दुई महिनाको अवधिमा चारवटा जहाजमा ठोक्किए चरा



पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अक्टोबरमा दुईवटा र नोभेम्बरमा दुईवटा जहाजमा चरा ठोक्किएका घटना भएका छन् । अक्टोबरमा एउटा बुद्ध र एउटा यतीको उडानमा चरा ठोक्किएको थियो भने नोभेम्बरमा चरा ठोक्किएको दुईवटै घटना बुद्ध एयरको हो ।

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो दुई महिनाको अवधिमा मात्रै जहाजमा चरा ठोक्किएका चारवटा घटना भएका छन् । पछिल्लोपटक शनिबार अवतरणको क्रममा बुद्ध एयरको जहाजमा चरा ठोक्किएको थियो । काठमाडौँबाट पोखराका लागि उडेको उडान सङ्ख्या ६१७, जहाज ९ एन–एओसीका जहाजमा अवतरणका क्रममा चरा ठोक्किएको हो । सो घटनामा जहाजमा क्षति भएपनि सबै यात्रु र चालक दल सुरक्षित रहेका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार अन्य समयमा भन्दा शनिबार भएको घटनामा जहाजमा बढी क्षति भएको थियो । उनका अनुसार चरा ठोक्किएको बुद्ध एयरको जहाज प्राविधिक जाँचपछि उडानमा फर्किसकेको छ । यसअघि गएको कात्तिक २९ गतेपनि पोखरा विमानस्थलमै बुद्धको जहाज चरासँग ठोक्किएको विमानस्थल प्रमुख निरौलाले जानकारी दिए ।

उनका अनुसार अक्टोबर र नोभेम्बरमा गरेर जहाजमा चरा ठोक्किएका चार वटा घटना भएका छन् । जसमा अक्टोबरमा दुईवटा र नोभेम्बरमा दुईवटा जहाजमा चरा ठोक्किएका घटना भएका थिए । अक्टोबरमा एउटा बुद्ध र एउटा यतीको उडानमा चरा ठोक्किएको थियो भने नोभेम्बरमा चरा ठोक्किएको दुईवटै घटना बुद्ध एयरको हो ।

बुद्धको उडान बढी भएका कारण यस्तो सङ्ख्या बढी भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले दाबी गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्यतः बिहानको ९÷१० बजेपछि चराको मुभमेन्ट देखिने गरेको कार्यालय प्रमुख निरौलाले बताएका छन् । जब घामको ताप बढ्दै जान्छ चराको मुभमेन्ट बढ्दै जाने उनी बताउँछन् । अर्को त पोखरा विमानस्थलको रनवे ढलान छ ।

ढलान तातो भएपछि चरा ढलालमै आएर बस्दा पनि ‘बर्ड हिट’को घटना भइरहेको विमानस्थलले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चरा धपाउन दुईवटा गाडी प्रयोग भइरहेको हुन्छ तर पनि बेला बेलामा घटना भइरहेको छ । चरा ठोक्किने घटनाबाट जहाजलाई जोगाउन विमानस्थल कार्यालयले नयाँ प्रविधिको प्रयोगका विषयमा समेत अध्ययन गरिरहेको कार्यालय प्रमुख निरौलाले बताएका छन् । पछिल्लो दुई महिनाको अवधिमा चरा ठोक्किएका बुद्ध र यतीका सबै जहाजहरू प्राविधिक जाँचपछि उडानमा फर्किसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १५ गते सोमबार