श्यामलाल पोखरेल । बुटवल ।
आजदेखि बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव सुरु हुँदैछ । रुपन्देही उद्योग संघले आयोजना गरेको प्रदर्शनी १७ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीको पूर्वसन्ध्यामा बुधबार बुटवलमा औद्योगिक जनचेतना ¥याली निकालिएको छ । प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएको ¥याली राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाइन, ट्राफिकचोक, श्रवणपथ, चन्द्रनगर, सुक्खानगर हुँदै पुनः प्रदर्शनीस्थलमा पुगेर समापन गरिएको हो ।
¥यालीमा जातजाति, भेषभूषा, विद्यालय, धार्मिक, टोल विकास समिति, उद्योग गरी ५२ संघसंस्थाले सहभाािगता जनाएको रुपन्देही उद्योग संघले जानकारी दिएको छ । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सञ्चालन हुने प्रदर्शनीको अर्थमन्त्री डा. रामेश्वर खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विभिन्न प्रकृतिका ५ सय वटा स्टलहरू रहने प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरू निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले बताए ।
औद्योगिक जनचेतना ¥यालीका संयोजक थानेश्वर पाण्डेका अनुसार ¥यालीको समापनका अवसरमा ¥यालीमा सहभागीहरूलाई मूल्यांकनका आधारमा पुरस्कृत गरिएको थियो । नेवाः संस्कृति संरक्षण समाज प्रथम, क्षेत्री समाज जिल्ला कार्यसमिति नेपाल द्वितीय, कालिका मानवज्ञान मावि तृतीय र नेपाल लोक भजन चुट्किला संरक्षण प्रतिष्ठान, ग्रिल स्टील तथा आल्मुनियम व्यवसायी संघ रुपन्देही तथा स्कलर्सहोम सेकेण्डरी बोर्डिङ स्कुल बुटवल सान्त्वना भएका थिए ।
¥यालीमा सहभागी र पुरस्कृतहरूलाई कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले प्रमाणपत्र वितरण गरेका थिए । मूल्याकंन समितिका संयोजक दिलिप सापकोटाले मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेका थिए । मूल समितिका संयोजक कृष्ण पराजुलीको अध्यक्षता, सदस्यसचिव सुमन बस्यालको सञ्चालन र औद्योगिक जनचेतना ¥यालीका संयोजक थानेश्वर पाण्डेको स्वागतमा कार्यक्रम भएको हो ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेस्टुरेन्ट, कृषि, हस्तकला, फ्लोरीकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका ५ सय स्टल रहेका प्रचारप्रसार संयोजक किरण खरेलले मिसन टुडेलाई जानकारी दिए ।
प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरूको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगिता लगायतका प्रतियोगिताहरू आयोजना गरिने छ । १५ दिनसम्म चल्ने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोलकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको रुपन्देही उद्योग संघका कार्यकारी प्रमुख यादव भण्डारीले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्