नेपालगन्ज (बाँके) ।
बुधबार नेपालगन्जमा ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर)का अवसरमा शुभकामना आदानप्रदान गरेर मनाइएको छ । मानव अधिकार सञ्जाल बाँकेको समन्वय तथा सहकार्य र राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगन्जको आयोजनामा दिवस मनाइएको हो । समाजमा एक व्यक्तिले अर्को व्यक्तिको सम्मान गरे मात्र हरेक व्यक्तिको मानव अधिकारको रक्षा हुने बताएका छन् ।
वक्ताहरुले पछिल्लो अवस्थामा समाज धुमिलिँदै गएको, एकले अर्कालाई आदर र सम्मान गर्न छाडेको, विभिन्न हिंसाका घटनाहरु वृद्धि हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै समाजमा रहने हरेक एक व्यक्तिले अर्को व्यक्तिको सम्मान गरे मात्र मानव अधिकारको रक्षा हुनुका साथै हिंसाका घटनामा पनि कमी आउने उल्लेख गरेका हुन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय प्रमुख भोला महतले विश्वका हरेक मान्छेको जन्मसिद्ध सबै बराबर हुने अधिकार भनेर यो दिवस मनाउन सुरु गरिएको भए पनि मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण र नियन्त्रण हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले अझै पनि मानव अधिकारका न्यूनतम आधारभूत आवश्यकता पनि पूरा हुन नसकेको भन्दै सरकार र गैरसरकार पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए । मानव अधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना सरकारले कार्यान्वयन गर्न नसक्दा पनि हरेक व्यक्तिले मानव अधिकारको महसुस गर्न नसकेको उल्लेख गरे । एड्भोकेसी फोरमका लुम्बिनी संयोजक अधिवक्ता वसन्त गौतमले सुशासनको कायम, भ्रष्टाचारको अन्त्य, नागरिकले पाउनुपर्ने गुणस्तरीय सेवा प्राप्त नहुँदासम्म नागरिकले मानव अधिकारलाई प्राप्त गर्न नसक्ने बताए ।
उनले हरेक व्यक्तिले आफ्नो अधिकार माग गर्दा सँगै आफ्नो जिम्मेवारी र दायित्व पनि बोध गर्नुपर्ने बताउँदै एक व्यक्तिले अर्को व्यक्तिलाई सम्मान दिन र गर्न जान्नुपर्नेमा जोड दिए । उनले आयोगका कतिपय सिफारिसहरु कार्यान्वयन नहुनु, पीडितले न्याय नपाउनु तथा निर्णय कार्यान्वयनमा नआउनुले पनि मानव अधिकार हनन भएको उल्लेख गरे । तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीश वामदेव ज्ञवालीले समाजमा अन्य विषयहरुमा जसरी चेतनास्तर बढेको छ, जति विवेकशील हुँदैछ, त्यसैगरी नै मानव अधिकारप्रति पनि सचेत हुनुपर्ने बताए ।
उनले राजनैतिक अधिकारभन्दा पनि सामाजिक, आर्थिक, सांस्कृतिक, उपभोक्ता लगायतका अन्य अधिकारका बारेमा सचेत हुनुपर्नेमा जोड दिए । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले समाजमा मानव अधिकार रक्षा गर्ने प्रमुख दायित्व र जिम्मेवारी प्रहरीको मात्रै हो भन्ने बुझाइ रहेको भन्दै हरेक व्यक्ति, समाज, संघसंस्था, राजनैतिक दल तथा राज्यका सम्पूर्ण निकायहरुको जिम्मेवारी र कर्तव्य भएको बताए । उनले अन्य सर्वसाधारण व्यक्तिको मानव अधिकार भएजस्तै प्रहरीको पनि मानव अधिकार हुने भन्दै प्रहरीलाई मात्र आरोप लगाउनु गलत भएको उल्लेख गरे ।
उनले अधिकारर्मीहरु थुनुवा कक्षमा पुगेर थुनुवाहरुको अधिकारका बारेमा मात्रै जान्ने र बुझ्ने तर प्रहरी कसरी बसेको छ ? कसरी खाएको छ ? कसरी सुतेको छ ? उसको अवस्था के छ भनेर कोही कसैले पनि आजसम्म सोधपुछ नगरेको भन्दै हरेक व्यक्तिको जस्तै प्रहरीको पनि मानव अधिकार हुने र उसको पनि मानव अधिकार हनन भयो कि भएन भनेर बोलिदिनुपर्ने धारणा राखे । उनले सीमित साधन र स्रोतका बाबजुद पनि प्रहरी सधैँभरी नागरिकको अधिकार र सुरक्षाप्रति सचेत रहेको र सदैव रहने भन्दै प्रहरीलाई बलियो बनाए मात्र समाजको सुरक्षा हुनसक्ने उल्लेख गरे ।
सहायक प्रजिअ महेशकुमार गुरुङले मानव अधिकारका विषयहरुलाई आत्मसात् गर्दै नेपालको संविधानले पनि संवैधानिक आयोगहरु गठन गरेको र काम गरिरहेको बताउँदै कानुनी रुपमा बलियो हुनुपर्नेमा जोड दिए । उनले संस्थागत सक्षमताको अभाव देखिएको भन्दै संस्थागत सुदृढीकरण र सबलीकरण नभए कानुनी कार्यान्वयनमा समस्या आउने बताए । उनले राज्यले चाहेर मात्र मानव अधिकारको रक्षा नहुने भन्दै सम्पूर्ण पक्षको रचनात्मक सहयोग हुनुपर्ने उल्लेख गरे ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालयका प्रमुख द्वारिका अधिकारीले आयोगका तर्फबाट पीडितहरुलाई आवश्यक सहयोग गर्नका लागि विभिन्न भूमिकाबाट सेवा गरिरहेको भन्दै विगतका दिनहरुबाट समीक्षा गरेर अगाडि बढिरहेको बताइन् । उनले कुनै एक व्यक्ति, एक संस्था, निकाय वा सरकार मात्रैको प्रयासले अधिकारको रक्षा हुन नसक्ने भन्दै हरेक व्यक्तिले आफैँबाट कसैको अधिकार हनन नगरेमा स्वतः मानव अधिकार रक्षा हुने उल्लेख गरिन् ।
कार्यक्रममा यौनिक तथा अल्पसंख्यकका तर्फबाट पश्चिम तारा नेपालका परिना चौधरी, नेत्रहीन संघका केन्द्रीय उपाध्यक्ष भावुकजंग थापा, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज प्रभात ठकुरी, महिला अधिकारकर्मी निर्मला सुनार, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईँ, जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी लगायतले शुभकामना प्रदान गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्