समीक्षाः जीतबहादुर शाहले ध्यानाकर्षण गराउन खोजेको कुरा



डम्बर बहादुर खत्री

जीतबहादुर शाहको जन्म वि.सं.२०२० साल भाद्र ८ गते सल्यान जिल्लाको कुमाख गाउँपालिकामा भएको थियो । उहाँका माता पिताको नाम पशुपती शाह र नरबहादुर शाह हो । शाह हाल नेपालगञ्ज उपमहानगरपालिका बड़ा नं. १८ मा स्थायी रूपमा बस्दै आउनुभएको छ । शाहकी धर्मपत्नीको नाम पदमा शाह हो । उहाँको परिवारमा छोरा, बुहारी, छोरी र नाति समेत रहेका छन् । शिक्षाको क्षेत्रमा अमूल्य योगदान पु¥याउँदै आउनुभएका शाहले शिक्षामा टि.यु.बाट एम.एड र के.यु.बाट एम.फिलको समेत शिक्षा उपाधि हासिल गर्नुभएको छ । वि.सं.२०४० देखि २०६४ सालसम्म अध्यापन तथा प्राध्यापन पेसामा संलग्न शाह वि सं.२०५० सालदेखि २०७१ सालसम्म निजामति सेवाको शिक्षा प्रशासनमा निरीक्षक, शाखा अधिकृत, तालिम प्रमुख, जिल्ला शिक्षा अधिकारी, आयोजना निर्देशक रहनुका साथै कर्णाली प्रदेशको योजना आयोगको सदस्य भएर समेत आफ्नो कार्यकुशलता प्रर्दशन गर्नु भएको थियो । शाहले हाल थुप्रै संघ सस्थाहरुमा रही अनवरत रूपमा शिक्षा, भाषा र साहित्यको क्षेत्रमा अमूल्य योगदान पु¥याउँदै आउनुभएको छ ।

नेपाली भाषा र साहित्यलाई औधी माया गर्ने शाहले दर्जनौँ प्राज्ञिक ग्रन्थहरू प्रकाशित गरिसक्नु भएको छ । नेपाली साहित्यको क्षेत्रमा भने ‘विद्यार्थीहरुलाई लेखिएको चिट्ठीको सङ्गालो’ (२०६९), ‘शिक्षा, सुनपानी र संपना’ (निबन्धसङ्ग्रह–२०७१), ‘विद्यार्थी देवो भवः’ (निबन्धसङ्ग्रह–२०७३) ‘शिक्षा र सिर्जना’ (निबन्धसङ्ग्रह–२०७५), ‘एक सन्दर्भ अनेक’ (निबन्धसङ्ग्रह २०६८) गरी चारवटा निबन्ध सङ्ग्रह प्रकाशित भएका छन् भने ’ध्यानाकर्षण’ उहाँको पछिल्लो’ लघुकथा सङ्ग्रह हो । यो सङ्ग्रह वि.सं.२०८१ मा प्रकाशित भएको हो । नेपाली माटो, नेपाली धर्म, संस्कृति र परम्परालाई औधी माया गर्ने शाहद्वारा लिखित ‘ध्यानाकर्षण’ लघुकथा सङ्Þग्रह हो । यस सङ्ग्रहमा जम्मा ५६ वटा लघुकथाहरू रहेका छन् । जुन आपैmमा आ आफ्नो परिवेशका लागि महत्वपूर्ण मानिन्छन् । लघुकथा आफैमा पनि सूक्ष्म कथानक, पात्र र परिवेश भएको विधा हो । त्यसैले यस कथा संग्रहमा परिवेश र घटनाअनुकुल पात्रलाई संयोजन गरी कथालाई रोचक र आकर्षक बनाउने प्रयास गरिएको छ ।
यस ‘ध्यानाकर्षण’ कथा सङ्ग्रहमा रहेका विभिन्न कथामध्य ‘नयाँ घरजम’, पर्खाइ, खुसी, ‘टिमोट’ दुई किनारा, अल्लारे उमेर, माया गर्ने बुढा,े मालिक, मिस यु, जन्मोत्सव, च्याउको मेला’ हिसाबकिताब, अर्की छोरी, हरिया सर्पहरु, माँ र मदिरा’, हिउँको मन, मातृवात्सल्य, आदि कथाहरु सामाजिक विषयवस्तुमा आधारित कथा हुन् ।

यी कथा मध्य सुरुमा रहेको ’नयाँ घरजम कथा निकै रोचक र सन्देशमूलक कथा हो । यस कथामा लामो वर्षको अन्तरालपछि घरमा फर्किएको देवीरामले विभिन्न निहुँ र शड़्कामा श्रीमती चम्पालाई कुटेपछि श्रीमानको कुटाई सहन नसकी दुई छोरालाई घरमै छोडेर चम्पा माइत जान बाध्य पारिन्छ । माइतीमा दाजुभाउजूको उदेगलाग्दो व्यवहार सहन नसकी ऊ अर्कैसँग बिबाह गरेर गएपछि उसको पहिलो श्रीमान्ले अर्की श्रीमती ल्याउँदा चम्पा र नरेका ती अबोध दुई छोराहरु सडक बालबालिक बन्न पुगेको तितो कारुणिक कथा प्रस्तुत गरिएको छ । अर्को रोचक र मर्मस्पर्शी कथा अन्तर्गत प्रविधि पनि रहेको छ । यस कथामा लताको प्रविधितर्फको आकर्षण, आमाप्रति गरेको व्यवहार र आमा लता छोरीलाई छोडी–घरबाट निस्किएको घटना देखाई तत्कालीन समाजमा प्रयोग गरिने मोबाइल ल्यापटपको प्रयोगले मानिसको मनस्थितिलाई विकृत तुल्याउदै लगेको र पारिवारिक सामाजिक तथा साथीभाइ बीचको सम्बन्धमा दरार ल्याइदै गरेको तितो यथार्थलाई प्रस्तुत गरिएको छ ।

सामाजिक विषयवस्तुमा आधारित सन्देशमूलक कथा अन्तर्गत खुसी पनि रहेको छ । यस कथाले रोचक मर्मस्पर्शी प्रसङ्गलाई प्रस्तुत गरी वास्तविक खुसी प्राप्त गर्न आफू परिवर्तन हुनुपर्छ र खुसी साना साना कुराबाट पनि प्राप्त गर्न सकिन्छ भन्ने विचार प्रस्तुत गरिएको छ ।
माया प्रेम, मिलन बिछोडमा आधारित रोचक वयस्क युवा युवतीलाई मध्यनजर गरी लेखिएको पूर्ण र पूर्णतालाई तत्कालीन युवा वर्गको प्रतिनीधि बनाई प्रस्तुत गरिएको अर्को रोचक कथा दुई किनारा’ हो । यस कथामा पूर्णताले आफ्नो प्रेमलाई समयमै अभिव्यक्त नगर्दा दुई किनारा हुनुपरेको अवस्थालाई देखाउदै प्रेमलाई सफल बनाउन आफूमा भएको प्रेमलाई समयमै व्यक्त गर्न सक्नु पर्छ नत्र लगन पछिको पोते हुन्छ भन्ने विचार प्रस्तुत गरिएको छ । शाहको अर्को रोचक र सन्देशमूलक कथा अन्तर्गत ‘अर्की छोरी’ रहेको छ । यस कथामा दुई दम्पत्तिले छोरो जन्माउने चाहना हुँदा हुँदै तीन वटी छोरी जन्मिएकाले निराश बनेको तर कालान्तरमा तिनै छोरीले आमाबाबाको मान, सान उच्च राख्न सहयोग गरेको घटना देखाई आजको पुरुषप्रधान समाजमा छोराभन्दा छोरी नैे उचित हुन्छन् । छोरा र छोरी बिच भेदभाव राख्नु हुँदैन । उचित शिक्षा दिक्षा पाएमा छोरीले पनि सानदार काम गर्न सक्छन् भन्ने भावलाई प्रस्तुत गरिएको छ ।

‘हरिया सर्पहरू’ कथाकार शाहको अर्को सन्देश मुलक कथा हो । यस कथामा तत्कालीन नेपाली समाजको जल्दोबल्दो समस्यालाई आधार बनाएको छ । यस कथामा सुखी, सम्पन्न, सहयोगी, आत्मीयताले भरिपूर्ण एउटा शान्त गाउँलाई केही अवसरवादी भष्ट्र व्यक्तिले दरार ल्याउँदा त्यो गाउँ द्वन्द्व र वैमनस्यतामा रूपान्तरण भएको र त्यस्तो भ्रष्ट, राज्यको अर्थतन्त्र, गाउँको बाटोघाटो दोहन गर्ने व्यक्ति विभिन्न संगठनद्वारा गाउँवस्ती मेलमिलापमा योगदान दिएको भनी सम्मान गरिएको घोर आपत्तिजनक घृणित अवस्थालाई दृष्टान्तको रूपमा प्रस्तुत गरी तत्कालीन सामाजिक व्यवहारको ध्वज्जी उडाइएको छ । अर्को रोचक विषयवस्तुमा आधारित कथा अन्तर्गत ‘माया गर्ने बुढा’े पनि रहेको छ । यस कथामा उल्लेखित पात्रको माध्यमबाट कथाकारले एउटा सचेत नारीले श्रीमान्को दैनिक अवस्थालाई समयमै विचार पु¥याउनुपर्छ । श्रीमान् अर्कै सुन्दरीको मायाजालकों पासोमा फसेर बर्वाद हुनुसक्छ भन्ने कुरामा सचेत बनाउन खोजिएको छ ।

‘लाहुरे’ कथामा लाहुरेको सानो भूलका कारण उसकी श्रीमती दुव्र्यसनमा फस्दा घरवार चौपट्टै भएको अवस्थालाई लेखाई मादकपदार्थ सेवनले घरबार बर्बाद बनाउँछ, भन्दै यस्तो कुरामा सचेत हुन आग्रह गरिएकोछ । यसरी कथाकार शाहद्वारा उल्लेखित विभिन्न कथाका माध्यमबाट कतै आमाले छोरालाई कुलतमा फसाएको र घर परिवार बर्बाद भएको घटनालाई प्रस्तुत गरिएको छ, भने कतै श्रीमान् र श्रीमती बेलैमा सचेत नभई सानो झगडामा पनि सम्बन्ध विच्छेदमा पुगेको र कालान्तरमा पछुताएको कारुणिक अवस्थालाई समेत मार्मिक ढङ्गले प्रस्तुत गरी पाठकलाई मार्मिक सन्देश प्रवाह गर्न सफल भएको देखिन्छ । कथा सङ्ग्रह ‘ध्यानाकर्षणमा’ रहेका कथामध्य ‘मर्यादित परीक्षा’, ‘ध्यानाकर्षण’, ‘सदस्यता’, ‘थाहा’ ‘अभिभावक शिक्षा’, ‘प्रथम पाठशाला’, ‘प्रभावकारिता’, ‘मृत्युमार्ग’, ‘तेस्रो आँखा’, ‘गुरुको महिमा’, ‘गरिखाने शिक्षा’, ‘अन्तिम दिन’, ‘अभागी विद्याथीर्’, ‘तारेख’, ‘वैकल्पिक उम्मेदवार’, ‘पाखे’, ‘सेतो गुराँश’, राजाको काम आदि शैक्षिक विषयवस्तुमा आधारित कथाहरू हुन् । जसमध्य मर्यादित परीक्षा’ कथामा केन्द्राध्यक्षले परीक्षालाई मर्यादित बनाउन खोजेको निरीक्षकलाई आवश्यक निर्देशन पनि दिइएको, परीक्षा मर्यादित भएको भनी दावी पनि गरिएको तर एकजना परीक्षार्थी शिक्षकले सेतो पाटीमा लेखेको कुरा उत्तरपुस्तिकामा सार्न नपाउदै मेटेका कारण आफू फेल हुने भन्दै अफिसमा आएर रोएको घटनालाई प्रस्तुत गरिएको छ । साथै तत्कालीन परीक्षा प्रणाली केवल भाषण र नारामा मात्र मर्यादित भएको तर व्यवहारमा लागु हुन नसकेको तितो यथार्थलाई प्रस्तुत गरिएको छ ।

अर्को व्यवहारमा शैक्षिक विषयवस्तुसँग सम्बन्धित कथा ‘ध्यानाकर्षण’ हो । यस कथामा छात्रा सरिता कसरी आफ्नै हाडनाता पर्ने व्यक्तिबाट यौन दुव्र्यवहारमा परेकी छिन् ? शिक्षिका सरिताले चासो दिने प्रयास गरेको तर पूर्ण रूपमा समयमै चासो र सरोकार नराख्दा सरिताको जीवन बर्बाद भएको अवस्थालाई देखाई एउटा शिक्षकको पढाउनु मात्र कर्तव्य होइन, उनीहरूको शारीरिक मानसिक अवस्थालाई मध्यनजर गरी यस्ता जटिल समस्याबाट बचाउनु पनि हो भन्ने गहन विचार व्यक्त गरिएकोे छ । यस कथा सङ्ग्रहको शैक्षिक विषयवस्तुमा आधारित महत्वपूर्ण कथा अन्तर्गत ‘सदस्यता’ पनि रहेको छ । यस कथामा पूर्णिमाले कुनै पनि सङ्गठनको सदस्यता नलिएका कारण उनको मागलाई कसैले नसुनेको शैक्षिक यथार्थतालाई प्रस्तुत गरिएको छ । साथै तत्काली शिक्षा प्रणालीमा देखिएका विकृतिको भण्डाफोर गरिएको छ । ‘थाहा’ शाहको अर्को शैक्षिक विषय वस्तुमा आधारित कथा हो । यस कथामा तेजबहादुरजस्ता होनहार सचेतक शिक्षकहरु कसरी शिक्षक सेवामा नाम निकाल्न नसक्दा शिक्षण पेसाबाट बाहिरिन बाध्य हुन्छन् भन्ने देखाई शिक्षक सेवा आयोगमा नाम निकाल्न व्यवहारिक भएर मात्र हुँदो रहेनछ, रट्टा पनि लाउन सक्नु पर्दो रहेछ भन्ने भाव व्यक्त गरिएको छ ।

‘अभिभावक शिक्षा’ कथा पनि प्रत्येक बालबालिकाका र अभिभावकका लागि सन्देशमूलक कथा हो । यस कथामा एकजना सहजकर्ता र अभिभावक महिला लक्ष्मीकी आमाको छोटो बहसका माध्यमबाट अभिभावहरुले छोराछोरीलाई विद्यालय पठाएर मात्र हँुदैन । उनीहरूको विद्यालयमा हुने गतिविधि तथा छोराछोरीलाई बढीभन्दा बढी समय दिनुपर्छ भन्ने सन्देश प्रदान गरिएको छ । ध्यानकर्षणका कथा सङग्रहमा रहेको चोटिलो गहनभाव बोकेको कथा हो ‘प्रथम पाठशाला’ । यस कथामा प्रकाशजस्तो छोराछोरीलाई आफूले बराबर संस्कारी कसैले नि बनाउन नसकेको भनी घमण्ड गर्ने व्यक्तिको घमण्डलाई पाठशालाका शिक्षकले तपाईले छोराछोरीलाई कस्तो संस्कार दिनुभएको भनी लज्जित बनाएको घटनाक्रमलाई प्रस्तुत गरी बालबालिकालाई उचित संस्कार दिनु प्रत्येक बुबाआमाको कर्तव्य हो भन्ने विचार प्रस्तुत गरिएको छ ।
अर्को रोचक तथा सन्देशमूलक कथा अन्तर्गत ‘तेस्रो आँखा’ पनि रहेको छ । यस कथामा एक जना निरक्षर महिलाले बोर्डमा लेखेको कुरा पढ्न नसक्दा आफूले खोजेकै अफिसमा पुग्दा पनि अफिसको नाम सोधेको घटना देखाउँदै शिक्षा भनेको दोस्रो आँखा हो । यो आँखाबाट कोही पनि वञ्चित हुनुहँुदैन भन्ने भाव प्रस्तुत गरिएको छ ।

अर्को सन्देश मूलक कथा अन्तर्गत ‘गुरुको महिमा’ पनि रहेको छ, यस कथाको मुख्य पात्र, मोहन ४० वर्ष पुगेपछि आफूलाई बूढो महशुस गरेको तर ७० बर्षीय डा. केदार गुरु यो उमेरमा पनि साहित्य लेखनमा तल्लीन भएको देखेर आफू बुढो नभएको महशुस भएको घटनाक्रमलाई प्रस्तुत गरी सिर्जनामा रमाउन उमेरले छेक्दैन । उमेर मात्र बलवान होइन, सबैभन्दा ठूलो इच्छाशक्ति हो । व्यक्तिले इच्छा शक्ति बलियो बनायो भने जुन उमेरमा पनि जवानले जस्तै काम गर्न सक्छ भन्ने भावलाई प्रस्तुत गरिएको छ । शैक्षिक विषयवस्तुमा आधारित रोचक तथा सन्देशमूलक कथा अन्तर्गत ‘अन्तिम दिन’ ’अभागी विद्यार्थी’ तारेख वैकल्पिक उम्मेदवार, पाखे’ राजाको काम’ आदि रहेका छन् । यी कथा तत्कालीन शैक्षिक गतिविधिका समस्यासँग सम्बन्धित भई ती समस्यालाई चिरेर नजाने हो भने परिवार समाज र राष्ट्रको उचित मात्रामा प्रगति गर्न सकिँदैन भन्ने भावमा बगेका छन् । कथाकारले सिर्जनशीलजस्ती सांनी प्रतिभाशाली बालिकाकी आमा पोइल जाँदा पढाइ अन्तिम दिन भएको कहाली लाग्दो घटना देखाई ती बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा कसको दायित्व रहेको छ ? भनी गम्भिर प्रश्न उठान गरेकको देखिन्छ ।

त्यस्तै ‘अभागी विद्यार्थी’ कथामा लागुपदार्थ सेवन गरी लागुपदार्थ सेवनको बेफाइदा विषयसँग सम्बन्धित पाठ अध्यापन गराउने शिक्षक र शिक्षाप्रणाली अझै पनि हामो समाजमा भएको देखाउँदै के यो उचित छ ? यस्ता खाले शिक्षाकबाट पढाइएका विद्यार्थीहरुको आचरण कस्तो होला ? भन्ने गम्भिर प्रश्न तेस्र्याएको देखिन्छ । त्यस्तै परीक्षालाई मर्यादित बनाउन खोज्दा अाँफै अमर्यादित भई तारेख बोक्न बाध्य बनाइएकी शिक्षिकाको कारुणिक घटनालाई पनि यस कथा सङ्ग्रहमा प्रस्तुत गरिएको छ । होनहार शिक्षकहरू क्षमतावान हुँदा हुदै पनि नातावाद कृपाबाद घुष प्रथाका कारण कसरी वैकल्पिक उम्मेदवार बन्न बाध्य पारिएका छन भन्ने तितो यथार्थतालाई समेत यस कथा सङ्ग्रहका माध्यमबाट प्रस्तुत गरिएको छ । कतै नेपाली भाषा बोल्ने तर अङ्ग्रेजी भाषा बोल्न नजान्दा पाखे भइने सोच राख्ने हाम्रो समाजकोे प्रतिकूल दृष्टिकोणलाई कतै सेतो गुराँस कथामा उल्लेख गरिएको जस्तै प्रविधियुक्त नमुना विद्यालय दुर्गम पहाडी क्षेत्रमा पनि रहेको दृश्यलाई देखाउँदै यस्ता नमुना योग्य विद्यालय देशका प्रत्यक दुर्गम गाउँमा हुनुपर्छ र नमुना विद्यालयलाई दुर्गन्धित बनाउन दुव्र्यसनमा फसेका दुईचार जना विधार्थी हुन सक्छन ।

त्यस्ता विद्यार्थीबाट सोझासाझा श्रममा विश्वास गर्ने होनहार विद्याथीलाई बचाएर लान सक्नुपर्छ भन्ने विचार समेत कथाकारले प्रस्तुत गरेको देखिछ । साथै नेपाली भाषाको गरिमालाई सबैले महत्व दिनुपर्छ भन्ने विचारलाई समेत कथाको माध्यमबाट व्यक्त गरिएको छ । शाहका विभिन्न विषयवस्तुमा आधारित कथामध्य रोचक तथा मर्मस्पर्शी ऐतिहासिक, राजनैतिक तथा प्रशासनिक विषयवस्तुमा आधिरित कथाहरु पनि रहेका छन् । जस अन्तर्गत ‘सिंह दरबार’, ‘प्रधानमन्त्री’, ‘सत्ता समिकरण’, ‘सिर्जनशील प्रशासन’ आदि रहेका छन । सिंहदरबार कथाका माध्यमबाट कथाकारले सिंह दरबारमा सिंह मात्र फेरिएको तर दरबार फेरिन नसकेकाले देशमा चौतर्फी घुस प्रर्था, भ्रष्ट्राचार, कमिसन जस्ता विकृतिहरु अझै पनि उत्तिकै जरा गाडेर बसेको यथार्थलाई प्रस्तुत गरिएको छ । देशमा प्रजातन्त्र आयो, लोकतन्त्र, गणतन्त्र धेरै राजनैतिक परिवर्तन भए तर देश र जनताको वास्तविक शासन नआएकाले सर्व–साधारण जनताले अझै पनि शास्ती खेपिरहेको सत्यमाथि व्यङग्य भाव प्रस्तुत गरिएको छ ।
अर्को राजनैतिक विषयवस्तुमा आधारित कथा ‘प्रधानमन्त्री’ हो । यस कथामा कथाकारले प्रधानमन्त्रीलाई भेट्न एक जना प्रधानमन्त्री नेपाली नाम गरेका व्यक्ति जाँदा आफूलाई अपमान गरेको ठानी प्रधानमन्त्री र उनका सुरक्षाकर्मीले देखाएको निर्मम निन्दनीय व्यवहारलाई देखाउँदै तत्कालीन राजसत्तामा आसिन मन्त्रीको धज्जी उडाइएको छ ।

रोचक कारुणिक तथा मर्मस्पर्शी कथा अन्तरर्गत ‘सत्ता समिकरण’ कथालाई लिन सकिन्छ । यस कथामा लालमतीको श्रीमान् विदेशी फौँजीमा निधन भएको, दुई वटा छोरामध्य एउटा राज्यको पक्षबाट र अर्को छोरा विद्रोही पक्षबाट युद्धमा तैनाथ हुँदा, एकै दिन सहिद भएको कहाली लाग्दो घटना प्रस्तुत गरी जनतालाई लडाएर सत्तामा पुग्नेहरु सत्ता समिकरणमा भाग बण्डा गर्नमै व्यस्त देखिन्छन् । उनीहरुलाई वीर सहिद र उनका परिवारको कुनै वास्ता छैन तर लालमती जस्ता काख रित्तिएका आमाहरु साहारा नपाई बौलाही बनेर हिँड्न बाध्य पारिएको हृदयस्पर्शी दृश्य देखाइ तत्कालीन राजसत्तामा आसिन राजनेताप्रति व्यङ्ग्य बिद्रोहको भाव प्रस्तुत गरिएको छ । यस ‘ध्यानाकर्षण’ कथा सङ्ग्रहमा रहेको अर्को जल्दो बल्दो राजनैतिक तथा प्रशासनिक विषयवस्तुलाई छोएर लेखिएको कथा ‘सिर्जनशील प्रशासन’ पनि हो । यो कथा राजनैतिक अस्थिरता प्रशासनिक लापर्वाहीका कारण सर्वसाधारण नेपाली जनताले के कस्ता समस्या झेल्नु परेको छ ? सर्वसाधारणको आवाज र समस्यालाई सुनिदिने निकाय कुन हो ? किन प्रशासनिक कार्यालयमा काम गर्ने कर्मचारीहरु यसरी निर्मम बनिरहेका छन ? भन्ने प्रश्नमां केन्द्रित देखिन्छ । साथै यस्तो प्रशासनिक प्रणालीको अन्त्य नहुँदासम्म देश र जनताले मुहार फेर्न सक्दैनन् भन्ने विचार समेत प्रस्तुत गरिएको छ ।

शाहद्वारा लिखित ध्यानाकर्षण कक्षासंग्रहको कभर र भित्रका चित्रमा एआइको प्रयोग गरेको देखिन्छ यसमा एआइ प्रयोगको सट्टा कलाकारहरुको प्रयोग गरी चित्रहरु कोरिएको भए अझ राम्रो देखिन्थ्यो । त्यस्तै कक्षाहरुमा प्रयोग गरिएको शैलीअन्तर्गत शैलीलाई शैलीलत ढङ्गले अलग अलग छुट्याइदिएको भए अझ राम्रो हुन्थ्यो । त्यस्तै ‘नयाँ घरजम’ कथामा केही बर्षपछि देविराम घर फर्किएको घटनालाई प्रतुत गर्दा त्यसमा कहाँबाट, कुन देशबाठ वा ठाउँबाट हो तोकेको भए अझ राम्रो हुन्थ्यो कि ? ‘त्यस्तै–त्यस्तै’ कथा जस्तै कतिपय एक दुई वटा कथाहरु विषयवस्तु गत तथा भावका दृष्टिले कमजोर देखिन्छन् । यी यावत् विषयमा ध्यान दिन सकेको भए कथा सङ्ग्रह अझ उत्कृष्ट हुन्थ्यो होला । कथाकार शाहका नयाँ घरजम’ कथादेखि जेठाजुसम्मका प्रत्यक कथाहरु उत्तिकै महत्वपूर्ण रोचक, कौतुहलपूर्ण हुनुका साथै सन्देशमूलक, रहेका छन् ।

यी कथाहरू पढेर पाठकले हाम्रो समाजमा विद्यमान सामाजिक, शैक्षिक, राजनैतिक तथा प्रशासनिक समस्यालाई नजिकैबाट बुझने अवसर प्राप्त गर्ने छन् । सरल, सहज भाषा शैलीको प्रयोगले पनि कथा सामान्य पाठकका लागि पनि निकै उपयोगी देखिन्छन् । विद्यार्थी जीवन, शैक्षणिक जीवन आदि विविध जीवनसँग जोडेर कसरी जीवनलाई कोहीनुर बनाउन सकिन्छ भनी मार्गदर्शन गर्ने काम प्रत्यक कथाले गरेका छन् । समाजका जल्दाबल्दा समस्यालाई उठान गरेर ती समस्याको समाधानसँग पनि कथाहरु उत्तिकै महत्वपूर्ण मानिन्छन् । विशेष प्रकारले विद्यार्थीवर्गका लागि कथाकार शाहका कथाहरु उत्तिकै महत्वपूर्ण रहेका छन् । कथाकार आफू पनि शिक्षा र शिक्षण पेशासँग आबद्घ भएर पनि होला शिक्षा क्षेत्रमा देखिएका बेमेल वेथितीलाई चिर्न कथाकार सफल भएको देखिन्छ । साथै कथाकार तत्कालीन राजनैतिक तथा प्रशासनिक क्षेत्रमा देखिएका विकृति तथा विसङ्गतिलाई समेत चिर्न उत्तिकै सफल भएको देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार