सल्यान ।
जिल्लामा कुखुरापालनलाई मुख्य व्यवसाय बनाएर आयआर्जन गर्ने किसान बढ्दै गएका छन् । आम्दानी बढ्दै जाँदा सयौँबाट सुरु गरिएका कुखुरा फार्ममा हजारौँ सङ्ख्यामा कुखुरा पाल्न थालिएको छ । गाउँमै केही गर्नुपर्छ भन्ने उद्देश्यले २०७७ सालमा फार्म दर्ता गरेर कुखरापालन व्यवसाय विस्तार गरेको बागचौर नगरपालिकाका–७ का तारादेव वलीले बताए ।
सुरुमा एउटा सानो कोठाबाट ब्रोइलर कुखुरापालन सुरू गरेको बताउँदै हाल कुखरापालनको आम्दानीले गाउँमै जग्गाजमिन जोड्न सफल भएको बताए । हाल उनको फर्ममा १८ हजार कुखुरा रहेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका त्रिवेणी गाउँपालिका कारेवासका रहिम दास मियाले पनि कुखुरापालनबाट वार्षिक २० लाख आम्दानी गर्दै आएका छन् । कुखुरा फार्मबाट दैनिक एक हजार ७०० बढी अण्डा मात्रै उत्पादन हु्ुने गरेको मियाले बताए ।
‘सात वर्ष विदेशमा बसेपछि आफ्नै गाउँघरमा केही गर्नु पर्छ भन्ने सोचका साथ स्वदेश फर्किए । अहिले कुखुरापालनमा व्यस्त छु,’ उनले भने, ‘विदेशको भन्दा सोचेजस्तै आम्दानी यहीँ भइरहेको छ ।’ उनी जस्तै पछिल्लो समय सल्यानका धेरै युवा कुखुरापालन व्यवसायमा लागेका छन् । जिल्लामा मासु र अण्डाको माग धेरै छ । स्थानीय उत्पादनबाटै माग पूर्ति गर्न गाउँगाउँमा कुखुरापालन व्यवसाय विस्तार हुँदै गएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले बताए ।
उनका अनुसार जिल्लाका केही स्थानीय तहले अनुदान, सहुलियत ऋण र बजार पहुँच विस्तारका कार्यक्रम अघि सारेका छन् भने अण्डा उत्पादनमा अनुदानसमेत दिने गरेका छन् । जिल्लामा स्थानीय जातका कुखुरासँगै ब्रोइलर, लेयर्स, हाँस कालिजलगायत पालन भइहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा व्यवसायिकरूपमा १३४ फार्म दर्ता भएका छन् । जिल्लामा वार्षिक आठ करोड ३५ लाख २० हजार अण्डा उत्पादन हुने गरेको तथ्यांक छ । उक्त उत्पादित अण्डा र मासु जिल्लामै खपत हुने गरेको छ । तर युवा किसानहरूको उत्साहलाई मूल्यको उत्तारचढाव, रोग र दाना महँगो हुनेजस्ता कुराले चुनौती दिइरहेको छ । युवा उद्यमीलाई कुखुरापालनले आत्मनिर्भर बन्ने ठूलो मद्दत पनि गरेको छ । जसले अन्य बेरोजगार युवाहलाई पनि यहीँ केही गर्न सकिन्छ भन्ने सकारात्मक सोचको विकास हुन थालेको छ ।









प्रतिक्रिया दिनुहोस्