कोहलपुर (बाँके) ।
बाँकेले नेकपा एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय लेखा आयोग सदस्यसहित ६ जना केन्द्रीय सदस्य जितेको छ । महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बनेका दुईजना भने पराजित भएका छन् । निर्वाचनमार्फत विजयी भएकामध्ये तीन जनाले पहिलोपटक बाँकेबाट केन्द्रीय कमिटीमा डेब्यु गरेका छन् ।
दुई जना दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा निर्वाचित भए भने एकजना लेखा आयोगमा दोहोरिएका छन् । लोकप्रिय मतसहित केपी शर्मा ओली प्यानलबाट महिला केन्द्रीय सदस्यमा बसन्ती अधिकारीले केन्द्रीय समितिमा डेब्यु गरेकी छन् । उक्त प्यानलबाट लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी अधिकारीले बाँकेबाट निर्वाचित भएकाहरूमध्येमा सबैभन्दा धेरै १८०१ मत प्राप्त गरिन् ।
हाल लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेकी अधिकारी नेकपा कोहलपुरको अध्यक्षसमेत भइसकेकी नेतृ हुन् । महिला केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमध्ये अधिकारी २७औँ स्थानमा रहेकी छन् । यस्तै पहिलोपटक केन्द्रीय सदस्यमा डेब्यु गरेकी आरती पौडेलले दोस्रो सर्वाधिक १७३६ मत प्राप्त गर्दै निर्वाचित भइन् । उनी किसान महासंघको प्रतिनिधित्व गर्दै बाँकेबाट महाधिवेशन प्रतिनिधि बनेकी थिइन् ।
ओलीको प्यानलबाट केन्द्रीय सदस्य उम्मेदवार बनेकी पौडेल लुम्बिनी प्रदेश सरकारकी पूर्वमन्त्रीसमेत हुन् । २०७४ को निर्वाचनमा बाँके क्षेत्र नम्बर १ को ‐ख) बाट निर्वाचित पौडेल प्रदेश सरकारको भूमि व्यवस्था,क ृषि तथा सहकारी मन्त्री बनेकी थिइन् । यस्तै ओली प्यानलबाटै केन्द्रीय लेखा आयोग सदस्यमा बाँकेकी विजया धितालले १६०७ मत प्राप्त निर्वाचित भएकी छन् ।
यसैगरी, केन्द्रीय सदस्य समावेशी (मुस्लिमतर्फ) बाँकेका मोम्हमद हारुन हलुवाई १३२० मतसहित विजयी भएका छन् । निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका सूर्य ढकालले १११८ मत प्राप्त गर्दै विजयी भए । उनी यसअघि समेत केन्द्रीय कमिटी सदस्य थिए । ढकाल २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । बाँकेबाट प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेशबाट खुला महिला केन्द्रीय सदस्यमा शान्तिदेवी ढकाल निर्विरोध निर्वाचित भइन् । उनी यसअघि पनि केन्द्रीय सदस्य थिइन् ।








प्रतिक्रिया दिनुहोस्