समुन्नत रत्ननगरकी रोलमोडल सविता



मूलतः यो सम्मान तीनै तहका सरकारमा कार्यरत कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने, इमान्दार र अनुकरणीय कार्यशैली भएका कर्मचारीलाई प्रदान गरिन्छ । यसरी तीनै तहका सरकारमा कार्यरत कर्मचारीमध्ये वर्षभरिको सर्वोत्कृष्ट कर्मचारीलाई यो सम्मान प्रदान गरिन्छ । जसअनुसार २०८२ सालका लागि यो सम्मान सविता अर्याललाई प्रदान गरिएको छ । उहाँलाई सम्मानपत्र, दोसल्ला र रु २५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

कृष्णहरि बास्कोटा

नेपाल जनप्रशासन संघले २०८१ सालदेखि पान उत्कृष्ट राष्ट्रसेवक सम्मान प्रदान गर्दै आएको छ । प्रस्तुत सन्दर्भमा २०८२ पुस १२ गते संघको एक्काईसाँै राष्ट्रिय सम्मेलन तथा २६औँ साधारणसभामा २०८२ सालका लागि चितवनको रत्ननगर नगरपालिकामा वरिष्ठ शाखा अधिकृत (आठौँ तह) मा कार्यरत सूचना अधिकारी सविता अर्याललाई यो सम्मानपत्र हस्तान्तरण गरियो । अघिल्लो वर्ष यो सम्मान देवदह नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई प्रदान गरिएको थियो । प्रत्येक वर्ष प्रदान गर्ने गरी पान उत्कृष्ट राष्ट्रसेवक सम्मानको स्थापना संघका आजीवन सदस्य एवं पूर्वध्यक्ष अर्थात् यसै पंक्तिकारले रु १ लाख अक्षयकोषमा राखि आरम्भ गरेको हो । नेपाल सरकारले आव २०६९–०७० मा यस पंक्तिकारलाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार स्वरूप रू एक लाख रकम प्रदान गरेकोमा सोही रकमलाई बीउपूँजीका रूपमा अक्षयकोषमा राखि बहालवाल निजामती कर्मचारीमध्येबाट वर्षभरिको उत्कृष्ट निजामती कर्मचारीको चयन गरी सम्मानित गर्ने परम्पराको थालनी गरिएको हो । हाल यस कोषमा संघका पूर्वध्यक्ष एवं पूर्वमन्त्री विद्याधर मल्लिकले रु २५ हजार र संघले रु ७५ हजार योगदान गरी कोषको आकार रु २ लाख पुगेको छ । यसर्थ, हाललाई रु २५ हजार नगद पुरस्कार दिने परम्परासमेत बसालिएको छ । नेपाल जनप्रशासन संघले स्थापना गरेको यस सम्मानका लागि सार्वजनिक सेवा, नविन आविष्कारका क्षेत्रहरू र जनसरोकारका क्षेत्रहरूमा कुशल संस्थागत नेतृत्व प्रदान गरी उत्कृष्ट योगदान पु¥याएको व्यक्तिलाई सम्मान गर्ने आधार तय गरिएको छ ।

यसैगरी, सार्वजनिक प्रशासनको क्षेत्रमा संगठित सुशासनका लागि सदाचारमा रहि अनुभूतियोग्य वा उदाहरणीय कार्यसम्पादन गरी सार्वजनिक प्रशासन, व्यवस्थापन वा सुशासनका लागि उत्कृष्ट योगदान पु¥याएवापत यो सम्मान प्रदान गर्ने गरी संघले विशेष कार्यविधि जारी गरेको छ । यस कार्यविधि अनुसार सार्वजनिक सूचना प्रकाशित गरी उपयुक्त व्यक्तिको सिफारिस पठाउन सार्वजनिक आव्हान गरिन्छ । यसरी प्राप्त हुने सिफारिस समेतका आधारमा संघका वर्तमान र पूर्व अध्यक्षहरू सम्मिलित छनोट समितिले उपयुक्त पात्रको छनोट गर्ने कार्यविधिको व्यवस्था छ । जसअनुसार यसै पंत्तिकारको संयोजकत्वमा संघका अध्यक्ष मधुरमण आचार्य, संघका पूर्र्व अध्यक्षहरू विद्याधर मल्लिक, कृष्ण ज्ञवाली र डा. हिरामणि घिमिरे तथा संघका महासचिव डा. दिलिपराज पौडेल सम्मिलित छनोट समितिले गतवर्ष र यो वर्ष पान उत्कृष्ट राष्ट्रसेवक सम्मानको चयन गरेको हो । मूलतः यो सम्मान तीनै तहका सरकारमा कार्यरत कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने, इमान्दार र अनुकरणीय कार्यशैली भएका कर्मचारीलाई प्रदान गरिन्छ । यसरी तीनै तहका सरकारमा कार्यरत कर्मचारीमध्ये वर्षभरिको सर्वोत्कृष्ट कर्मचारीलाई यो सम्मान प्रदान गरिन्छ । जसअनुसार २०८२ सालका लागि यो सम्मान सविता अर्याललाई प्रदान गरिएको छ । उहाँलाई सम्मानपत्र, दोसल्ला र रु २५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

उहाँ रत्ननगर नगरपालिकाको वरिष्ठ शाखा अधिकृत (आठौँ तह) पदमा कार्यरत हुनुहुन्छ । उहाँ सो पालिकाको प्रशासन शाखा प्रमुख हुनुहुन्छ । उहाँको सामान्य नियन्त्रण, निर्देशन र समन्वयमा उक्त पालिकाको आन्तरिक प्रशासन चुस्त र दुरुस्त रहेको पाइएको छ । यसैगरी, रत्ननगर नगरपालिकाका नीति तथा कार्यक्रम र बजेट पनि तुलनात्मकरूपमा उत्कृष्ट पाइएको छ । यिनको उत्कृष्टताका लागि सविता अर्याल नै नगरपालिकाको योजना प्रमुख भै निर्वाह गरेको भूमिकालाई विर्सन मिल्दैन । उहाँ सो पालिकाको सूचना अधिकारी पनि हो । उहाँले करिब साढे तीनवर्षदेखि सूचना अधिकारीको भूमिका निर्वाह गर्दै आउनु भएको छ । यस अवधिमा सूचनाको हकसम्बन्धी ९२ वटा निवेदन दर्ता भएकोमा सबैलाई सूचना प्रवाह गर्नु भएको छ । सूचनाको हकसम्बन्धी कानुनी व्यवस्था अनुसार उहाँले ३–३ महिनामा स्वतः प्रकाशन जारी गरी अनुकरणीय कार्य गर्नु भएको छ । सविता अर्यालको क्रियाशिलताका कारण उक्त पालिकाको वेभसाइट पनि चुस्त र दुरुस्त रहेको छ । २०७६ सालमा संघीय लोक सेवा आयोगको परीक्षामा शाखा अधिकृत उत्तिर्ण भै सिन्धुलीको दुधौली नगरपालिकामा काम गरी हाल उहाँ रत्ननगर नगरपालिकामा सरुवा भै आउनु भएको छ । रत्ननगर नगरपालिकाभित्र १६ वटा वडा रहेका छन् । ती वडा कार्यालयहरूको सामान्य रेखदेखको जिम्मेवारी पनि सविताकै काँधमा छ । यस पालिकाभित्र प्रशासन तथा योजना (वडा कार्यालय), आर्थिक प्रशासन तथा राजस्व शाखा, पूर्वाधार विकास शाखा, शिक्षा, युवा तथा खेलकुद शाखा, स्वास्थ्य शाखा, सामाजिक विकास शाखा, आर्थिक विकास शाखा, आन्तरिक लेखापरीक्षण शाखा, वन, वातावरण, विपद् तथा सरसफाई शाखा, न्याय, कानुन तथा मानव अधिकार प्रवद्र्धन शाखा, सूचना तथा सूचना प्रविधि शाखा लगायत २० वटा विषयगत शाखाहरू छन् ।

यिनीहरूको समन्वय र व्यवस्थापन पनि सविताले नै कुशलतापूर्वक गर्दै आउनुभएको छ । पालिकाका निर्वाचित जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासका लागि सविताको प्रयास सह्रानीय पाएको छु । यसै पंक्तिकारले पनि पटक–पटक सो पालिकामा प्रशिक्षण सञ्चालन गरेको छ । यी सबै कार्यमा सविताले प्रदर्शन गरेको अग्रसरता, कामप्रतिको निष्ठा, परिवर्तनउन्मुख सोच र समूह गतिशिलतामा निजले प्रदर्शन गरेको उत्कृष्ट कार्यशैली समेतका आधारमा उहाँ नेपाल जनप्रशासन संघले प्रदान गर्ने उत्कृष्ट राष्ट्रसेवक सम्मानका लागि यो वर्ष छनोट हुनुभएको हो ।
रत्ननगर नगरपालिकाका वरिष्ठ अधिकृत नेपाल जनप्रशासन संघको उत्कृष्ट कर्मचारी छनोटमा पर्दा सो पालिकाको कार्य गुणस्तरका विषयमा जिज्ञासा पैदा हुनु स्वभाविक छ । यस पंक्तिकारले सो पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई तालिम सञ्चालन गर्दा केही सूचना प्राप्त गरेको छ । जस्को आधारमा तत् पालिकाका असल अभ्यासमाथि चर्चा गर्दैछु । सो पालिकामा प्रलाद सापकोटा नगर प्रमुख हुनुहुन्छ । सकारात्मक सोचका धनी, केही गरौँ भन्ने उत्साही युवा नगर प्रमुखले यस पालिकालाई नमूना पालिकाको पंक्तिमा उभ्याउन हरेक प्रयास गरिरहेको पाएको छु । जस्को कारण आव २०८०–०८१ मा स्थानीय तह क्षमता स्वमूल्यांकन (लिजा) मा रत्ननगर नगरपालिका नेपालकै तेस्रो उत्कृष्ट अंक हासिल गर्ने नगरपालिकाको रूपमा सम्मानित हुन सफल भएको छ ।

यसैगरी, नेपाल नगरपालिका संघबाट फोहरमैला व्यवस्थापनमा उत्कृष्ट कार्य गरेवापत यस पालिकाले पाँच हजार अमेरिकन डलर पुरस्कृत प्राप्त गर्न सफलता हासिल गरेको छ । यसमा नगरप्रमुखलाई अन्य जनप्रतिनिधि र कर्मचारीका साथै सविताको बलियो ब्याकअप सहयोग रहेको महसुस गरिएको छ । पूर्वी चितवनको मुख्य क्षेत्रमा अवस्थित रत्ननगर नगरपालिका ६८.६७ वर्ग किलोमिटर क्षेत्रफलमा समथर भू–भागमा रहेको नगरपालिका हो । नेपालकै तेस्रो पर्यटकीय नगरी सौराहासँगै चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार रहेको यस क्षेत्र नेपालमा मात्र नभई विश्वभर प्राकृतिक सम्पदा र वन्यजन्तुको लागि परिचित रहेको छ । यस नगरपालिकाले नगरको विकास, समृद्धि, कृषि, पर्यटन, पूर्वाधार निर्माणका क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । यसका लागि त्यस पालिकाका अनुभवी नेता एवं नगर उपप्रमुख यादवप्रसाद पाठकको समन्वयकारी भूमिकालाई साधुवाद व्यक्त गर्नुपर्छ । यी सबै सत् प्रयासका लागि स्वच्छ छवी भएका र अति नै क्रियाशिल प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल पनि धन्यवादका पात्र हुनुहुन्छ । सार्वजनिक सेवा प्रवाह तथा सुशासनमा रत्ननगर नगरपालिका अब्बल देखिएको छ । यस्का १६ वटै वडा कार्यालयहरूको आ–आफ्नै भवनबाट सेवा सञ्चालन भैरहेको छ । यस पालिकाको नगर केन्द्रबाट सबै वडासम्म जोड्ने पक्की सडक सञ्जाल निर्माण भएको छ । सबै वडा कार्यालयहरूबाट सम्पादन हुने काम पनि प्रभावकारीढंगले सम्पादन भैरहेको छ । यसका लागि सबै वडाध्यक्षहरू क्रमशः कुलप्रसाद सापकोटा, राजेन्द्रप्रसाद घिमिरे, सोहेन्द्र राज खरेल, रामकुमार चौधरी, बालकृष्ण चापागाई, किरण महतो, सजना महतो, कृष्ण चौधरी, अनन्त अधिकारी, कलाधर पौडेल, श्यामकुमार श्रेष्ठ, सुन्दरमणी सुवेदी, पोटबहादुर घिमिरे, होम नाथ रानाभाट, आशिक तामाङ, हेमराज थापा धन्यवादको पात्र हुनुहुन्छ ।

यस पालिकाले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, जनमैत्री र चुस्त दुरुस्त बनाउन नागरिक वडापत्र, कर्मचारी इ–हाजिरी लागू गरेको छ । यस पालिकामा कानुन बमोजिम तोकिएको समयमा नगर कार्यपालिका बैठक र नगरसभा सञ्चालन गरी प्रचलित कानुनले तोके बमोजिमका विषयगत समितिहरूमार्फत समयमा बजेट निर्माण र कार्यान्वयन हुनुका साथै राजस्व परिचालन गरिएको छ । यी काममा यस पालिकाका निर्वाचित जनप्रतिनिधि र कर्मचारीको सामूहिक प्रयास रहेको छ । जसको संयोजन प्रशासन शाखा प्रमुख सविता गरिआएको प्रसंग विर्सन सकिन्न । आर्थिक विकासका क्षेत्रमा पनि रत्ननगर नगरपालिकाले फड्को मारेको छ । नगरपालिका क्षेत्रभित्रका किसानहरूको कृषि व्यवसाय प्रवद्र्धन र बजारीकरणका लागि नगरप्रमुखसँग कृषि कार्यक्रम सञ्चालन गरी अनुदान वितरण गर्ने गरिएको छ । त्यस्तै पशुपन्छी विकास कार्यक्रम अन्तर्गत प्रतिलिटर दुधमा अनुदान, बाख्रा बंगुर प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । खेत खेतमा कृषि प्राविधिक र गोठगोठमा भेटेरीनरी सेवा अन्तर्गत किसानको खेत र गोठमा प्राविधिक खटाई कृषि र पशुपन्छी सेवा प्रदान गरिएको छ । साथै, रत्ननगर नगरपालिकाले मौरी पालक कृषकहरूको व्यवसाय प्रवद्र्धनका लागि घारसहितको मौरी वितरण कार्यक्रम सञ्चालन गरेको छ ।

यस्ता उत्कृष्ट कार्य वापत तत् पालिकाका वरिष्ठ अधिकृत सवितालाई उत्कृष्ट निजामती कर्मचारी सम्मान प्रदान गरिएको हो । सामाजिक विकासका क्षेत्रमा पनि यो पालिका अग्रस्थानमा छ । यस पालिकाले प्राविधिक शिक्षामा छात्रवृत्ति कार्यक्रम अन्तर्गत ईन्जिनियरिङ्ग, डाक्टर लगायतका प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गरेको छ । मेयरकप फुटबल, मेयरकप ब्याडमिन्टन लगायतका खेल कार्यक्रम सञ्चालन गरी यस पालिकाले युवाहरूमा खेलकुद प्रवद्र्धन कार्यक्रमहरू सञ्चालन गरेको छ । यसैगरी, विद्यार्थी प्रतिभा सम्मान, स्थानीय पाठ्यक्रम निर्माण तथा लागू र रिक्त दरबन्दी भएका विद्यालयहरूमा स्वयंसेवक शिक्षकको व्यवस्था लगायत विभिन्न शिक्षा अनिवार्य तथा निःशुल्क सम्बन्धी कार्यक्रमहरू पनि यस पालिकाबाट लागू भएका छन् । यस नगरक्षेत्र भित्रका लक्षित वर्ग (दलित, अपाङ्ग, जेष्ठ नागरिक, बालबालिका)हरूका लागि लक्षितवर्ग मैत्री कार्यक्रमहरू पनि सञ्चालन गरिएका छन् ।यस अन्तर्गत, वडा कार्यालयहरूबाट जेष्ठ  नागरिकहरूका लागि न्यानो कपडा, पोषणयुक्त खाना वितरण, जेष्ठ नागरिक भ्रमण तथा जेष्ठ नागरिक दिवा केन्द्र सञ्चालन, दलित सशक्तिकरण कार्यक्रम, अपाङ्गमैत्री सहायता सामग्री वितरण लगायतका कार्यक्रमहरू सञ्चालन गरिएको छ । रत्ननगर नगरपालिकाले अति विपन्न र विपन्न ३२०० घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा तथा नवीकरण गरेको छ ।

नगरक्षेत्रभित्र बसोबास गरेका सुकुम्बासीहरूमध्ये वडा नं. १२ सालघारी स्थित १३५ भूमिहिन सुकुम्वासीलाई लालपूर्जा वितरण गरेको छ । पूर्वी चितवनका चार वटा पालिकाका गरिब विपन्न परिवारलाई स्वास्थ्य उपचारमा सहयोगका लागि उपचार कोष सञ्चालनमा ल्याइएको छ । रत्ननगर नगरपालिकाका बासिन्दाहरूका लागि क्यान्सर रोग उपचारमा सहयोग स्वरुप प्रति बिरामी रु.पच्चीस हजारको व्यवस्था गरिएको छ । पूर्वी चितवनको यस पालिकामा ब्लड बैँकको स्थापना गरिएको छ । यस पालिकाको पाँच वटा स्वास्थ्य केन्द्रमा निःशुल्क प्रयोगशाला सञ्चालनमा ल्याएको छ । यी कामका लागि यहाँका निर्वाचित जनप्रतिनिधि र कर्मचारीसहित सवितालाई उच्च सम्मान प्रकट गरिन्छ । रत्ननगर नगरपालिकाले वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ पनि केही अनुकरणीय कामहरू गरेको छ । जस अनुसार नेपाल सरकारको नीति बमोजिम फोहर व्यवस्थापनका लागि सफा उर्जा प्रालिसँग फोहरमैला व्यवस्थापन तथा फोहोरबाट मोहर उत्पादनका लागि पूर्वी चितवनका पालिकाहरूसँग समन्वय गरी फोहर संकलन तथा व्यवस्थापन गरिएको छ । यसैगरी, प्लाष्टिकमुक्त पालिका निर्माणका लागि वातावरणमैत्री झोला प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । साथै, खैरहनी नगरपालिकासँगको साझेदारीमा दमकल सञ्चालन गरिएको छ । पूर्वाधार विकासतर्फ रत्ननगर नगरपालिकाले पर्यटन क्षेत्र विकास र विस्तारको लागि रत्ननगर–१० मा हरियाली पार्क निर्माणको प्रथम चरणको कार्य सम्पन्न गरेको छ । साथै, यस आयोजनाको अन्तिम चरणको कार्यसम्पन्नका लागि विशेष तयारी भैरहेको छ । यस पालिकास्थित टाँडी चोकमा आकासे पुलको निर्माण गरिएको छ । यस अतिरिक्त, रत्ननगरका अस्पताल रोड–सुब्बा चोक मार्ग, जयमंगला चोक, सुब्बा चोक–डुम्रेचोक मार्ग, मैना चोक, सौराहा क्षेत्र, बकुलहर–जयमंगला मार्ग, टाँडी–सुब्बा चोक मार्ग, टाँडी–भोकाहा मार्ग, सौराहा चोक–देबौली मार्ग लगायतका बाटोहरू स्तरोन्नति तथा फुटपाथ निर्माण सम्पन्न गरिएको छ ।

साथै, चित्रसारीदेखि सौराहा हुँदै हर्नरी पुलसम्म साइकल लेनसहितको बाटो विस्तार गरिएको छ । यस पालिकाले लौरीघोललाई लौरीताल निर्माणको क्रममा पहिलो चरणको कार्य सम्पन्न भई दोस्रो चरणको कार्यका लागि तयारी भैरहेको छ । यी र यस्ता अनुकरणीय कार्यमा रत्ननगर नगरपालिका अग्रस्थानमा रहेकाले यी सबै कार्यमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा जोडिइनु भएकी रोलमोडल सवितालाई नेपाल जनप्रशासन संघले यस वर्षको उत्कृष्ट निजामती सम्मान प्रदान गरेको हो । अन्त्यमा, रत्ननगर नगरपालिकामा नगरप्रमुख, नगरउपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र १६ जना वडाध्यक्षका अतिरिक्त कार्यपालिका ८ जना सदस्यबीचको सामूहिक गतिशिलताबाट प्राप्त उपलब्धीका लागि सबै बधाइका पात्र हुनुहुन्छ । यस अतिरिक्त सो पालिकामा कूल ८५ जना जनप्रतिनिधि हुनुहुन्छ भने नगरपालिकामा १०६ जना कर्मचारी कार्यरत हुनुहुन्छ ।
साथै, १६ वडामा ४७ जना, स्वास्थ्य संस्थामा ४९ जना, विद्यालयमा कार्यरत नर्स ८ जना र ब्लड बैंकमा कार्यरत ४ जना कर्मचारीको सामूहिक सफल कार्यका लागि उहाँहरू सबै धन्यवादको पात्र हुनुहुन्छ । पर्यटकीय सहर ः समुन्नत रत्ननगर नाराका साथ अघि बढेको रत्ननगर नगरपालिकाका वरिष्ठ शाखा अधिकृत (आठौँ तह) सविता नेपाल जनप्रशासन संघको यस वर्षको मूल्यांकनमा सर्वाेत्कृष्ट राष्ट्रसेवक छनोट हुनुले उहाँ र समस्त पालिका परिवारलाई यस सुखद क्षणलाई उत्सवकारूपमा मनाउँदै भविष्यमा अझ बढी अब्बल पालिका निर्माणमा सबैको समूहिक प्रतिबद्धता प्रकट हुने अपेक्षा गरेको छु ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार