कोहलपुर महोत्सवको तयारी तीव्र



कोहलपुर (बाँके) ।

यही पुस ९ गतेदेखि कोहलपुरमा सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको छ । कोहलपुर उद्योग वाणिज्य संघको आयोजना र व्यवस्थापनमा पुस ९ गतेदेखि १७ गतेसम्म कोहलपुरमा महोत्सव आयोजना हुँदैछ । ‘कोहलपुर महोत्सव, दीगो विकासको उत्सव’ भन्ने मूल नारासहित सञ्चालन हुन लागेको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी कोहलपुर महोत्सव–२०८२ को तयारी तीव्र पारिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईकाअनुसार महोत्सव कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक तथा साँस्कृतिक उत्थानका लागि महोत्सव आयोजना हुँदैछ । महोत्सव सफल बनाउनको लागि मूल आयोजक समितिसहित १० वटा उपसमितिहरूले तयारीको काम गरिरहेको उनले जानकारी दिए । महोत्सवलाई सफल बनाउन पूर्वतयारीका साथै विभिन्न सरोकारवाला निकायहरूसँग महोत्सव सफल बनाउन छलफल, अन्तक्र्रिया तथा सुझाव संकलनको काम भइरहेको अध्यक्ष भट्टराईले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्ने तय भएको महोत्सवको हालसम्म अनुमातित ६० प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ छ । अहिले मूल गेट, मुख्य स्टेज, स्टल, झुला, थारू गाउँ लगायतका अन्य संरचना निर्माणको काम तीव्र पारिएको छ । ‘कोहलपुर उद्योग वाणिज्य संघले सातौँपटक महोत्सव आयोजना गर्दैछ । हामी तीन वर्षपछि महोत्सव आयोजना गर्दैछौँ । महोत्सवको तीव्र रूपमा तयारी भइरहेको छ,’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भने ।

‘भिजिट बाँके नेशनल पार्क’ अभियान घोषणा गरिने

संघले महोत्सवमार्फत ‘भिजिट बाँके नेशनल पार्क’ अभियान सुरु गर्ने भएको छ । मनोरञ्जनसहित व्यवसायिक स्टल, स्थानीय उत्पादन प्रदर्शनी र पर्यटनलाई प्राथमिकता दिँदै संघले अभियान सञ्चालन गर्न लागेको हो । अभियानबारे प्रष्ट पर्दै संघका अध्यक्ष भट्टराईले भने, ‘बाँके राष्ट्रिय निकुञ्ज हामीसँग जोडिएको छ ।

निकुञ्जको प्रचार प्रसारका लागि अहिलेसम्म राज्यले त्यति ध्यान दिएको देखिँदैन । निजी क्षेत्रसमेत प्रभावकारी रूपमा काम गर्न सकेको छैन । यसपटक हामीले महोत्सवबाट नै ‘भिजिट बाँके नेशनल पार्क’ अभियान घोषणा गर्दैछौँ ।’ महोत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरसम्मका कलाकारहरूको प्रस्तुति रहनेछ । लघु, घरेलु तथा साना–ठूला उद्योग–व्यवसाय प्रवद्र्धन, हस्तकला तथा कृषि–पशुजन्य उत्पादन प्रदर्शनी गरिने आयोजक संघले जनाएको छ ।

यसैगरी, विद्यालयस्तरीय शैक्षिक र विज्ञान प्रदर्शनी, सूचना–सञ्चार प्रविधिका नयाँ आयामबारे छलफल, लोकसाँस्कृतिक प्रस्तुति, नयाँ प्रतिभा खोजी प्रतियोगिता र महिला विशेष कार्यक्रम आयोजना गरिनेछ । कोहलपुरलाई प्रदेशकै प्रमुख व्यापारिक तथा साँस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित यो महोत्सवलाई यस वर्ष अझ व्यवस्थित, समावेशी र सहभागिमूलक बनाइने आयोजकको दाबी छ । महोत्सवका माध्यमबाट स्थानीय उद्यमीको क्षमतावृद्धि, व्यवसायिक वातावरण विस्तार तथा समग्र क्षेत्रको दिगो आर्थिक प्रगतिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको संघले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार