राष्ट्रियसभा निर्वाचनको मतदाता र मतभार सार्वजनिक



काठमाडौँ ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता र मतभार सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार आयोगले मतभारसहित मतदाता सङ्ख्या सार्वजनिक गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष मतदाता रहनेछन् । आयोगले सार्वजनिक गरेको सूचीअनुसार कोशी प्रदेशमा ९३ प्रदेशसभा सदस्य, २७४ स्थानीय तहका पदाधिकारी गरी कूल ३६७ मतदाता छन् ।

प्रदेशसभातर्फ ४९२९, स्थानीय तहतर्फ ५२०६ गरी कूल १० हजार १३५ मतभार छ । राष्ट्रियसभामा अगामी फागुन २० गते पदावधि सकिने १८ जना सदस्यका लागि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । कोशी प्रदेशअन्तर्गत पदावधि सकिने सदस्यहरूमा एमालेका देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम र नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामी छन् ।

रिक्त तीन जना सदस्यमा प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । काँग्रेस र एमालेमध्ये कुनै एक दलसँग तालमेल नभएमा माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) निकै कमजोर देखिन्छ । जेनजी विद्रोह अगाडि एमाले र काँग्रेस सत्ता सहयात्री दल भएकाले राष्ट्रियसभा निर्वाचन, संसद् पुनस्र्थापनालगायत विषयमा सहकार्य गर्ने विषयमा परामर्श गरेका छन् ।

सोही विषयमा काँग्रेसका सभापति शेरबहादुर देउवासँग एमालेका अध्यक्ष केपी ओलीले दुई पटक छलफल गरिसकेका छन् । यद्यपि चुनावी तालमेलको विषयमा दुवै दलले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । यता नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेससँग मोर्चाबन्दी हुनसक्ने अभिव्यक्ति दिए पनि ठोस कुरा बाहिर आएको छैन ।

निर्वाचनमा मुख्य तीन दल एक्लाएक्लै प्रतिस्पर्धा गरेको खण्डमा कोशी प्रदेशअन्तर्गत राष्ट्रियसभा निर्वाचनमा एमालेको पल्ला भारी देखिन्छ । एमालेको प्रदेशसभामा २१२० र स्थानीय तहमा २०९० गरी कूल ४२१० मतभार छ । प्रदेशसभामा काँग्रेसको २९ प्रदेशसभा सदस्य छन् । स्थानीय तहमा ११४ जना छन् । काँग्रेसको प्रदेशसभामा १५३७ र स्थानीय तहमा २१६६ गरी कूल ३७०३ मतभार छ ।

यस्तै तेस्रो दल तत्कालीन माओवादीको प्रदेशसभामा १३ सांसद छन् भने स्थानीय तहमा जम्मा ३२ जना छन् । माओवादीको प्रदेशसभामा ६८९ र स्थानीय तहमा ६०८ गरी कूल १२९७ मतभार छ । नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरी नेकपा बनेको हुनाले थप २१२ र १३३ गरी कूल ३४५ मतभार थपिएको छ । यी दुवै मतभार जोड्दा नेकपाको कूल १६४२ मतभार हुनेछ । यीबाहेक राप्रपाको ३९४, जसपा नेपालको १६७ र स्वतन्त्रको ५७ मतभार छ ।

निर्वाचन कार्यतालिकाअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली सार्वजनिक गरिनेछ । पुस २२ गते दिउँसो ३ देखि ४ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध तथा निवेदनमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

पुस २३ गते बिहान १० देखि ३ बजेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता कार्यक्रम छ । पुस २४ गते बिहान १० देखि ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने कार्यक्रम छ । पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार