वीरेन्द्रनगर ।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा कर्णाली प्रदेशबाट स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री यामलाल कँडेलले सचिव पदका लागि मनोनयन दर्ता गराएका छन् । कँडेलको प्रस्तावकमा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह रहेका छन्, भने समर्थकमा एमाले सुर्खेत जिल्ला अध्यक्ष कुलमणि देवकोटा छन् ।
यसअघि २०७८ मंसिरमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा पनि कँडेल सचिव पदका दाबेदार थिए । तर अन्तिम समयमा उनी केन्द्रीय पदाधिकारीमा समेटिन सकेका थिएनन् । अन्य प्रदेशले केन्द्रीय पदाधिकारीमा वर्चस्व जमाउँदा कर्णालीले भने हरेक अवसर गुमाउँदै आएको थियो ।
एमाले कर्णालीको राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका कँडेलले केन्द्रीय नेतृत्वको हेपाहा प्रवृत्तिका विरुद्ध प्रतिवाद गर्दै आएका थिए । सोही कारण अध्यक्ष ओलीले कँडेललाई असहयोग गर्दै आएका थिए । एमालेको केन्द्रीय नेतृत्वबाट कर्णालीलाई यतिसम्म उपेक्षा थियो कि प्रदेशको नेतृत्व गर्न इन्चार्जसमेत आयात गरिएको थियो ।
कर्णालीमा योग्य नेता हुँदाहुँदै इन्चार्जमा अन्य प्रदेशका नेतालाई कर्णालीको जिम्मेवारी दिइएको इतिहास छ । यति मात्रै होइन, संघीयता कार्यान्वयनपछि स्थापना भएका प्रदेश संरचनाको नेतृत्व लिन केन्द्रीय नेतृत्वले उपेक्षा गर्दै आएको थियो । बहुमत हुँदा होस् वा प्रदेश प्रमुख भागमा पर्दा एमालेको केन्द्रीय नेतृत्वले कर्णालीलाई उपेक्षा गरेर अन्य प्रदेशका नेताहरू आयात गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्