के–के काम गर्न सकिन्छ निर्णय गरेर अघि बढने उनको भनाइ छ ।
नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले शीतलहरबाट नागरिकलाई जोगाउने पूर्वतयारी गरिरहेको बताए । उनका अनुसार विपद् व्यवस्थापन समितिको बैठकको तयारी भइरहेको छ । बैठकको निर्णयअनुसार अघि बढ्ने उनले बताए । विद्यालय बन्ददेखि चोकचोकमा दाउरा बाँड्ने तयारी गरिरहेको उनले बताए । यस्तै कोहलपुर नगरपालिकाले समेत शीतलहरको पूर्वतयारी थालेको छ । बाँके जिल्ला गर्मीमा अत्यधिक गर्मी हुने, लू चल्ने तथा जाडो मौसममा शीतलहर चलेर अत्यधिक जाडो हुने जिल्लामा पर्छ ।









प्रतिक्रिया दिनुहोस्