सहकारी भनेको साधारण अर्थमा बुझ्दा सहकार्य, सहअस्तित्व, समानकार्य र सँगसँगै गरिने कामलाई बुझाउँछ । यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र साँस्कृतिक हैसियतमाथि उठाउन गरिएको सामूहिक प्रयासलाई नै सहकारी भनिन्छ । सोही अवधारणा अनुरुप नेपालमा पनि सहकारीहरू सञ्चालन भए । जसले नेपालको अर्थतन्त्र र आम नागरिकको आर्थिक सुधार हुने विश्वास लिएको थियो । तर, केही समयदेखि त्यसको ठिक उल्टो भइरहेको छ । रोडमा मकै पोल्नेदेखि जुत्ता सिलाएर एकएक गरेर सहकारीमा जम्मा गरेको बचत रकम हिनामिना हुँदा अहिले बचतकर्ताहरू बिचल्लीमा परेका छन् र परिरहेका छन् । सहकारीको ऐन, नियमावली र निश्चित दायराभन्दा बाहिर रहेर काम गरेका कारण अहिले सहकारीहरू र बचतकर्ता समस्यामा परेका हुन् । अझ भनौँ संस्थामा आवद्ध कर्मचारी र पदाधिकारीहरूको मनलाग्दीले सहकारीहरू समस्याग्रस्त बनेका धेरै उदाहरण छन् । विगत लामो समयदेखि सहकारी पीडितहरू बचत फिर्ताको माग गर्दै सडकदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगे । तर, अहिलेसम्म सहकारी पीडितहरूले विडम्बना दुःख र कष्टबाहेक आफ्नो बचत रकम फिर्ता पाउन सकेका छैनन् ।
आफूले खाइनखाइ जम्मा गरेको बचत रकम सबै हिनामिना हुँदा कतिपय सहकारी पीडितहरूलाई अहिले साँझ बिहान हातमुख जोड्न समस्या भइरहेको छ । अर्काेतर्फ अदालतले बचतकर्ताको रकम फिर्ता गराउन सम्बन्धित निकायलाई आदेश दिँदा समेत सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ता पाउन सकेका छैन् । जसका कारण सहकारी पीडितहरू अनशन बस्नेदेखि आन्दोलन अहिले जारी राखिरहेका छन् । त्यसैको एक उदाहरण बाँकेका सहकारी पीडितहरू हुन् । बाँके जिल्ला अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयन नहुँदा अहिले सहकारी वित्तीय विकास संस्था लिमिटेड बाँकेको तदर्थ समिति गठन तथा पीडितको न्यायका लागि आमरण अनशन सुरु गरेका छन् ।अदालतले निर्देशनात्मक आदेश दिए पनि बचत रकम फिर्ता नपाउँदा उनीहरू आमरण अनशन बस्न बाध्य भएका हुन् । बाँके जिल्ला र उच्च अदालतले आदेश दिएको दुई वर्ष बित्दा पनि जिम्मेवार सरकारी निकायहरूले उक्त आदेश पालना नगरी पीडितहरूलाई थप पीडा दिइरहेका छन् । बाँकेमा मात्र नभइ अहिले देशभरका लाखौँ सहकारी पीडितहरू आफ्नो रकम फिर्ता पाउनुको साटो दुःख पाइरहेका छन् । अर्काेतर्फ केही सहकारी सञ्चालक र सहकारीका कारण राम्रो काम गरिरहेका सहकारी बदनाम भइरहेका छन् ।
राम्रा काम गर्ने र बचतकर्ताहरूलाई आयमूलक काममा जोडेका उदाहरण पनि छन् । तर, केही व्यक्तिका कारण अहिले सहकारीको नाम सुन्नासाथ सबैले बचत अपचलन हुन्छ ? सहकारीमा पैसा जम्मा गर्न हुन्न् ? लगायतका गलत धारणाहरू सिर्जना भइरहेका छन् । यसतर्फ अहिले सहकारीहरूले आफ्ना सदस्य र बचकर्ताहरूलाई सचेतना फैलाउन आवश्यक देखिन्छ । होइन् भने राम्रो काम गरिरहेका सहकारी पनि थप समस्यामा पर्न सक्ने जोखिम रहेको छ । सहकारीमा बचत गरे रकम सुरक्षित हुने वातावरण उत्तिकै महत्वपूर्ण छ । सरकारले पनि सहकारी पीडितहरूको समस्या समाधान गर्न सहकारीको रकम अपचलन गर्नेहरूको घर, जग्गा र भएका सम्पत्ति लिलाम गरेर बचत फिर्ता गराउन जरुरी छ । अहिले सहकारी पीडितहरू नेता र सरकारको आश्वासनले थाकिसकेका छन् । तर, आफ्नो रकम भने फिर्ता पाउन सकेका छैनन् । बेलाबखत सरकारले सहकारी पीडितहरू आन्दोलित हुँदा सम्झौता गर्र्दै झरो टार्ने काम गरिरहेको छ । अब सहकारी पीडितहरूलाई आदेश, आश्वसन होइन् बचत रकम फिर्ता चाहिएको हो । त्यसैले सरकारले समयमै गम्भीर बन्न जरुरी देखिन्छ । सरकारले अपनत्व लिएर बचत रकम फिर्ता गराइ सरकार छ भन्ने अनुभूति दिलाउन अहिले आवश्यक देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्