रास्वपा सचिवालय बैठकका सात निर्णय



काठमाडौँ ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ १० को विनाशकारी बाढीपछि स्थगित गरेको पार्टीका गतिविधिहरू पुनः सुचारु गर्ने भएको छ । आइतबार बसेको सचिवालय बैठकले पार्टीका गतिविधिहरू पुनः सुचारु गर्ने निर्णय गरेको हो । विभिन्न ७ वटा निर्णय गरेको बैठकले भोटेकोशी विपद्का कारण राष्ट्रिय शोक र राहतमा केन्द्रित हुनुपरेकाले स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधिहरू पुनः सुचारु गर्ने निर्णय गरेको छ ।यसअन्तर्गत ‘हामी सुन्छौँ अभियान, ‘नागरिक नीति र नेतृत्व’ अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया लगायतका सांगठनिक तथा जनसम्पर्कका कार्यक्रमहरू अब अविलम्ब अघि बढाइने निर्णय गरिएको रास्वपाले जनाएको छ ।

बैठकले भोटेकोशी विपद् व्यवस्थापन तथा राहत सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको छ ।बैठकमा सभापति रवि लामिछानेले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि पार्टीका तर्फबाट सरकारमा सहभागी पदाधिकारी तथा सदस्यहरूले खोजी, उद्धार, राहत वितरण तथा पुनस्र्थापना र पुनर्निर्माणका कार्यहरूको बहुआयामिक पक्षहरूमा पार्टीलाई जानकारी गराएका थिए ।बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिसकेका व्यक्तिहरूको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुई पीडित परिवारलाई राहत तथा सुविधा प्रदान गर्न बैठकले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

यस्तै बैठकले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्री,परराष्ट्रमन्त्री लगायतको कार्यदललाई नेपालको भोटेकोशी विपदसँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्ने गरी तयारी गर्न नीतिगत निर्देशन दिने निर्णय गरेको छ । बैठकमा पार्टीको मधेश प्रदेशको सांगठनिक अवस्था तथा कार्यसम्पादन अडिटका सन्दर्भमा संयोजक तथा पार्टीका सह–महामन्त्री हरि ढकालले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विस्तृत प्रतिवेदन प्राप्त भएपश्चात् पार्टीले आवश्यक थप रणनीतिक कदमहरू अगाडि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता जगदिश खरेलले जानकारी दिए । पार्टीको केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिइएको छ ।

अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, श्री रामचन्द्र कार्की,अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू , अधिवक्ता भविन्द्र रार्ई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुङ्खे र अधिवक्ता श्वेता कुमारीलाई आयोगको सदस्य पदमा नियुक्त गरिएको छ ।त्यसैगरी, ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखका रूपमा मनोनयन गरिएको उनले जानकारी दिए । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मत जंग कार्कीलाई नियुक्त गरिएको छ । साथै सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।बैठकमा नव–मनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सह–प्रवक्ता श्री सुरेन्द्र चौधरीले पार्टी सभापति लामिछानेसमक्ष आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूले आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता र आर्थिक कूटनीतिका विषयमा सचिवालयलाई विस्तृत जानकारी गराएको उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार