हाल नेपाल हुलाकले स्वदेशी तथा विदेशी निकायहरूका चिठ्ठी पत्र आदानप्रदान गर्ने काम गर्दछ । नागरिकका चिठीपत्र, सरकारी पत्र, अदालतका मिसिलहरू आदानप्रदान गर्ने हुलाक सेवामा अन्य क्षेत्रको भन्दा वित्तीय संस्था तथा सहकारीहरूका ताकेता पत्रको सङ्ख्या धेरै रहेको छ । नेपालका मुख्य मुख्य सहरी क्षेत्र तथा प्रदेश मुकाममा काठमाडौँबाट द्रुत हवाई डाँक सेवा सञ्चालन रहेको छ। यो सेवा सस्तो, छिटो, छरितो र भरपर्दो छ ।
गोविन्दप्र्रसाद पाण्डे
पहिले पहिले घोडा, परेवा, बाजलगायतका पशुपन्छीहरूबाट सन्देशमूलक खबर आदानप्रदान गरिने किंवदन्ती रहेको नेपालमा हुलाक सेवाको औपचारिक सुरुवात विसं १९३५ मा तत्कालीन राणा प्रधानमन्त्री रणोद्वीप सिंहको पालामा हुलाक घरको स्थापनासँगै भएको पाइन्छ । नेपाल हुलाक सन् १९५६ मा विश्व हुलाक संघ (युपियु) र सन् १९८२ मा एसिया प्रशान्त हुलाक संघ (एपिपियु)को सदस्य बनी अन्तर्राष्ट्रियस्तरमा उपस्थिति जनाउँदै आएको छ । नेपालको हुलाक सेवाले परम्परागत र आधुनिक सेवा सञ्चालनमार्फत नागरिकहरूमा सेवा मात्र प्रवाह गरेको नभइ राजस्व संकलन, रोजगारी सिर्जनाजस्ता कार्य र विश्व हुलाक मञ्चमा सहभागितामार्फत वैदेशिक सम्बन्ध स्थापनामा महत्वपपूर्ण योगदान पु¥याउँदै आएको छ । नेपालका धार्मिक स्थल, पर्यटकीय स्थल, संस्कार संस्कृति र ऐतिहासिक व्यक्ति तथा स्थानका हुलाक टिकट प्रकाशन गरेर अन्तर्राष्ट्रिय प्रचलनमार्फत नेपाललाई विश्वसामु चिनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । स्थानीयस्तरमा प्रचलित हुलाकी राजमार्ग, हल्कारापुर, हुलाकी पिपल, हुलाकी टाकुरा, हुलाकी ओडार हुलाक सेवाले आर्जन गरेको ऐतिहासिक निसानी तथा गरिमामय भूमिकाको स्मरण गराइरहेका छन् ।
गौरवमय हिजो
विगतमा स्वच्छ, सहज र विश्वासका साथ जनताको माया, ममता र भरोसा प्राप्त गरेको नेपालको हुलाक सेवा वर्तमान समयसम्म त्यही विश्वास र भरोसाका कारण आफ्नो साख बचाउन सफल रहेको पाइन्छ । हुलाकीको झोलाले आम मानिसका माया, प्रेम, सुखदुःखका साथै आशा र भरोसाका किरण बोकेर सहरदेखि गाउँसम्म र गाउँदेखि सहरसम्म पु¥याउँथ्यो । यति मात्र होइन विदेशी भूमिमा कर्म गर्ने आमनागरिकको खबर आदानप्रदानको महत्त्वपूर्ण माध्यमको रूपमा रहेको थियोे हुलाक सेवा । हुलाकीको आगमनसँगै गाउँबस्तीका हरेक आँगनमा आफन्तको पत्रका बारेमा हुलाकी दाइलाई सोध्न उपस्थित हुने नागरिक र हुलाकी बीचको सम्बन्धका ती दिन हुलाक सेवाका अविस्मरणीय दिनका रूपमा रहेका छन् जसले हुलाकप्रति जनताको भरोसा र विश्वास कति थियो भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ । विश्व जगत्लाई एकापसमा जोड्न सक्ने कुनै संस्था वा निकाय थियो भने त्यो हुलाक सेवा मात्र थियो । कतिपय ठाउँमा हुलाकीहरूले जनताको सुरक्षा कवजको काम पनि गर्दथे । नागरिकहरू एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्दा होस् वा घना जंगल पार गर्दा होस् चेलीबेटीलाई माइती पठाउँदा होस् वा बालबच्चालाई मावली पठाउँदा होस् वा वल्लो गाउँबाट पल्लो गाउँमा कुनै नासो वा रैरकम पठाउँदा होस् विश्वास र भरोसाको पात्रका रूपमा हुलाकी दाइकै बाटो पर्खनु पर्ने हुन्थ्यो ।
अर्कोतिर हिमाली क्षेत्रमा हिउँदको समयमा हिउँले ढपक्क ढाकेका डाँडा, कान्ला तथा लाग्नाहरूको हिउँ पन्छाएर बटुवाहरूको गन्तव्य तय गर्ने काममा पनि हुलाकी महत्त्वपूर्ण भूमिका रहने गर्दथ्यो । बटुवालाई साँझको बास बसेरो र बिहानको भान्सको सल्लाह पनि हुलाकी दाइ नै अड्कल गरिदिने चलन थियो । जस्तोसुकै अवस्थामा पनि हुलाक ओसारपसार गर्नै पर्ने भएकाले आफ्नो जिम्मेवारीमा प्रतिबद्ध हुलाकी दाइ गाउँघर र सहरबजारको मात्र नभइ बाटोघाटो, सुखदुःख, गाह्रोअप्ठेरो गौडागल्छेडाको अभिन्न साथीका रूपमा रहेको थियो । हुलाक सेवा र यस सेवाका पुराना कर्मचारीहरूसँग हुलाक सेवा कर्मचारीसँग जोडिएका कैयन रोचक र अविस्मरणीय कथा र व्यथा सुरक्षित रहेका पाइन्छ ।नेपालको तराई क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म हुलाक बोकेर हुलाकी हिँड्न आरम्भका दिनमा तय गरिएका जिल्ला सदरमुकाम जोड्ने झापादेखि सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ हँुदै बाँके, बर्दिया, कैलाली कञ्चनपुरसम्मको सडकलाई नै आधार मानी नेपाल सरकारले हुलाकी राजमार्गका नाममा विकास र विस्तार गर्ने कार्य गरेको छ । आधुनिक शैलीमा निर्माण गरिँदै गरेको हुलाक राजमार्ग बीचमा ग्रीन बेल्टसहितको चारलेनको कालोपत्रे सडकका रूपमा अगाडि बढाइएको छ । यसबाट पनि विगतमा तराईको चारकोशे झाडी पार गर्दै हुलाकीले हुलाकमार्फत नागरिकलाई सेवा प्रवाह गर्ने काममा हुलाकीहरू कटिबद्ध र प्रतिबद्ध भएको कुरा पुिष्ट हुन आउँछ ।
बाँकेको डुडुवा गाउँपालिकामा हुलाकी सडकको नजिक हल्कारापुर गाउँसमेत रहेको छ । दैलेखको आठवीसमा चामण्डामा हुलाकी पिपल, नारायण नगरपालिका र भगवती माइमा हुलाकी टाकुरा, हम्लाको सर्केगाडमा हुलाकी ओडार रहेका छन् । हल्कारा गाउँ, हुलाकी डाँडो, हुलाकी बस्ने ढुङ्गा, हुलाकी चौतारो जस्ता संकेत हुलाक सेवाले आर्जन गरेको ऐतिहासिक निसानी वर्तमानमा पनि गाउँबस्तीमा प्रशस्त रहेका छन् जसले हुलाकको गरिमामय भूमिकाको स्मरण गराइरहेका छन् । नेपाल हुलाक सेवाले सरकारी कार्यालयका पत्रहरू, अदालतका मिसिल नागरिक सरसामान ओसापसार गर्ने कामका साथै लोकसेवा, बैंक स्थानीय निकायका लिखित, परीक्षामा उत्तीर्ण भई रोजगारीका लागि पत्र कुरेर बसेका व्यक्तिहरूका सिफरिस पत्रहरू उनीहरूको घरदैलोसम्म पु¥याउने काम पनि हुलाकबाटै हुने गर्दथ्यो । भारतीय सेनामा भर्ना भएकाहरूले घरमा पैसा पठाउने महत्वपूर्ण माध्यमको रूपमा हुलाकले धनादेश सेवा पनि सञ्चालन गरेको थियो । धनादेश सञ्चालनका लागि भारत सरकारले हुलाकको धनादेश खातामा संरक्षणको रूपमा भारु रकम अग्रिम बचत गरेको हुन्थ्यो । यही सुरक्षणका आधारमा धनादेशमार्फत पेन्सन होल्डरलाई रकम पनि दिइन्थ्यो ।
सुधारोन्मुख आज
नेपाल सरकारको सेवा प्रदायक पहिलो प्रशासनिक निकायको गौरवशाली इतिहास बोकेको नेपालको हुलाक सेवाको गौरवमय इतिहासमा साठीको दशकयता विश्वसमुदायले गरेको सूचना प्रविधिको तीव्रतर विकासले विस्तारै विस्तारै नेपालको हुलाक सेवामा पनि प्रभाव पार्दै आयो ।
विश्वका ३९ देशसँग अन्तर्राष्ट्रिय द्रुत डाँक सेवा सम्झौता, ७१ देशमा हुलाक वस्तु पठाउने र विश्व हुलाक संघका १९२ सदस्य राष्ट्रबाट हुलाक वस्तु प्राप्त गर्ने मान्यता नेपाल हुलाकको वर्तमान व्यवस्था रहेको छ र अन्य देशमा हुलाक वस्तु पठाउन सम्झौताको लागि पहल भइरहेको छ । यी सेवालाई विश्वसनीय बनाउन क्षतिपूर्तिको व्यवस्था पनि भएको पाइन्छ । संघीय संरचनाअनुसार केन्द्रदेखि स्थानीय तहसम्म पुनर्संरचना र विस्तार गरी देशभर सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने हुलाक सेवा विभागअन्तर्गत २ वटा केन्द्रीय कार्यालयहरू (गोश्वारा हुलाक कार्यालय र हुलाक प्रशिक्षण केन्द्र), ६ वटा हुलाक निर्देशनालयहरू (मोरङ, धनुषा, कास्की, दाङ, सुर्खेत र कैलाली), ७० वटा जिल्ला हुलाक कार्यालयहरू, ६७६ स्थानीय तहमा अवस्थित हुलाक कार्यालयहरू, तोकिएका स्थानमा हुलाक काउन्टरहरू (१०५) र अतिरिक्त हुलाक कार्यालयहरू सञ्चालनमा छन् । हाल हुलाकमार्फत तपसिलका सेवाहरू सञ्चालनमा रहेका छन् ।
हाल नेपाल हुलाकले स्वदेशी तथा विदेशी निकायहरूका चिठ्ठी पत्र आदानप्रदान गर्ने काम गर्दछ । नागरिकका चिठीपत्र, सरकारी पत्र, अदालतका मिसिलहरू आदानप्रदान गर्ने हुलाक सेवामा अन्य क्षेत्रको भन्दा वित्तीय संस्था तथा सहकारीहरूका ताकेता पत्रको सङ्ख्या धेरै रहेको छ । नेपालका मुख्य मुख्य सहरी क्षेत्र तथा प्रदेश मुकाममा काठमाडौँबाट द्रुत हवाई डाँक सेवा सञ्चालन रहेको छ । यो सेवा सस्तो, छिटो, छरितो र भरपर्दो छ । भरपर्दो र विश्वसनीय सेवा भए पनि द्रुत हवाई डाँक सेवा सरोकारवाला व्यक्ति वा निकायहरूको जानकारीमा नभएकाले उल्लेखनीय मात्रामा बजार विस्तार हुन सकेको छैन । यस सेवाको विशेषता भनेको पत्र हुलाकमा दर्ता भएको भोलिपल्ट नै प्रापकसमक्ष पु¥याउने प्रतिबद्धता हो । सरोकारवालामा विश्वास दिलाउन सकेमा द्रुत डाँकसेवाको भविष्य उज्जल छ मान्न सकिन्छ । हुलाकले सस्तो दरमा बुकपोष्टबाट किताबहरू एक ठाउँबाट अर्को ठाउँमा पठाउने कामसमेत गर्दछ । यसैगरी हुलाकले विभिन्न जिल्लाबाट प्रकाशित हुने पत्रपत्रिकालाई प्रकाशकले ढुवानी प्रयोजनको लागि हुलाक कार्यालयहरूमा दर्ता गरेपछि उक्त पत्रिका वर्षभरि सहुलियत दरमा तोकिएको स्थानमा पठाउने काम गर्दछ । यसबाट सञ्चार गृहलाई पत्रपत्रिका ढुवानीमा सहजता भएको छ । नेपाल हुलाकले देशका प्राकृतिक, धार्मिक, सांस्कृतिक धरोहर, महत्त्वपूर्ण व्यक्तित्व, जल, जङ्गल, जडीबुटी, हिमाल, ताल, झरना, नदी आदिका चित्र अङ्कित हुलाक टिकट प्रकाशन गर्ने गर्दछ । विगतमा विदेशमा छाप्ने गरिएको हुलाक टिकट केही वर्ष यतादेखि नेपालकै जनक शिक्षा सामाग्री केन्द्रको छापाखानाबाट छाप्न सुरु गरिएको छ ।
यस वर्षबाट हालसम्म प्रकाशित हुलाक टिकटहरू समेटेर पुस्तकसमेत प्रकाशित गरेको छ । यस्ता पुस्तकहरू अगामी दिनमा प्रकाशन गरेर देशभरका सार्वजनिक पुस्तकालय तथा विद्यालय र क्याम्पस पुस्तकालयहरूमा समेत प्ु¥याउन सकेमा देशका विभिन्न क्षेत्रको जानकारी विद्यार्थीहरूलाई प्रदान गर्न सकिने देखिन्छ । नेपाल हुलाकले दिने विभिन्न सेवामध्ये पोष्ट बक्स सेवा पनि एक महत्त्वपूर्ण सेवा हो । यो सेवा अन्तरगत सेवाग्राही व्यक्ति, कार्यालय, संस्था तथा व्यावसायिक फर्मले हुलाकमा निवेदन दिएर आफ्नो नाममा पोष्ट बक्स नम्बर लिने गर्दछन् । पोष्ट बक्स नम्बर लिएका सेवाग्राहीलाई हुलाकले उक्त पोष्ट बक्स खोल्ने चाबी उपलब्ध गराउँछ । आफूसँग सम्बन्धित पत्रहरूको बाहिर सोही पोष्ट बक्स नम्बर उल्लेख गरेर आउने प्रबन्ध मिलाउने गरिन्छ । पत्रहरूलाई हुलाक कर्मचारीले सटिग गरेर सम्बन्धित पोष्ट बक्समा राखिदिने गर्दछ । पत्र प्रापकले हुलाकको कर्मचारीबिना नै पोष्ट बक्स खोलेर लैजाने सुविधा प्राप्त भएको हुन्छ । हाल आएर नेपाल हुलाकले आफ्ना परम्परागत कामका अलावा सूचना तथा सञ्चार प्रविधि विभागले गर्दै आएका सञ्चार गृह तथा सञ्चारकर्मीसम्बन्धी कामहरू सञ्चारकर्मी प्रेस पास नवीकरण, परिचयपत्र वितरण, एफएम रेडियो, अनलाइन पत्रिका तथा केवलको नवीकरणजस्ता सेवासमेत सबै जिल्लाबाट प्रदान गर्दै आइरहेको छ । विज्ञापन बोर्डले गर्दै आएको लोककल्याणकारी विज्ञापनको व्यवस्थापन सेवा, राष्ट्रिय सूचना आयोगबाट प्रत्यायोजित सूचनाको हक कार्यान्वयनको अनुगमन तथा प्रतिवेदनसम्बन्धी काम पनि नेपाल हुलाक सेवाले गर्दै आएको छ ।
हुलाक निर्देशनालय तथा जिल्ला ह्ुलाक कार्यालयहरूबाट नियमित रूपमा प्रवाह हँुदै आएका यस प्रकारका सेवाबाट सञ्चार गृह र सञ्चारकर्मीहरूलाई सानो सानो कामको लागि राजधानी धाउनु झन्झट, समय तथा लाग्ने आर्थिक स्रोत बचत भएको छ । नेपाल हुलाकले आफ्नो नियमित सेवा प्रवाहका साथै विभिन्न निकायहरूबाट प्रत्यायोजित तपसिलका एजेन्सी सेवा पनि गर्दै आएको छ । सूचना तथा प्रसारण विभागबाट वितरण गरिने सञ्चारकर्मी प्रेस प्रतिनिधि पास (रातो कार्ड) र सञ्चारकर्मी परिचयपत्र नवीकरणको लागि सञ्चारकर्मीहरूले सूचना तथा प्रसारण विभागमा अनलाइनबाट आवेदन दिने व्यवस्था छ । सो आवेदन विभागबाट स्वीकृत भएपछि विभागले सोको जानकारी सम्बन्धित जिल्ला हुलाक कार्यालयमा पठाउँछ । विभागबाट प्राप्त पत्रका आधारमा जिल्ला हुलाक कार्यालयहरूले सञ्चारकर्मीको प्रेस प्रतिनिधि पास (रातो कार्ड) नवीकरण गर्ने गरेका छन् । काठमाडौँ गएर गर्नु पर्ने काम ७ वटा हुलाक निर्देशनालय तथा ७० जिल्ला हुलाकबाट हुने व्यवस्थाले जिल्लास्तरबाट सेवा प्रवाह भएकोमा निकै सहज भएको सञ्चारकर्मीहरू बताउने गर्दछन् । विगतमा सूचना तथा प्रसारण विभागबाट गरिने अनलाइन नवीकरणको लागि सञ्चारकर्मीहरूले सूचना तथा प्रसारण विभागमा अनलाइनबाट आवेदन दिने व्यवस्था छ ।
सो आवेदन विभागबाट स्वीकृत भएपछि विभागले सोको स्वीकृत टिप्पणी आदेशसहितको जानकारी पत्र इमेलबाट सम्बन्धित हुलाक कार्यालयमा पठाउने व्यवस्था रहेको छ । इमेल प्राप्त भएपछि सम्बन्धित हुलाक कार्यालयहरूले अनलाइन पत्रिका दर्ता प्रमाणपत्र नवीकरण गर्ने गर्दछन् । हुलाकले सञ्चार क्षेत्रमा गर्ने कार्यमा एफएम रेडियो तथा केवल टिभीको इजाजतपत्र तथा लाइसेन्स नवीकरण पनि एक महत्त्वपूणर््ा कार्य हो । सम्बन्धित एफएमहरूले अनलाइनबाट पेश गरेको आवेदन विभागबाट स्वीकृत भएपछि विभागले सोको जानकारी अनलाइन पोर्टलमा राखिदिने व्यवस्था छ । सम्बन्धित हुलाक कार्यालयले अनलाइन पोर्टलमा हेरेर विभागबाट भएको स्वीकृतिका आधारमा एफएम रेडियो तथा केवल टिभीको इजाजतपत्र तथा लाइसेन्स नवीकरण गर्ने व्यवस्था गरिएको छ । नेपाल हुलाकले आफ्नो नियमित कामका अतिरिक्त विज्ञापन बोर्डबाट प्रयायोजित लोक कल्याणकारी विज्ञापनको प्रसारण तथा भुक्तानीसम्बन्धी काम गर्दछ । प्रेस काउन्सिलले विभिन्न मापदण्डका आधारमा प्रत्येक वर्ष लोककल्याणकारी विज्ञापन पाउने पत्रिकाको सूची प्रकाशन गर्ने गर्दछ र उक्त सूचीमा परेका पत्रपत्रिकाहरूले विज्ञापन बोर्डले प्रत्येक महिनामा बोकेको विभिन्न प्रकारका जनचेतनामूलक विज्ञापनहरू प्रकाशन गरेवापतको रकम हुलाक कार्यालयबाट भुक्तानी पाउने गर्दछन् ।
पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी गर्न र पत्रिकाको अनुगमन गर्न निर्देशनालयमा हुलाक निर्देशक तथा जिल्ला हुलाकमा हुलाक अधिकृतको अध्यक्षतामा, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, पत्रकार महासंघको जिल्लास्थित प्रतिनिधि सदस्य तथा हुलाक अधिकृतले तोकेको हुलाक कार्यालयको कर्मचारी सदस्यसचिव रहने नीतिगत व्यवस्था गरिएको छ । केन्द्रीयस्तरमा राष्ट्रिय सूचना आयोगले गर्ने सूचनाको हक कार्यान्वय तथा व्यस्थापन काम गर्दछ । जिल्लास्तरका सार्वजनिक निकायहरूमा सूचनाको हक कार्यान्वयको अनुगमन गर्ने प्रयोजनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्ष, जिल्ला समन्वय अधिकारी सदस्य र हुलाक निर्देशक वा हुलाक अधिकृत सदस्यसचिव रहने गरी एक समितिको व्यवस्था गरिएको छ । सो समितिले नियमित रूपमा सूचना अधिकारीको बैठक तथा क्षमता विकासका काम गर्ने गर्दछ । उक्त समितिले जिल्लामा रहेका सार्वजनिक निकायहरूको अनुगमन गरी सूचना अधिकारी तोके नतोकेको, सूचना अधिकारीको बोर्ड सबैले देख्ने गरी राखे नराखेको, तीन तीन महिनामा प्रकाशन गर्नुपर्ने स्वतः प्रकाशन भए नभएको तथा सूचना प्रवाहको अभिलेख व्यवस्थित रूपमा राखे नराखेको अनुगमन गरेर राष्ट्रिय सूचना आयोगमा प्रतिवेदनसमेत पठाउने गर्दछ ।सदस्यसचिवको रूपमा हुलाक निर्देशक तथा हुलाक अधिकृत रहने भएकोले जिल्लामा सूचना हक कार्यान्वयसम्बन्धी काममा हुलाक कार्यालयको उल्लेखनीय भूमिका रहने गर्दछ । माथि उल्लेखित कामका अतिरिक्त राहदानी ढुवानी, भ्याक्सीन ढुवानी, जग्गाधनी पूर्जा ढुवानी तथा अदालतका मिसिल ढुवानीको कामसमेत नेपाल हुलाक सेवाले गर्दै आइरहेको छ । अडिटर्स एसोसियसन लगायतका संस्थाहरूले निर्वाचनको समयमा हुलाकमार्फत आफ्ना मतदातालाई खामबन्दी मतपत्र र मतदान निर्देशिका पठाउने गर्दछन् । यसरी प्राप्त मतपत्र सम्बन्धित मतदातालाई हुलाकका जिल्लास्थित कार्यालयहरूले बुझाउने काम गर्दछन् । सम्बन्धित मतदाताले गोप्य रूपमा मतदान गरी खामबन्दी मतपत्र पुनः हुलाक कार्यायमा पेश गरेपछि हुलाक कार्यालयले केन्द्र्रमा पठाइदिने गर्दछ ।
उज्यालो भोलि
गर्भिलो विगत रहेको नेपाल हुलाक सेवा अहिले संसारभरि फैलिएको आधुनिक प्रविधिसँग हातेमालो गर्दै विश्व जगत्मा आफ्नो पहिचान कायम राख्ने क्रममा रहेको छ । विश्व हुलाक संघ (यूपीयू) तथा एसिया प्यासिफिक हुलाक संघ(एपीपीयू) सदस्यको हैसियतले विश्वका १९२ भन्दा धेरै देशहरूसँग नेपाल हुलाकको पहुँंच विस्तार भएको छ । विश्व जगत्मा पहुँच विस्तार तथा आधुनिक प्रविधिको अवलम्बन सँगै नेपाल हुलाकलाई आगामी दिनमा विश्वका जापान, अमेरिका, थाइल्याण्ड लगायतका देशका हुलाक तथा छिमेकका चीन र भारतमा हुलाकले गरेका प्रगतिबाट समेत हामीले धेरै कुरा सिक्न सकिने देखिन्छ । नेपाल हुलाकले समय सान्दर्भिक रूपमा आफ्नो संरचनागत सुधार गर्दै व्यावसायीकरण र विविधीकरणलाई आत्मसात् गर्नुपर्ने देखिन्छ । अहिले प्र्रविधिको विकासँगै हवाई, जल तथा स्थल मार्गबाट विश्वमा पहुँच विस्तार भएको छ ।
विश्वका विभिन्न देशहरूमा अध्ययन, व्यवसाय तथा कामको क्रममा ७० लाखभन्दा बढी नेपाली रहेका छन् । यसले गर्दा नेपाल विश्वको ग्लोबल भिलेजको एक अभिन्न अङ्ग बन्न पुगेको छ । विश्वका हुलाकले अवलम्बन गरेका विभिन्न किसिमका सुधार तथा बजार विस्तार रणनीतिहरूबाट पाठ सिक्दै नेपाल हुलाकलाई प्रतिस्पर्धी रूपमा अगाडि बढाउनलाई तपसिलका विषयलाई सुझावको रूपमा उल्लेख गर्न सकिन्छ ।
व्यवसायीकरण, विविधीकरण तथा आधुनिकीकरण
हालसम्म राज्यको अत्यावश्यक सेवाको रूपमा सेवामूलक काम मात्र गर्दै आइरहेको नेपाल हुलाक सेवाले आउँदा दिनमा राष्ट्र र नागरिकप्रति समर्पित हुँदै सेवामूलक कामका अलावा देशका सबै स्थानीय तहसम्म फैलिएको आफ्नो संरचनागत सञ्जाल तथा जनशक्तिलाई अधिकतम उपयोग गर्दै बैंकिङ, बीमा, रेमिटेन्स, पोष्टल सप, अनलाइन सप, होमस्टे, कोचिङ एवं काउन्सिलिङ लगायतका कामको सुरुवात गरेर संस्थालाई व्यवसायीकरण गर्दै विगतदेखि परम्परागत तौरतरिकाबाट गर्दै आएको सेवामा समेत विविधीकरण गर्नुपर्ने देखिन्छ । अहिले विश्वका विभिन्न देशहरूले हुलाक सेवाको प्रभावकारिता, वित्तीय सेवा, बजार विस्तार, प्रविधिको उपयोग, विधि र प्रक्रियाको अवलम्बन गरी आधुनिकीरणका औजारहरूलाई नेपाल हुलाकले आत्मसात् गर्न सकेमा भविष्यमा सुनौलो बाटो तय हुन सक्छ । नेपाल हुलाकले विश्व हुलाक संघ (यूपीयू) तथा एसिया प्यासिफिक हुलाक संघ (एपीपीयू)सँग प्राविधिक आर्थिक सहयोग माग गर्नुपर्ने हुन्छ । अर्कोतिर हुलाकका क्षेत्रमा राम्रो प्रगति गरेका जापान, चीन, भारत, थाइल्याण्ड जस्ता देशहरूसँग पनि सहकार्य गरी विभिन्न स्रोत तथा प्रविधि आदानप्रदान गर्ने उपायहरू अवलम्बन गर्न सकिने देखिन्छ । हुलाक कार्यालयका नाममा देशभर रहेका जग्गाको अवस्थिति हेर्दा सुनको कचौरामा भिख मागेजस्तो प्रतीत हुन्छ । ती जग्गालाई व्यावसायिक प्रयोजनमा प्रयोग गर्नका लागि सरकार अग्रसर हुनु पर्दछ । व्यावसायिक भवन निर्माण गरी भाडामा लगाउन सकिने, आवश्कताअनुसार लिजमा लगाउन सकिने गरी कानुनी लचकतासमेत आवश्यक पर्छ ।
नवीन प्रविधिको प्रयोग
हाल नेपाल हुलाकले प्रयोग गर्दै आएको आइपीएस डट पोष्ट, सीडीएस डट पोष्टका साथै विश्वका हुलाकहरूले प्रयोगमा ल्याएका विभिन्न प्रविधिको प्रयोग गरेर सेवामा छिटो छरितोपन, स्वतः सूचना सम्प्रेषण जस्ता विधिलाई आत्मसात् गर्नुपर्ने देखिन्छ । कम्प्युटर, इन्टरनेट, सफ्टवेयर प्रणालीसहितको ट्र्याकिङ प्रणाली, डिजिटल प्लेटफर्मयुक्त हुनु जरुरी छ । यसका लागि विद्यमान जनशक्तिलाई प्रशिक्षणका माध्यमले र नयाँ जनशक्तिलाई भर्नाकै बखत प्रविधिको ज्ञान भएको योग्य व्यक्ति प्रवेश गर्ने व्यवस्थापन हुनु जरुरी छ । हुलाकले देशभित्र र बाहिर इमेलमार्फत पत्र व्यवहार गर्न र सफ्टवेयर प्रयोग गरी विवरण अद्यावधिक गन सकिने प्रकारको विधि अपनाउनु पर्दछ । हुलाकको ट्र्याकिङ प्रणालीलाई व्यापक बनाई नेपालभरि गुगल ठेगाना प्रणालीमा आबद्ध गर्ने तर्फ लाग्नु पर्ने देखिन्छ ।
बहुसीपयूक्त दक्ष जनशक्ति
हुलाकलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनलाई हुलाक सेवाका कर्मचारी सवारी चालक अनुमतिपत्र, कम्प्युटरको ज्ञान, भाषाको ज्ञान हुनुपर्नेमा जोड दिनु पर्दछ । आउँदा दिनमा हुलाकमा करार सेवामा कर्मचारी भर्ना गर्दा स्पष्ट मापदण्द निर्माण गरी समयानुकूल जनशक्ति भित्र्याउनेतर्फ आवश्यक नीति बनाएर अगाडि बढ्नु पर्ने देखिन्छ ।
नियमन तथा सहकार्य
निजी क्षेत्रका कुरियर तथा ट्रान्सपोर्ट कम्पनीहरूले प्रदान गर्ने सेवाको नियमन, समन्वय तथा क्षमता विकासका कार्य नेपाल हुलाकबाट हुने कानुनी व्यवस्था हुन आवश्यक छ । आफ्ना ट्रक नचल्ने जिल्लाका हकमा सामान ढुवानीका लागि विभिन्न निकायहरूबाट सामान ढुवानीको अर्डर आफ्ना देशभरका संरचना र जनशक्तिलाई उपयोग गरेर नेपाल हुलाकले लिने प्रबन्ध गर्नु सानदर्भिक हुन्छ । यसरी संकलित सामान ढुवानी प्रयोजनका लागि प्रत्येक असार महिनामा आगामी आवको लागि टेण्डरमार्फत गर्नु उपयुक्त हुन्छ । बाँकी अर्को अंकमा क्रमशः









प्रतिक्रिया दिनुहोस्