बाँसगढीमा कपडा बैंक स्थापना



बाँसगढी ।

बाँसगढीमा कपडा बैंकको स्थापना गरिएको छ । मंगलबार बाँसगढी नगरपालिकाको समन्वय तथा क्लोथ एण्ड फूड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैंकको स्थापना गरिएको हो । बजारमै रहेको शुभकामना मेडिकल परिसरमा राखिएको क्लोथ बक्सको नगरप्रमुख खड्कबहादुर खड्का, उपप्रमुख इन्दिरा चौधरी लगायतले उद्घाटन गरेका थिए ।

महानायक राजेश हमाल संरक्षक रहेको क्लोथ एण्ड फूड बैंक बाँसगढीमा कपडा संकलन लागि क्लोथ बक्सको स्थापना गरी सुरुवात गरिएको क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जिसीले जानकारी दिए । उनका अनुसार बाँसगढी नगरपालिकासँगको सम्झौतापछि मंगलबारदेखि नै औपचारिक क्लोथ बैंक सञ्चालनमा आएको हो । पुराना कपडालाई रिफाइन गरी पुनः प्रयोग गर्न मिल्नेगरी कपडा बैंंकको स्थापना गरिएको बाँसगढी नगरपालिकाले जनाएको छ ।

जनताले अहिले भौतिक मात्र नभएर मानवीय विकासको खोजी गर्दैआएको भन्दै नगरप्रमुख खड्काले बाँसगढीले भौतिक विकासमा मात्र नभएर मानवीय विकासको लागि बजेट खर्च गर्दैआएको बताए । उनले पुराना कपडा संकलन गर्न सहयोग गर्न आग्रह सबैलाई आग्रह गरे ।

बाँसगढीमा राखिएका जस्ता क्लोथ बक्स देशभर २ सय ८ स्थानमा राखिएको क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जिसीले जानकारी दिए । पुराना प्रयोगमा नआएका कपडा, जुत्ता, झोला, किताब संकलन गर्ने र प्रशोधन गरेर आवश्यक व्यक्तिलाई निःशुल्क रूपमा कपडा दिने उद्देश्यले रहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १७ गते बुधबार