नेपाल सरकारले पहिलो पटक राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय गरेर इतिहासमै पहिलो पटक मंगलबार राष्ट्रिय च्याउ दिवस मनाएको छ । गुणस्तरीय च्याउ उत्पादन र प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा समेत टेवा पु¥याउने उद्देश्यले हरेक वर्ष पुुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने सरकारले निर्णय बरेबमोजिम पहिलो पटक राष्ट्रिय च्याउ दिवस मनाउन सुरु गरेको छ । सरकारले २०८२ पुस ११ गते गरेको निर्णयबमोजिम नेपालमा पहिलो पटक राष्ट्रिय च्याउ दिवस मनाउन सुरु गरिएको हो । च्याउ खेती गर्ने किसानहरूलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रमहरू गर्न जरुरी छ । पहिलो कुरा त राष्ट्रिय च्याउ दिवसका बारेमा सम्पूर्ण नागरिक तथा किसानहरूलाई जानकारी गराउन आवश्यक छ । च्याउका बारेमा विभिन्न जानकारीमूलक कार्यक्रमहरूसहित यस दिवसको महत्व, उपलब्धि तथा उद्देश्यका बारेमा सचेत बनाउन आवश्यक देखिन्छ । सरकारले राष्ट्रिय च्याउ दिवस मनाउन सुरु गर्नु आफैँमा सकारात्मक पक्ष हो । च्याउ खेती गर्ने किसानहरूलाई आवश्यक सीप, ज्ञान, बीउ, मल, तालिम, तथा उत्पादित च्याउलाई बजारीकरण गर्नेदेखि लिएर बाहिरबाट आउने च्याउलाई निरुत्साहित गर्दै आम च्याउ खेती गर्ने किसानहरूलाई यस पेशामा टिकाइराख्न, आयआर्जनमा वृद्धि गर्न तथा प्रोत्साहन गरी उत्पादन बढाउनका लागि सहयोग पु¥याउन आवश्यक छ ।
कृषि ग्राहस्थ उत्पादन (एजीडिपी)मा ० दशमलव १५ प्रतिशत च्याउ खेतीको योगदान रहेको सरकारी तथ्यांक छ । देशका करिब ३५ हजार किसान यस खेतीमा प्रत्यक्ष संलग्न रहेको च्याउ उपक्षेत्र साना तथा मझौला कृषकहरूको आयआर्जनको माध्यमको रूपमा रहेको तथ्यांकमा उल्लेख छ । नेपालमा ११५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खान योग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १०० प्रजाति विषालु रहेको विभिन्न अध्ययले देखाएको बताइएको छ । नेपालमा च्याउका प्रकार तथा अविषालु र विषालुका बारेमा जानकारी नहुँदा हरेक वर्ष दर्जनौँ नागरिकले ज्यान गुमाउने र सयौँ नागरिकहरू बिरामी हुने गरेका छन् । च्याउको सेवनबाट यसरी हरेक वर्ष नागरिकले ज्यान गुमाउनु दुःखद हो । सरकार तथा सम्बन्धित सरोकारवालाले च्याउका प्रकार तथा अविषालु र विषालु च्याउबारे हरेक नागरिकसम्म सचेतना तथा जानकारी पु¥याउन आवश्यक छ । राष्ट्रिय च्याउ दिवस मनाउन सुरु गरिरहँदा च्याउका विशेषताका बारेमा हरेक नागरिकलाई सचेतता गराउन अत्यन्तै आवश्यक देखिन्छ । च्याउ उत्पादन, पर्वद्धन तथा व्यावसायीकरण गर्नका लागि सरकारले प्राथमिकताका साथ राख्न जरुरी छ । च्याउ प्रविधि विस्तार, बजारीकरण प्रवद्र्धन तथा नीतिगत सहजीकरणमार्फत मूल्य श्रृंखला विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरी अनुसन्धान एवम् गुणस्तरीय बीउ आपूर्तिका लागि पनि कार्य गर्न आवश्यक छ ।
सरकारले भनेजस्तै च्याउ मूल्य श्रृंखलामा आबद्ध उद्योगी, किसान, अनुसन्धानकर्ता र व्यवसायीहरूबीच सहकार्य र साझेदारी बढाई दीर्घकालीन व्यावसायिक सम्बन्धलाई बलियो बनाउने, च्याउको पोषण र आर्थिक महत्वबारे सचेतना अभिवृद्धि गर्ने, किसानहरूलाई नयाँ प्रविधि र बजारका अवसरहरूमा जोड्ने तथा आगामी दिनहरूमा मार्गदर्शन गर्नसके मात्रै राष्ट्रिय च्याउ दिवसले सार्थकता पाउने देखिन्छ । च्याउ उत्पादन गर्ने किसानदेखि उपभोक्तासम्म आइपुग्दा बीचमा हुने बिचौलियाको चलखेलका कारण हुने मूल्य वृद्धिलाई पनि मध्यनजर गरि सही मूल्य निर्धारण गर्न पनि आवश्यक देखिन्छ । च्याउ उत्पादन गर्ने किसानसँग कम मूल्यमा च्याउ लिने, च्याउ व्यसायीहरूलाई महंगो मूल्यमा बिक्री गर्ने गर्दा उपभोक्तासम्म आइपुग्दा च्याउको मूल्य महंगो हुने गरेको पाइन्छ । जसका कारण च्याउ खेती गर्ने किसान पनि मर्कामा पर्ने र उपभोक्ता पनि मर्कामा पर्दै आएको पाइन्छ । च्याउको गुणस्तर तथा मूल्य समायोजन लगायतका विषयमा पनि अनुगमन हुन जरुरी देखिन्छ । राष्ट्रिय च्याउ दिवस मनाउँदै गर्दा च्याउ खेती गर्ने किसानहरूलाई पनि प्रोत्साहन गर्न आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्