क्रान्तिकारी कवि तथा साहित्यकार वरवर राव



चिन्तामणि घिमिरे

वरवर राव एउटा यस्तो नाम हो, जो सत्ताको अगाडि झुकेन र झुक्दैन पनि । न दमनले लत्रिन्छ, न बन्दुकले तर्सिन्छ । ऊ आफ्नो युगको आवाज बन्छ । यो आवाज फासीवादको विरुद्ध प्रतिरोधको आवाज हो । यो अँध्यारोको विरुद्ध उज्यालो हो । एउटा आशा हो । ऊ कलम उठाउँछ र कविता लेख्छ । ऊ कवितामार्फत विद्रोह ओकल्छ । भारतको समग्र प्रगतिवादी साहित्य तथा लेखन क्षेत्रमा एउटा यस्तो नाम छ, जसलाई त्यहाँको सत्तासीन वर्गले समय समयमा औधी दुःख दिने र निकै सताउने गरेको पाइन्छ । जनताका पक्षमा लेख्ने र सत्ताको उत्पीडनको विरुद्धमा लिखित र मौखिक रूपमा आगो ओकल्ने एकजना व्यक्ति छन् ती हुन् वरवर राव । वरवर रावले आफ्नो क्रान्तिकारी विचारका कारणले जीवनको पचासी वर्षको उमेर अवस्थासम्म पनि राज्यको यातनापूर्ण जीवन भोग्न बाध्य छन् । गरिब दुखी र आदिवासी जनताका पक्षधर लेखक÷साहित्यकार वरवर राव भारतीय सत्ताधारी वर्गको हिंसाको सिकार बने । उनको विचारमाथि प्रतिबन्ध लाग्यो । काङ्ग्रेस आई होस् या भारतीय जनता पार्टी दुवै पार्टीको नेतृत्वमा बनेका सरकारले उनलाई निसाना बनाए ।वरवर रावको जन्म ३ नोभेम्बर १९४० मा आन्ध्र प्रदेशको वारङ्गल जिल्लामा भएको थियो । अहिले वारङ्गल जिल्ला तेलङ्गना राज्यमा पर्दछ ।

वरवर राव एउटा शिक्षित ब्राह्मण परिवारमा जन्मेका थिए । वरवर रावले उस्मानिया विश्वविद्यालय हैदरावादबाट तेलुगु साहित्यमा एमए गरेका थिए । सानै उमेरदेखि नै वरवर रावको साहित्यप्रतिको रुचि अत्यन्तै बढेर गएको थियो । बाल्यावस्थादेखि नै उनले तेलुगु भाषामा कविता लेख्न सुरु गरेका थिए । एमए गरेको केहि समयपछि वरवर रावको नियुक्ति महबुब नगर जिल्लाको एउटा कलेजमा प्राध्यापकको रुपमा भयो । त्यतिबेलासम्म वरवर रावको विचार क्रान्तिकारी भइसकेको थियो । उनको मान्यता रहेको छ कि साहित्यको उद्देश्य केवल मनोरञ्जन मात्र हुँदैन । साहित्यलाई समाजमा भइरहेको अन्याय, शोषण र अत्याचारको विरुद्ध लड्नको लागि एउटा हतियारको रुपमा देख्नु पर्छ । आफ्ना यिनै आदर्शहरुको लागि रावले तेलुगु भाषामा एउटा पत्रिका पनि निकाल्न सुरु गरे । यस पत्रिकाको नाम थियो सिर्जना (Creation) । आफ्नो यस पत्रिकामा रावले यस्ता रचनाहरुलाई स्थान दिन्थे, जुन रचनाहरुले गरिबहरुको पक्ष लिन्थे । पछि गएर यो पत्रिका अत्यन्तै लोकप्रिय भयो । वरवर रावले यसलाई मासिक रुपमा प्रकाशन गर्न थाले ।

सन् १९६० को दशकमा आन्ध्र प्रदेशमा श्रीकाकुलमको विद्रोह भयो । श्रीकाकुलम जिल्लामा गरिबहरुले जमिनदारका विरुद्धमा विद्रोह गरे । श्रीकाकुलमको यो विद्रोह पूरै तीन वर्षसम्म चलिरह्यो । वरवर रावको समर्थन श्रीकाकुलम्का गरिबहरुको पक्षमा थियो । उनले आफ्ना केहि साथीहरूसँग मिलेर एक सङ्गठन बनाए । यस सङ्गठनको नाम थियो विप्लव रचयिता संघम (Revolutionary writers Association ) अर्थात् क्रान्तिकारी लेखक संघ । क्रान्तिकारी लेखक संघको झन्डामुनि बसेर रावले विभिन्न गोष्ठीहरु र अन्तरक्रियाहरु गर्न थाले । आफ्नो साहित्यिक गतिविधिलाई अगाडी बढाउन थाले । कविता, लेख, निबन्धलाई तीव्रता दिन थाले । उनको लोकप्रियता यति बढ्न थाल्यो कि उनले आयोजना गरेको सभामा लाखौँ मानिसहरूको उपस्थिति हुन थाल्यो । आन्ध्र प्रदेशको सरकार रावको लोकप्रियता देखेर तर्सिन थाल्यो । सरकारले वरवर राव र उनका साथीहरूमाथि बर्बर दमन ग¥यो । कैयौँ जेल गए र कतिपयको त जागीर पनि खोसियो । सन् १९७३ मा उनलाई झुटो अभियोगमा जेल हालियो । तर उच्च अदालतले यो अभियोगलाई खारेज गरिदियो । वरवर रावको हिंसा भड्काउनमा कुनै हात नरहेको फैसला गरिदियो । सन् १९७४ मा आन्ध्र प्रदेशको सरकारले रावलाई फेरि अर्को झुटा मुद्दामा फसायो । यस मुद्दाको नाम थियो सिकन्दरावाद कन्सिपायरेन्सी केस । यो केस १५ वर्षसम्म चल्यो । सन् १९७९ मा वरवर रावको यो झुटो मुद्दा खारेज भयो । फेरि आन्ध्र प्रदेश सरकारले वरवर रावलाई अर्को झुटा मुद्दा लगायो । त्यो मुद्दा थियो राम नगर कन्सिपायरेन्सी केस । वरवर रावलाई सुरक्षाकर्मीको हत्याको आरोप लगाइएको थियो ।

सन् १९७५ मा जब देशमा संकटकाल लागू भयो । तब वरवर रावलाई फेरि जेलमा बन्द गरियो । मीसा एउटा कालो कानुन थियो । वरवर राव कैयौँ महिनासम्म जेलमा बसे । जेल नै उनको दोस्रो घर बन्यो । उनको जेल आउनेजाने क्रम चलिनै रह्यो । वरवर रावले आफ्नो जेल डायरी पनि लेखे । त्यतिबेलासम्म वरवर रावको गणना तेलुगुको महान कविहरुमा गनिन थालेको थियोे । उनको कविताका संग्रहहरु छापिइसकेका थिए । उनको कविता देशका धेरै भाषाहरुमा अनुवाद भइरहेका थिए । ती दिनहरूमा अलग तेलङ्गना राज्यको माग पनि जोडतोडले बढिरहेको थियो । वरवर राव अलग तेलङ्गना राज्यको स्थापनाको पक्षधर थिए । यस आन्दोलनमा पनि उनको दह्रो समर्थन र सहभागिता रहेकोे थियो । सन् २०१८ को अगस्ट महिनामा भारतको महाराष्ट्र राज्यको पुर्णेको पुलिसले उनको घरमा गएर हैदरावादमा उनलाई गिरफ्तार ग¥यो । उनलाई पुर्णेको भीमागाउँको हिंसा भड्काएको आरोप लगाइयो । उनलाई पुर्णेको यर्बदा जेलमा बन्द गरियो । केही समयपछि उनलाई मुम्बईको तलोजा जेलमा ल्याइयो । त्यतिबेलासम्म वरवर रावको उमेर असी वर्ष पुगिसकेको थियोे । उनलाई अनेक रोगहरुले सताइरहेको थियो । उनको साथी वर्नाड गोन्जालेस पनि तलोजा जेलमा थिए । वर्नाड गोन्जालेसले वरवर रावको धेरै सेवा गरे । वरवर रावको जीवन बाँच्न सफल भयो ।

सन् २०२० आउँदै गर्दा वरवर राव गम्भीर रुपले बिरामी भए । उनको आवाज बन्द हुन थाल्यो । उनको श्रीमतीले पत्रकार सम्मेलन गरिन् र वरवर रावको जीवनमाथि खतरा आइरहेको बताइन् । विश्वका एक सयभन्दा बढी बुद्धिजीवीहरुले भारतका राष्ट्रपतिसँग रावलाई तुरुन्तै रिहाइ गरियोस् भनेर अपिल गरेका थिए । यी बुद्धिजीवीहरुमा अमेरिकाका महान बुद्धिजीवी नोम चोम्स्की पनि थिए । बढ्दै गइरहेको जनदबाबको कारण वरवर रावलाई मुम्बईको तलोजा जेलबाट निकालेर मुम्बईकै जेजे अस्पतालमा भर्ना गरियो । अहिले पनि वरवर राव जीवनभरी कै मृत्युसँग जुधिरहेका छन् । उनको लामो दीर्घायु जीवनको कामना गर्न सकिन्छ । वरवर राव वैज्ञानिक दृष्टिकोण राख्ने कवि हुन् । उनको लागि कविता मनोरञ्जनको वस्तु नभएर सामाजिक परिवर्तनको माध्यम हो । यिनको कविताले जनताको दिल दिमागलाई छुन्छन् । कवितामा सामाजिक बदलाव, जीवन संघर्ष र जागरणको सन्देश छ । उनका कविताले मानिसहरुलाई रोटी दिन सक्दैनन् बरु रोटीको लागि संघर्षको प्रेरणा अवश्य दिन सक्छन् । जेलका कालकोठरी या दमन उत्पीडनका विभिन्न तौरतरिकाले उनलाई आफ्नो उद्देश्यबाट विचलित गराउन सकेनन् । वरवर राव तेलुगु साहित्य संसारमा चम्किरहेका लालतारा हुन् । उनले राजनीतिलाई हमेशा कमानमा राखे । संघर्ष र सिर्जना यसका दुई आँखा हुन् । यसैबाट नै तेलुगुको क्रान्तिकारी साहित्य पैदा भएको छ । वरवर राव एउटा बौद्धिक व्यक्तित्व हुन् । उनी कलमका सिपाही पनि हुन् । कविता र साहित्य क्षेत्रमा उनको राम्रो पकड देखिन्छ । उनका कविताहरुले उत्पीडित वर्गमा जागरण पैदा गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २८ गते आइतबार