कोहलपुर
बाँकेको एकमात्र उप–महानगरलाई महानगर बनाउन पहल सुरु भएको छ । जिल्लाका आठ स्थाानीय तह मध्ये एक मात्र उप–महानगरपालिकाका रुपमा रहेको नेपालगन्जलाई महानगरपालिका बनाउनका लागि पहल थालिएको हो । लामो समयदेखि नेपालगन्जका मेयर डाक्टर धवल शम्शेर राणा यो विषयमा उठाउँदै आएका छन् ।
यस अघि कोहलपुर र नेपालगञ्जलाई मिलाएर महानगर बनाउने विषयमा अनौपचारिक रुपमा छलफल हुने गरेका थिए । तर दुवै पालिकाले चालु आर्थिक वर्षको कार्यक्रममा नै महानगरको लागि पहल गरिने कार्यपालिकाको बैठकबाट निर्णय समेत गरिसकेका छन् । दुई महिना अघि कोहलपुर र नेपालका मेयरको सहभागितामा सम्भाव्यता अध्ययन लगायतका विषयमा छलफल भएको थियो । त्यसको दुई महिनापछि नेपालगञ्जमा समेत यस विषयमा छलफल भएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाले महानगरपालिकाका लागि डिपीआरसँगै एकीकृत विकास योजना समेत तयार भइरहेको जनाएको छ । मेयर डाक्टर धवल शम्शेर राणाले पछिल्ला गरिएकै कार्यक्रमको निरन्तरता स्वरुप छलफल भएको जानकारी दिए । राणाले राजनीतिक पार्टीको आवद्धता भन्दा माथि उठेर आम जनतासँगको अन्तरक्रियालाई जोड दिन सुझाव दिएका छन् । उनले भने जस्तो कोहलपुर र नेपालगन्ज मिलेर महानगर बनाउने कुरामा राजनीतिक दल बीच मतभिन्नता देखिन्छ । आम नागरिक सहरलाई महानगरपालिका बनाउन इच्छुक भएको दाबी छ ।
तर राजनीतिक दलमा आवद्ध नेता कार्यकर्ताहरु भविष्यको राजनीतिक पदलाई प्राथमिकता दिने भएकाले जनताको सुझाव महत्वपूर्ण हुने उनको धारणा छ । डिपीआरको काम गरिरहेको संस्था अपडेनका मनिषराज जोशीले प्रारम्भिक चरणको कार्य असारभित्रै सम्पन्न गर्ने योजनाका साथ अघि बढेको जानकारी दिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, वडाअध्यक्ष लगायत जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति थियो । अध्ययन टोलीको महागनगको धारणा बुझ्नको लागि वडा तहसम्म पुगेर पनि काम गर्नेछ ।