नेपालगन्ज ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले नेपाली जनता नेकपालाई भोट हाल्न लालायित भएर बसेका दाबी गरेका छन् । आइतबार नेपालगन्जमा नेकपाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रावलले अहिले नेकपाले विभिन्न स्थानमा गरिरहेका भेटघाट तथा जनभेलामा जनताको उल्लेखनीय सहभागिता रहेको देखिएको र त्यसले आफूहरूलाई उत्साहित बनाएको बताए ।
नेता रावलले अहिलेको देशको विषम परिस्थितिमा देशलाई नेतृत्व र निकास दिनसक्ने पार्टी नेपाली कम्युनिस्ट पार्टी नै रहेको पनि दाबी गरे ।उनले भने, ‘कुशासनबाट मुक्त, भ्रष्टाचारबाट मुक्त र राष्ट्रिय अर्थतन्त्र बनाउन नेकपा कटिबद्ध भएर लाग्ने प्रण गरेको छ । त्यसलाई जनताले विश्वास पनि गरिरहेका छन् ।’ उनले अहिलेको अप्ठ्यारो समयमा देश र जनतालाई जोगाउने दायित्व नेपाली कम्युनिस्ट पार्टीले उठाउने पनि दाबी गरे ।
रावलले यसअघि भएको कम्युनिस्ट पार्टीको एकता केपी शर्मा ओलीको दम्भका कारण असफल भएको भन्दै अब त्यसबाट पाठ सिकेर अघि बढ्ने पनि बताए । उनले एमाले महाधिवेशन प्रतिनिधि छनौटका क्रममा केपी ओलीले एकलौटी गरेको भन्दै एमालेमा आबद्धहरूलाई त्यस प्रवृत्तिबाट मुक्त भएर नेकपामा आउन आह्वान पनि गरे । उनले भने, ‘सम्पूर्ण वामन्थीहरूलाई एकजुट बनाएर देशलाई नेतृत्व गर्ने संभावनातर्फ हेर्न आग्रह गर्दै म एमालेमा आबद्ध साथीहरूलाई नेकपामा आउन आह्वान गर्छु ।’
रावलले अब निर्वाचनको विकल्प नभएको भन्दै गोलीगट्ठा बाहिर रहेका र कैदीबन्दी पनि नियनत्रणमा नलिइएको अवस्थामा निर्वाचनको निष्पक्षता र स्वच्छतामाथि प्रश्न उठ्नेतर्फ वर्तमान सरकारको ध्यानाकर्षण गराए । उनले गृहमन्त्री ओमप्रकाश अर्यालको अभिव्यक्तिप्रति लक्षित गर्दै भने, ‘राजनीतिक दलहरूले बाहिर रहेका गोलीगट्ठा प्रयोग गर्दैनौँ भन्ने प्रतिबद्धता गर भन्नु हास्यास्पद तर्क हो ।’
रावल वर्तमान सरकारप्रति पनि आलोचनात्मक रूपमा प्रस्तुत भएका थिए । उनले जेनजी आन्दोलनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहितका भवनहरू जलाइएको स्मरण गर्दै उक्त आन्दोलनका पछाडि बारबरा फाउण्डेसनको भूमिका देखिनु र सरकारलाई दलाई लामाको शुभकामना आउनु विदेशी शक्तिको घुसपैठको संकेतका रूपमा व्याख्या गरे ।
अहिलेको सरकार पनि सुशासन कायम गर्न असफल भएको, विद्युत् खरिदमा घाटा खानेगरी भएको सम्झौता गरिएको, डिम्ब बिक्री प्रकरणमा मुद्दा नचल्ने निर्णय गरिएको घटनाको प्रतिरोध गर्न पनि उनले आग्रह गरे । राजनीतिक दल र पार्टीको नेतृत्वमा युवा पुस्ता मात्रै हुनुपर्छ भन्ने भाष्य अहिले खण्डित भइसकेको रावलको तर्क छ । जेनजीको समर्थनमा बनेको अहिलेको सरकारमा युवाभन्दा बढी पौढ पुस्ता नै रहेकोले युवाले मात्रै देश चलाउनुपर्छ भन्ने कुरा खण्डित भएको तर्क उनले गरे ।
एमाले अध्यक्ष ओलीले नेपाली कम्युनिस्ट पार्टीलाई वृद्धाश्रम भनेर गरेको टिप्पणीको पनि जवाफ दिँदै रावलले ओलीलाई प्रचण्डसँग बिहान पैदलयात्रामा निस्कन चुनौती दिए । उनले भने, ‘ओलीजी हाम्रा संयोजक पुष्पकमल दाहाल प्रचण्डजीसँग भौतिकरूपमा बिहान हिँड्न तयार हुनुहुन्छ कि ? उकालो हिँड्न तयार हुनुहुन्छ कि ? मेरो त कुरै नगरौँ, मसँग त साँफेबगरबाट खप्तड चढ्नुप¥यो भने उहाँ बुढीगंगाको किनारमै ढलिहाल्नुहुन्छ ।’









प्रतिक्रिया दिनुहोस्