लैंगिक हिंसा अन्त्यका लागि १५ बुँदे सुझाव पेश



नेपालगन्ज ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समिति बाँकेले नेपालगन्ज उपमहानगरपालिकालाई लैंगिक हिंसा अन्त्यका लागि विभिन्न सुझावसहितको ज्ञापनपत्र बुझाएको छ । समिति बाँकेका सदस्य मैमुना सिद्धिकीले नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईलाई बुझाएको ज्ञापनपत्रमा विभिन्न १५ वटा बुँदामा सुझावहरु समेटिएका छन् ।

समितिले मंसिर १८ गते अनौपचारिक शिक्षा र जीवनपर्यन्त सिकाइ शीर्षकमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी समेतबाट आएका सुझावहरु समेटेर ज्ञापनपत्र बुझाइएको जिल्ला समितिका अध्यक्ष तारा खनालले जानकारी दिए । ज्ञापनपत्रमा समता र समानतालाई बढावा दिने शिक्षा प्रणाली लागू गर्न, प्रभावित समुदायको आवाज सुनुवाइ गर्ने वातावरण बनाउन, विद्यालयमा गुनासो सुनुवाइ संयन्त्रको व्यवस्थापन, समावेशी शिक्षा सञ्जालको गठन, लैंगिक सम्पर्क व्यक्तिको व्यवस्थापन गर्न सुझाव दिइएको छ ।

यसैगरी, विद्यालयमा महिला शिक्षकको संख्या वृद्धि गर्न पहल गर्न, हिंसा प्रभावितका लागि अनौपचारिक तथा वैकल्पिक शिक्षाको व्यवस्था गर्न र बालिका तथा महिला शिक्षा प्रवद्र्धनमा लगान बढाउन पनि माग गरिएको छ । विद्यालय बाहिर रहेका किशोरकिशोरीलाई अनौपचारिक शिक्षामा जोड्न, विद्यालय बाहिर रहेकाहरुको अद्यावधिक तथ्यांक संकलन गर्न, सरोकारवालाहरुलाई शिक्षा सुदृढीकरणका लागि प्रतिबद्ध र जवाफदेही बनाउन, अभिभावक शिक्षा प्रदान गर्न पनि उक्त ज्ञापनपत्रमा सुझाव दिइएको छ ।

यस्तै, प्रविधिको सही प्रयोग गरी लैंगिक हिंसा अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, शिक्षक र जनप्रतिनिधका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था गर्न, शिक्षामा प्रभावकारी अनुगमन गर्न र स्थानीय पाठ्यक्रममा नैतिक, व्यवहारिक तथा मनोसामाजिक पक्षलाई टेवा पु¥याउने विषयवस्तुहरु समावेश गर्न पनि सुझाव दिइएको छ ।

अध्यक्ष खनालका अनुसार शिक्षा तथा सामाजिक विकासको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरुको सहभागिता रहने शिक्षाका लागि राष्ट्रिय अभियानमा आबद्ध सबै संस्थाबाट लिइएका सुझावका आधारमा उक्त ज्ञापनपत्र तयारी गरी उपमहानगरपालिकामा बझाइएको हो । यसैगरी ५१ जना सहभागी अन्तक्र्रिया कार्यक्रममा आएका सुझावहरु पनि ज्ञापनपत्रमा समेटिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार