बाबुछोरी आत्महत्या प्रकरणः गृह मन्त्रालयले गठन गरेको समितिद्वारा छानबिन सुरु



घटनाबारे चासो देखाउँदै प्रधानमन्त्री सुशीला कार्कीले घटनाबारे छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएकी थिइन् ।प्रधानमन्त्री कार्कीको निर्देशनलगत्तै गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेर घटनाको अनुसन्धान गरिरहेको छ । बर्दिया पुगेर अनुसन्धान गरिरहेको समितिले पाँच दिनभित्र घटनाको छानबिन गरेर प्रतिबेदन पेश गर्नेछ । घटनाबारे समिति, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगले समेत अनुसन्धान गरिरहेका छन् ।

कोहलपुर (बाँके) ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ दक्षिण भकारीमा एकैघरका बाबुछोरीले नागरिकतामा विभेद भोगेपछि आत्महत्याको बाटो रोजेको घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा गठिन छानबिन समितिले छानबिन सुरु गरेको छ । स्थानीय निकाय र प्रशासनले नागरिकता नदिएर विभेद गरेपछि बाबुछोरीले नै पीडा सहन नसकेर आत्महत्याको बाटो रोजेको घटनाका बारेमा छानबिन गर्नका लागि गृह मन्त्रालयद्वारा गठित समिति मंगलबार बर्दिया पुगेको हो । समितिले बुधबारदेखि घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको हो ।

लामो समयसम्म सरकारी निकायमा नागरिकताका लागि प्रयास गर्दासमेत नागरिकता नपाएपछि २२ कात्तिकमा घरमै दक्षिण भकारीकी २१ वर्षीया अञ्जु थारुले आत्महत्या गरेकी थिइन् । छोरीको न्यायका लागि संघर्ष गर्दै आएका ६१ वर्षीय कान्छा थारुले समेत छोरीले आत्महत्या गरेको ४ दिनपछि सोही बाटो अपनाएका थिए । नागरिकता नपाएकै कारण बाबुछोरीले आत्महत्याको बाटो रोजेको घटनामा प्रधानमन्त्री सुशीला कार्कीले घटनाबारे चासो देखाएकी थिइन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री कार्कीले भनेकी थिइन्, ‘न्यायिक–प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रूपमा म माफी चाहन्छु र यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न माननीय गृहमन्त्रीज्यूलाई निर्देशन दिएकी छु,’ प्रधानमन्त्री कार्कीले नागरिकतालगायत लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद र हिंसा सह्य नहुने बताइन् । उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएकी थिइन् ।

प्रधानमन्त्री कार्कीको निर्देशनलगत्तै गृह मन्त्रालयले बर्दिया घटना छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिको संयोजक गृहका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थी छन् । मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी सदस्य रहेका छन् । गृह मन्त्रालयले समितिलाई पाँच दिनको कार्यावधि तोकेको छ ।

घटनाको छानबिनका लागि समितिका संयोजक पन्थी र सदस्य अर्याल बर्दिया पुगिसकेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।समितिका सदस्य तथा बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले समितिले बढैयातालमै पुगेर घटनाको अनुसन्धान गरिरहेको बताए । छानबिन समितिको सहयोगमा मृतक अञ्जु थारुकी सात वर्षीया छोरी अनिताको जन्म दर्ता र आमा अञ्जुको मृत्यु दर्ता सम्पन्न भएको छ । उनले भने, ‘समितिले छानबिन सुरु गरेको छ । पहिलो दिन घटनास्थल पुगेर प्रारम्भिक चरणको सोधपुछ भएको छ ।

अब थप सोधपुछ सुरु हुन्छ । घटनासँग सम्बन्धित व्यक्तिहरुसँग बयान लिने काम हुन्छ । हामीलाई तोकिएको भन्दा केही समय लाग्न सक्छ ।’
घटनाबारे जिल्ला प्रहरी कार्यालय बर्दियाले समेत छानबिन गरिरहेको छ । परिवारले अञ्जुका श्रीमान् अनिल थारुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको छ । कार्यालयका सूचना अधिकारी प्रकाशसिंह कार्कीले थारुविरुद्ध मुद्दा दर्ता भएर पक्राउ पुर्जीसमेत जारी गरिएको बताए । उनका अनुसार अञ्जुका श्रीमान् हाल फरार अवस्थामा छन् । मृतक अञ्जु र अनिलबीच १४ वर्षको उमेरमै प्रेम सम्बन्ध थियो । १५ वर्षको उमेरमा उनीले विवाह गरेका थिए ।

बर्दिया प्रहरीका अनुसार अञ्जुले २०६५ सालमा छोरी जन्माइन् । छोरीको जन्म भएपछि श्रीमान् श्रीमतीबीच सम्बन्ध सुमधुर भएन । पारिवारिक कलह बढ्दै गएपछि २०७६ सालमा अञ्जुले अंश माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । यता माइती पक्षबाट नागरिकताका लागि उनले स्थानीय वडा कार्यालयमा समेत निवेदन दिएकी थिइन् । सोको लागि उनले जिल्ला प्रशासन कार्यालयसमेत धाइन् । वैवाहिक जीवनमा असफलता, राज्यका निकायहरुबाट एकपछि अर्को विभेदपछि उनले अन्त्यमा आत्महत्याको बाटो रोजिन् । सो घटनाका सम्बन्धमा सरकारकै सक्रियतामा अहिले घटनाबारे अनुसन्धान सुरु गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार