सम्पादकीयः संयमता अपनाउन आवश्यक



अहिले दैनिकजसो देशभर राष्ट्रिय युवा संघ र जेनजी प्रदर्शनकारीबीच झडप भइरहेका छन् । राष्ट्रिय युवा संघले देशका विभिन्न स्थानहरूमा आयोजना गरेका कार्यक्रमहरूमा सम्बोधनका क्रममा त्यहाँ पुग्ने एमाले केन्द्रीय नेताहरूका विरुद्धमा प्रदर्शन गर्ने र प्रदर्शनका क्रममा झडपसमेत हुने तथा घाइते हुने क्रम दोहोरिरहेको देखिन्छ । जहाँ–जहाँ राष्ट्रिय युवा संघले आयोजना गरेका कार्यक्रमहरूमा एमाले केन्द्रीय नेताहरू सम्बोधन गर्न पुग्ने गर्दछन्, त्यहाँ त्यहाँ जेनजी पुस्ताले प्रदर्शन गर्ने र दोहोरो झडप हुने घटना भइरहेका पाइन्छन् । जेनजी पुस्ताकै आन्दालनले गर्दा तत्कालीन सरकार सत्ताबाहिर पुग्न परेको अवस्थामा जेनजीको बलमा बनेको नयाँ सरकारले प्रतिनिधिसभा विघटन गरेर प्रतिनिधिसभा सदस्यको निर्वाचन मितिसमेत तोकिसकेको अवस्था छ । प्रजातान्त्रिक मुलुकमा आफ्ना कुराहरू राख्न पाउने, शान्तिपूर्ण रूपमा सभा सम्मेलन गर्न पाउने, आन्दोलन गर्न पाउने लगायतका विरोधका कार्यक्रमहरू गर्न पाइन्छ । तर कुनै एक पक्षले अर्को पक्षलाई निषेध भने गर्न पाइँदैन् । पछिल्ला केही दिनका घटनाहरूले देशमा शान्ति हुनुको सट्टा झन द्वन्द्वतिर पो धकेलिने हो कि भन्ने आम सर्वसाधारण नागरिकमा प्रश्न उठिरहेको छ । यस विषयमा जेनजी पुस्ताका साथै सम्पूर्ण राजनैतिक दलका नेता गम्भीर बन्न जरुरी छ ।

जेनजी पुस्ताले पनि कुनै राजनैतिक दललाई निषेध गर्नेगरी कार्यक्रम गर्न हुँदैन भने राजनैतिक दलका नेताहरूले पनि उनीहरूलाई उक्साउने, हतोत्साहित बनाउने, उनीहरूलाई सामान्य रूपमा लिने, उनीहरूसँग दोहोरो भिडन्तमा उत्रने, उनीहरूका विरुद्धमा नकारात्मक सन्देश फैलाउने, उनीहरूलाई हेप्ने, सानो बनाउने किसिमले वक्तव्यवाजी दिने कार्य गर्नुहुँदैन् । जेनजी पुस्ताले गरेको २४ घण्टाको आन्दोलनले गर्दा देशको सत्ता परिवर्तन भएको सबै नागरिकलाई जागजहेर नै छ । उनीहरूले गरेका सकारात्मक कार्यलाई आत्मसात् गर्न सक्नुपर्दछ । नयाँ पुस्तालाई राजनीतिमा समावेश गराएर सिकाउँदै अगाडि बढाउन पनि पुराना राजनैतिक दल र तिनका नेताहरूको जिम्मेवारी हो । राजनैतिक संस्कार सिकाएर देश विकासमा साथसाथै हातेमालो गराउन पुरानै दलहरूले पहल लिन आवश्यक छ । न कि उनीहरूलाई उक्साएर, भड्काएर, जथाभावी अभिव्यक्ति दिएर उत्तेजित बनाएर, होँच्याएर । देश सबैको हो । देशको विकासका लागि सबै नागरिकको उत्तिकै भूमिका हुन्छ । सबै नागरिक जिम्मेवार बन्न आवश्यक छ । दुई पक्षीय युवा पुस्तालाई आपसमा लँडाएर देशले पक्कै पनि निकास पाउने देखिँदैन् ।विशेषगरी जेनजी पुस्ताभन्दा पनि राजनैतिक दलहरू र दलका नेतृत्वकर्ता एवम् नेताहरू यस विषयमा गम्भीर बन्न जरुरी छ ।

जेनजी पुस्ताले गरेको आन्दोलनले देश विध्वंश बनेको ढाई महिना पुग्दैछ, अझै पनि विध्वंशको खरानी जताततै देखिन्छ । देशले खर्बौँको क्षती बेहोरेको छ । देश वर्षौँ पछाडि धकेलिएको छ । यस्तो अवस्थामा जेनजी पुस्तालाई पुनः आन्दोलनमा जान बाध्य पार्ने वातावरण सिर्जना गर्नु पक्कै पनि राम्रो मान्न सकिँदैन् । बरु अब उनीहरूलाई साथमा लिएर चुनावी वातावरण सिर्जना गर्न जरुरी छ । निर्वाचन आयोगले निर्वाचनलक्षित विभिन्न चरणका कार्यक्रमहरू अगाडि बढाइसकेको छ । नयाँ पुस्तालाई मध्यनजर गर्दै आयोगले नयाँ मतदाता नामावली संकलन गर्ने कार्य गरिसकेको छ भने चुनावमा भाग लिनका लागि राजनैतिक दलहरू पनि आयोगमा दर्ता भइसकेको अवस्था छ । यस्तो अवस्थामा अब मुठभेडको अवस्था सिर्जना नगरेर निर्वाचनको वातावरण तयार गर्न सबै पक्षको पहल आवश्यक देखिन्छ । दल र तिनका नेताहरूले अनावश्यक भड्किलो वक्तव्यवाजी बन्द गर्न जरुरी छ । हिजोको अवस्था र आजको अवस्थामा पक्कै पनि परिवर्तन आइसकेको छ । तसर्थ परिवर्तित समय र परिस्थितलाई आत्मसात् गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो । हाल भएको परिवर्तनसँगै अगाडि बढ्न र कुनै पनि पक्षबाट भड्किलो वक्तव्य नगरी संयमता अपनाउन आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार