क्रान्तिकारी कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने



नेपालगन्ज ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी संसदीय निर्वाचनलाई बहिष्कार गर्न आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ । सोमबार देशभरका जिल्लाहरूमा पत्रकार सम्मेलनमार्फत एकसाथ निर्वाचन बहिष्कार आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो ।

पार्टीको गत मंसिर १६ र १७ गते सम्पन्न चौथो पूर्ण बैठकको निर्णय र स्थायी समितिको निर्णय अनुसार फागुन २१ गते हुने भनिएको निर्वाचनलाई बहिष्कार गर्ने नीति लिइएको नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पार्टीका पोलिटब्यूरो सदस्य तथा भेरी कर्णाली ३ नम्बर क्षेत्रीय ब्युरो सेक्रेटरी दीपक शाहीसमेतको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा तीन चरणका कार्यक्रमहरूबारे जानकारी दिइएको थियो ।

शाहीले अहिलेको सरकार जनपक्षीय नभै कठपुतली सरकार रहेको आरोप लगाए । उनले पार्टीले अहिलेको संसदीय व्यवस्था नै उपयुक्त नभएको मान्यता राख्ने बताउँदै अहिलेकै परिस्थितिमा र अहिलेको सरकारले गर्ने निर्वाचनले जनताको जीवनमा कुनै परिवर्तन नल्याउने पार्टीको निश्कर्ष रहेको बताए ।

आन्दोलनका पहिलो चरणका कार्यक्रम अन्तर्गत भित्तेलेखन, माओ दिवसको अवसरमा काठमाडौँमा भव्य जनसभा, देशव्यापी पर्चा वितरण, देशव्यापी अन्तक्र्रिया तथा कोणसभा र जनवर्गीय संगठन तथा मोर्चाका तर्फबाट चुनाव बहिष्कारको पक्षमा वक्तव्य जारी गर्ने कार्यक्रम रहेका जानकारी दिइयो ।

दोस्रो चरणमा पर्चासहित जनभेटघाट तथा घरदैलो कार्यक्रम, उम्मेदवारी दर्ताको दिन सबै ब्युरोका प्रमुख सहरहरूमा बहिष्कार ¥याली प्रदर्शन, स्थानीय तहहरूमा कोणसभा, मशाल जुलुस र प्रमुख सहरहरूमा मोटरसाइकल ¥याली निकालिने बताइयो । परिस्थितिको विकासलाई हेरेर पार्टीले तेस्रो चरणका कार्यक्रमहरू पनि सार्वजनिक गर्ने शाहीले जानकारी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ८ गते मंगलबार