हुलाकको सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया



डुडुवा (बाँके) ।

जिल्ला हुलाक कार्यालय बाँकेले नागरिकसँग सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया एवमं प्रचारप्रसार कार्यक्रम बिहीबार डुडुवा गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ । डुडुवा गाउँपालिकामा रहेका सबै प्रकारका बैंकहरु, लघुवित्तीय संस्था, सहकारी संस्था, सरकारी कार्यालय तथा सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधिलगायत सरोकारवाला नागरिकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा हुलाकको सेवा प्रवाहसम्बन्धी विस्तृत जानकारी पावर प्वाइन्टमार्फत खरिदार रामबहादुर चौधरीले प्रस्तुत गरेका थिए । हुलाकले प्रदान गर्ने सेवासम्बन्धी जानकारी, हुलाक सेवा लिँदादिँदा आइपर्ने समस्याहरु, समस्या समाधानका विकल्पहरु, सेवाग्राहीको दायित्वहरु, बदलिँदो परिस्थितिमा हुलाकले अन्य निकायसँग प्रतिस्पर्धा दिने गरी सेवा कार्यविधिमा गरेका सुधारहरु लगायतका मुख्य विषयबस्तुमा प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा सहभागीले सरकारबाट सबै प्रकारका चिट्ठीपत्रहरु हुलाकबाट पत्राचार गर्नुपर्ने कार्यक्रम बृहत् रुपमा गर्नु पर्ने सुझाव दिएका थिए । कुरियरको जस्तो छिटो र विश्वसनीय नभएजस्तै लागेर सेवा लिन नसकेको वा नचाहेको भए तापनि सूचना प्रविधिमा आधारित छिटो र विश्वसनीय हुलाक सेवाको विस्तार लगायतका बारेमा जानकारी पाएपश्चात् अबका दिनहरुमा प्रमाणको रुपमा मात्र प्रयोग हुने चिट्ठीपत्र बाहेकका थप सेवाहरु पनि हुलाकबाट नै लिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

टिकट सबै पुरानै दररेटका आइरहेको तर हाल विभिन्न कार्यालयमा नयाँ टिकटदर माग भएको हुँदा हालको अवस्थालाई मध्यनजर गरी टिकट छाप्नुपर्ने सुझाव सहभागीले दिएका थिए । उनीहरुले हुलाकबाट रु.१० पर्ने टिकट रु.१० मा नै हुलाकबाट पाइए पनि बजारमा किन्दा व्यापारीबाट धेरै नै महँगो तिर्नु परिरहेको गुनासो गर्दै यसका लागि नियमनकारी निकायहरुले कडा रुपमा नियमन गर्नुपर्ने सुझाव दिएका थिए ।

हुलाक अधिकृत गजेन्द्रप्रकाश थारुले अन्तरक्रिया कार्यक्रममा सक्रियपूर्वक सहभागिता जनाएका सहभागीहरुलाई धन्यवाद दिँदै उठेका सवालहरुमा सहजीकरण गर्दै काम गर्ने प्रतिबद्धता जनाउँदै केन्द्रीय निकायमा सुझावहरु पठाउने बताए । कार्यक्रममा डुडुवाका उपाध्यक्ष सायदा बानो, वडा नं. ०३ का अध्यक्ष आमोदकुमार तिवारी, अन्य वडाका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु, पालिकाका शाखा प्रमुखहरु, हुलाक कार्यालयका नासु शान्ता शाही सिंह, खरिदार साधुराम चौधरी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २६ गते शुक्रबार