कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ स्थित बाल शिक्षा माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला र स्टेशनरी सामग्री वितरण गरिएको छ । रोटरी क्लव अफ काठमाडौँले उक्त विद्यालयमा अध्ययन जेहेन्दार तथा विपन्न बालबालिकाहरूलाई झोला र शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालयका प्रधानाध्यापक टर्कबहादुर खत्रीले विद्यालयमा अध्ययनरत ७५ जना बालबालिकालाई झोला र शैक्षिक सामग्री वितरण गरिएको बताए ।
उनका अनुसार रोटरी क्लब अफ काठमाडाँैले बालबालिकाहरूलाई निःशुल्क रूपमा शैक्षिक सामग्री वितरण गरेको हो । उक्त विद्यालयमा सामाजिक सचेतन सरोकार मञ्च बाँकेको समन्वयमा छात्रामैत्री शौचालय निर्माण गरिएको छ । ‘हाम्रो विद्यालयमा शौचालयको अभाव थियो । स्याक बाँकेको समन्वयमा छात्रामैत्री शौचालय निर्माण गरिएको छ । उक्त शौचालय उद्घाटनको क्रममा शैक्षिक सामग्री वितरण गरिएको छ,’ उनले भने ।
शैक्षिक सामग्री वितरण गर्दै रोटरी क्लब अफ काठमाडौँका प्रतिनिधि केशव ज्ञवालीले रोटरी क्लबले लामो समयदेखि सामाजिक सेवा गर्दै आएको बताए । उनका अनुसार क्लबले विद्यालयहरूमा समेत विभिन्न सहयोग गर्दै आएको छ । सोही अनुसार कोहलपुरको बाल शिक्षा माविका बालबालिबाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको उनले बताए ।
उनले भने, ‘देशैभरी यस्ता कार्यक्रम गर्दै आएका छौँ । सामग्री अभावमा कसैले पनि विद्यालय छोड्ने वातावरण बन्नु हुँदैन । बाँकेका अन्य विद्यालयमा समेत सहयोग गर्नेछौँ ।’ सो अवसरमा स्याक बाँकेका अध्यक्ष बबिता शाहले विद्यालय सहयोग कार्यक्रम अन्तर्गत छात्रामैत्री शौचालय निर्माण गरिएको बताएकी थिइन् । उक्त कार्यक्रममा सहयोगी संस्थाका प्रतिनिधिसहित विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्