श्यामलाल पोखरेल । बुटवल ।
नेपाल पत्रकार महासंघको आयोजनामा बुटवलमा ‘सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धानबारे छलफल गरिएको छ । रुपन्देही उद्योग संघले गत पुस ३ गतेदेखि सञ्चालन गरेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि र पर्यटन महोत्सवमा पत्रकार महासंघले फोटो प्रदर्शन गरेको हो। प्रदर्शनीस्थल बुटवल मण्डपमा नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदर्शन गरेका फोटाबारे छलफल गरिएको हो ।
पत्रकारितामा फोटो पत्रकारिताको विधा आफैँमा जटिल भए पनि फोटाको महत्व बेग्लै र महत्वपूर्ण हुने सञ्चारकर्मीहरूले बताएका छन् ।कार्यक्रममा सहभागिहरूले फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउन सुझाव दिँदै फोटो पत्रकारिता, सञ्चार इतिहास, प्रविधि, पर्यटन, उद्योग र संस्थागत सहकार्यका विषयमा केन्द्रित कार्यक्रमले फोटोको ऐतिहासिक, व्यावसायिक र भावनात्मक शक्तिलाई उजागर गरेको बताए ।
फोटो पत्रकारिता र सञ्चार सामग्रीलाई डिजिटल, संस्थागत र बहुपक्षीय सहकार्यमार्फत संरक्षण र प्रवद्र्धन गर्नुपर्ने निष्कर्ष निकालिएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले फोटो र सञ्चार सामग्री जीवित इतिहास भएको बताउँदै पत्रकारितामा फोटाले सकारात्मक सन्देश दिने बताए ।
रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले पत्रकार महासंघसँगको संस्थागत सहकार्यलाई आगमी दिनमा पनि बलियो बनाउने प्रतिबद्धता जनाए । उनले पत्रकारितामा जोडिएको फोटाले स्मृति, भावना र कथा बोक्ने गरेको उल्लेख गर्दै भने, ‘पत्रकारितामा फोटो आफैँ बोलेको हुन्छ, जसले पत्रकारितालाई राम्रो देखाउने गर्दछ ।’ पत्रकारितामा नयाँ प्रविधि प्रयोग गरेर नयाँ पुस्तालाई जोड्नुका साथै पर्यटन र उद्योगसँग पनि जोड्न सकिने उनले बताए ।
रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले फोटो प्रदर्शनीले स्थानीय उत्पादन, पर्यटन र पहिचान प्रवद्र्धनमा सहयोग पुराउने बताउँदै पत्रकार महासंघले गर्ने यस्ता रचनात्मक कार्यक्रमसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए । बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष बसन्त ढकालले पत्रकार महासंघले प्रदर्शन गरेका फोटाहरूले अध्ययन अनुसन्धानका लागि सहयोग पुराएको बताउँदै भने, ‘ठूलो इतिहास बोकेका यी फोटाहरूले नयाँ पुस्ताका लागि अनुसन्धानको बाटो खुलेको छ ।’
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईंले छापा सञ्चारमाध्यमका लागि फोटाले दस्ताबेजको रुपमा इतिहास कायम गरेको बताउँदै फोटो र समाचार इतिहासका साक्षी भएको बताए । फोटोले समय, घटना र समाजलाई जीवन्त बनाएको बताउँदै उनले फोटो केवल दृश्य मात्र नभएर इतिहास पनि भएको उल्लेख गरे ।
महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डिआर घिमिरेले फोटो पत्रकारिता पत्रकारिताको जीवन्त रूप भएको र नयाँ प्रविधिले फोटो संकलन, संरक्षण र प्रस्तुतीकरणलाई सहज बनाएको बताए । पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष आरपी आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई, भरत केसी, मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपाल, महासंघका उपाध्यक्ष विश्वास ढकाल, विजय हितानलगायतले पत्रकारितामा प्रयोग हुने फोटाले वास्तविकता झल्काउने भएको उल्लेख गर्दै पत्रकारितामा फोटा आफैँ बोल्ने बताए ।
महासंघले प्रदर्शन गरेका फोटाहरू पत्रकारितामा प्रयोग भएका पुराना सञ्चारसामग्रीका साथै पुराना इतिहास बोकेका भूगोलका फोटाहरू राखिएको छ । त्यस्तै रुपन्देहीबाट प्रकाशन भएका पत्रिकाका पहिला अंकहरू र देशका पुराना पत्रिकाहरूका अंकहरू प्रदर्शनीको स्टलमा राखिएको छ । जुन फोटाहरू दैनिक रुपमा सयौँ जनाले अवलोकन गर्ने गरेका छन् । प्रदर्शनीमा राखिएका फोटाहरूको बिक्रीबाट संकलित रकम फोटा पत्रकारिता पुरस्कारका लागि कोष स्थापना गर्ने नेपाल पत्रकार महासंघ रुपन्देहीले जनाएको छ ।
यही पुस १७ गतेसम्म चल्ने राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि र पर्यटन महोत्सवमा अवलोकन गर्ने दर्शककको उल्लेखनीय सहभागिता रहेको रुपन्देही उद्योग संघले जनाएको छ । प्रदर्शनीबाट लक्ष्य प्राप्ति हुने संघका कार्यकारी प्रमुख यादव भण्डारीले बताए । पुस ३ गतेदेखि जारी प्रदर्शनीमा १० लाखले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने लक्ष्यसहित प्रदर्शनी आयोजना गरिएको हो । उक्त लक्ष्य पूरा हुने आयोजकहरूले जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्