कोहलपुर उद्योग वाणिज्य संघले तीन वर्षपछि महोत्सव सञ्चालन गर्दैछ । तर, अहिलेसम्मकै विवादित महोत्सव सञ्चालन गर्न लागेको छ भन्दा फरक नपर्ला । यसको पुष्टि महोत्सव सञ्चालन हुनपूर्व ठेक्का आह्वान विवाददेखि सडक कब्जा गरेका विषयले गर्छन् । संघले आज पुस ९ गतेदेखि कोहलपुर–११ न्यूरोडस्थित खुलामैदानमा महोत्सव सञ्चालन गर्दैछ । तर, विवाद भने महोत्सव सञ्चालन हुनुपूर्वदेखि सुरु भइरहेका छन् । महोत्सव सञ्चालनका लागि भन्दै मुख्य दुई सडक कब्जा गरेर संरचना निर्माण गरेपछि आयोजकको अहिले झनै चौतर्फी आलोचना भएको छ । अहिले बन्द गरिएका सडकबाट भएर अतिसंवेनशील एम्बुलेन्स हिँँड्नेदेखि आधा दर्जन सरकारी कार्यालयबाट नागरिकहरूले सेवा लिने गर्छन् । व्यावसायिक प्रयोजनका लागि स्थानीय सरकार र प्रशासनकै सहयोगमा मुख्य सडक कब्जा हुँदा नागरिकलाई पैदल आवतजावत तथा सवारी आवागमन पूर्णरूपमा ठप्प भएका छन् । जसका कारण महोत्सव सञ्चालन हुनुअघिदेखि दैनिक हजारौँ नागरिक र सवारीसाधनहरूले सास्ती खेपिरहेका छन् । महोत्सवस्थल न्यूरोडस्थित मैदानको दायाँबायाँतर्फका सडक अहिले बन्द गरिदिएको छ ।
आयोजकले बन्द गरेको हरियाली मार्गतर्फको सडक भएर नागरिकहरूले राजस्व अनुसन्धान कार्यालय, इलाका हुलाक कार्यालय, कोहलपुर नगर विकास समिति, इलाका प्रशासन कार्यालय कोहलपुरबाट प्रदान हुने सेवाहरू लिन नागरिकले त्यही सडक भएर प्रयोग गर्दै आएका छन् । तर, आयोजकले सडक बन्द गरेपछि दुर्घटना हुने सम्भावनादेखि नागरिकहरूले दुःख पाउने गरेका छन् । महोत्सवमा विशेषगरी स्थानीय कला, संस्कृति र कृषि उत्पादन बजारीकरण लगायतका लागि महोत्सव सञ्चालन हुने गर्छन् । तर, पछिल्ला केही वर्षहरूमा महोत्सव केही सीमित व्यक्तिहरूको कमाइ खाने भाँडो भएका छन् । स्थानीय कला संस्कृति जोगाउने नाममा आफ्ना नजिककालाई ठेक्का दिने र सञ्चालन गर्ने महोत्सवले कमाउ धन्दाबाहेक अरु खासै प्रगति भएको देखिँदैन । अर्काेतर्फ नागरिकहरूले सास्ती भोगिरहँदा पनि कोहलपुरका कुनैपनि नागरिक समाज, बुद्धिजीवी वर्ग र राजनीतिक दलहरू चु बोल्न सकेका छैनन् । अरुको त परको कुरा नागरिकहरूको अभिभावक अर्थात् नजिकै रहेको स्थानीय सरकारसमेत यस विषयमा मौन छ । आफ्नै राजनीतिक स्वार्थ मिल्ले र नजिकका आसेपासे व्यक्तिको कारण कुनै प्रतिक्रिया जनाएको छैन् । सडक कब्जा गर्नु गलत भन्नुको साटो कब्जा गर्न मौखिक सहमती जनाएर स्थानीय प्रमुख नै बेखबर छन् । योभन्दा लज्जास्पद र दुःखद कुरा कोहलपुरका नागरिकहरूका लागि के हुन सक्छ ? सामान्य नागरिकहरूले फुटपातमा ठेलाहरू चलाउँदा जफत र कारबाही गर्ने स्थानीय सरकार सडक नै कब्जा गर्दा मौन हुनु दुःखद पक्ष हो । के सामान्य नागरिकलाई मात्रै कानुन लाग्ने हो ? के सधैँ सामान्य नागरिकहरूले मात्रै कानुन पालना गर्नुपर्ने हो ? यी प्रश्नहरू अहिले आमनागरिकहरूमा उब्जेका छन् ।
के अब केही निश्चित व्यक्तिको स्वार्थका लागि कोहलपुरका आमसर्वसाधरण नागरिकहरूले सास्ती खेप्नु पर्ने । सुरुवाती दिनहरूमा ठेक्का आह्वानलाई लिएर आन्दोलित भएका राजनीतिक दलहरूका भातृ संगठनहरू अहिले कता छन् अत्तोपत्तो छैन् । अहिले सडक बन्द हुँदा एकातर्फी सवारीसाधन आवतजावत हुँदा दुर्घटनाहरू हुने सम्भावना छन् । जिल्ला प्रशासन कार्यालयसमेत यस विषयमा स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने भन्दै पन्छिने गरेको छ । अर्काेतर्फ एकपछि अर्काे विवाद हुनाले महोत्सवमा सुरक्षाको निकै चुनौती थपिँदै गएको छ । आयोजकले ठाउँ अपुग भएको भन्दै सडक नै कब्जा गरेर संरचना निर्माण गर्नु गतल हो । त्यसैले आयोजक उद्योग वाणिज्य संघले यसतर्फ ध्यान दिएर बाटो खुला गर्न जरुरी छ । महोत्सव सञ्चालन गर्ने नाममा सडक कब्जा गरेर नागरिकहरूलाई सास्ती दिनु उचित होइन । तसर्थ एकपछि अर्काे आलोचना हुने काम र निर्णयहरू आयोजकले नगरोस् महोत्सव सफलताको शुभकामना ।









प्रतिक्रिया दिनुहोस्