दाङ ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म विपद्जन्य घटनामा राहत र पुनस्र्थापना शीर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको छ । प्रदेश सरकारबाट विपद्जन्य घटनाका पीडितहरूलाई राहत वितरण गर्दै आएको छ । प्रहरी कार्यालयको मुचुल्का, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा प्रदेश सरकारले राहत र पुनस्र्थापनाका लागि रकम उपलब्ध गराउँदै आएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो कुरा त विपद् आउनै नदिन पहल गरिने र आइहालेको खण्डमा त्यसबाट हुने क्षतिलाई कम गर्नेगरी प्रतिकार्यका योजना कार्यान्वयनमा जोड दिन जरुरी रहेको बताए ।
‘विपद् भइहालेमा प्रदेश सरकारले पीडितहरूलाई दिने राहत तथा पुनस्र्थापनाको रकम सबै प्रक्रिया पूरा भएर आएमा तत्काल निकासा गरिन्छ,’ मुख्यमन्त्री आचार्यले भने । साउन, भदौ र असोज महिनाको १३ गतेसम्मको विवरण अनुसार राहततर्फ ३४ लाख ७५ हजार र पुनस्र्थापनातर्फ ५ लाख २५ हजार रुपैयाँ गरी ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
राहततर्फ सबैभन्दा धेरै दाङमा २३ लाख ३५ हजार, रोल्पामा ३ लाख ८० हजार, बर्दियामा २ लाख, रुपन्देहीमा १ लाख ३० हजार, कपिलवस्तुमा ३० हजार रुपैयाँ राहतस्वरूप वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
यस्तै, पुननिर्माणका लागि प्युठानमा ५ लाख २५ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।
बाढी, पहिरो, आगलागी, चट्याङलगायतमा विपद्मा परेकाहरूलाई प्रहरीको मुचुल्का र जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत र पुनस्र्थापनाका लागि रकम उपलब्ध गराउँदै आएको हो । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले राहत र पुनस्र्थापनाका लागि ५ करोड २६ लाख ९६ हजार ७ सय १९ रुपैयाँ उपलब्ध गराएको छ ।
राहततर्फ २ करोड ७१ लाख ५१ हजार सात सय १९ रुपैयाँ र पुनस्र्थापनातर्फ २ करोड ५५ लाख ४५ हजार रुपैयाँ वितरण गरिएको छ । राहतअन्तर्गत दाङमा २५ लाख ३२ हजार, अर्घाखाँचीमा २५ लाख ३१ हजार, रोल्पामा २० लाख १० हजार, पाल्पामा १२ लाख ७५ हजार, रुपन्देहीमा १० लाख ५ हजार, कपिलवस्तुमा ८ लाख ३० हजार, गुल्मीमा १ लाख ८० हजार, प्युठानमा ४ लाख ८० हजार, बर्दियामा ६ लाख ५० हजार, बाँकेमा २ लाख रुपैयाँ राहत रकम वितरण गरिएको छ ।
यस्तै, पुर्नस्थापनाका लागि २ करोड ५५ लाख ४५ हजार रुपैयाँ वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए । पुनस्र्थापनाका लागि प्युठान जिल्लामा १ करोड ४३ लाख ५५ हजार, गुल्मी जिल्लामा ५१ लाख ७५ हजार, रोल्पामा ३२ लाख २५ हजार, पाल्पामा २५ लाख २० हजार र दाङमा २ लाख ७० हजार रुपैयाँ पुनस्र्थापनाका लागि खर्च भएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ को साउन १ गतेदेखि असोज १३ गतेसम्म प्रदेशमा विपद्का ४ सय ६ घटना घटेका छन् । जसमा परेर ९५ जनाको मृत्यु भएको छ भने २ सय ७ जना घाइते र १० जना बेपत्ता भएको विवरण छ । हालसम्मको विपद्का घटनामा ५ करोड ११ लाख ९५ हजार ५ सय रुपैयाँ क्षति भएको छ ।
व्यक्तिगत घरमा पूर्ण क्षति ७५, आंशिक घरमा क्षति २ सय ९१ रहेका छन् । यो अवधिमा बाढीका ३०, पानीमा डुबेर ६०, अधिक वर्षा ६२, आगलागीका ५०, विषाक्त खाद्य सेवन १९, पहिरो २९, सर्पदंश ७८, जनावर आक्रमण १५ वटा लगायतका विभिन्न घटनाहरू घटेका छन् ।









प्रतिक्रिया दिनुहोस्