कोहलपुर (बाँके) ।
नव प्रतिभा महिला मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह बैजनाथ–४ बानियाभार, बाँकेको २०औँ वार्षिक साधारण भेला तथा सार्वजनिक सुनुवाईँ कार्यक्रम सम्पन्न भएको छ । बाँके राष्ट्रिय निकुञ्ज, देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गत रहेको समूहको साधारण भेला तथा सार्वजनिक सुनुवाईँ कार्यक्रम सम्पन्न भएको हो ।
समूहले आव २०८१–०८२ मा कूल ३० लाख रूपैयाँ आम्दानी गरेको अध्यक्ष भगवती शाहले बताइन् । उनका अनुसार समूहले सबैभन्दा धेरै ढलापडा काठ दाउरा बिक्रीबाट १६ लाख ३८ हजार रूपैयाँ आम्दानी गरेको थियो । यस्तै ७ लाख ७३ हजार रूपैयाँ बैंक मौज्दात रहेको सार्वजनिक सुनुवाईँमा जानकारी गराइएको थियो । समूहले नवीकरण शुल्क वापत १ लाख ४५ हजार ९ सय, झिझा दाउराबाट १ लाख ४३ हजार १७०, भुईघाँसबाट १ लाख ८ हजार ४१५ र दण्ड जरिवानाबाट २८ हजार रूपैयाँ आम्दानी गरेको जनाइएको छ ।
यसैगरी, प्रवेश शुल्कवापत १२ हजार, झाडी सफाईबाट १ लाख २३ हजार ८ सय रूपैयाँ आम्दानी भएको जनाइएको छ । उक्त अवसरमा बोल्दै अध्यक्ष शाहले संस्थाले एक वर्षमा गरेका गतिविधि, आम्दानी र खर्चबारे समूहका सदस्यहरूलाई जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाईँ कार्यक्रमको आयोजना गरिएको बताइन् ।
‘समूहले महिला शसक्तिकरणमा ध्यान दिएको छ । महिलाहरूको क्षमता विकास तथा उनीहरूको आर्थिकस्थितिमा सुधार ल्याउने हो,’ अध्यक्ष शाहले भनिन् । समूहकी संस्थापक अध्यक्षसमेत रहेकी शाहले आफूले नेतृत्व हस्तान्त्रण गर्न चाहेको बताइन् । आगामी वर्ष हुने साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिने उनको भनाइ थियो ।
आफूहरूले उत्कृष्ट कार्य गरेकै कारण हालसम्म दुई वटा राष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेको अध्यक्ष शाहले बताइन् । समूहकै सक्रियतामा सामुदायिक वन क्षेत्रमा ६० हजार बिरुवा लगाउन सफल भएको उनले सुनाइन् ।








प्रतिक्रिया दिनुहोस्