बाँसगढी डिजिटल साक्षरता र साइबर अपराधबारे अन्तरक्रिया



कोहलपुर (बाँके) ।

बर्दियाको बाँसगढी नगरपालिकामा डिजिटल साक्षरता र साइबर अपराधसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा बर्दियाको आयोजनामा डिजिटल साक्षरता र साइबर अपराधबारे अन्तरक्रिया सम्पन्न भएको हो । अहिलेको डिजिटल युगमा जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आवश्यक पर्ने ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

बाँसगढी नगरपालिकाको सहकार्य रहेको अन्तरक्रिया कार्यक्रमको बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर खड्काले उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख खड्काले प्रविधिको अहिलेको जमानामा डिजिटल सुरक्षा अत्यावश्यक रहेको बताउँदै उनले प्रविधिको विकाससँगै त्यसको दुरुपयोगसमेत बढ्दो अवस्थामा रहेको उल्लेख गरे । प्रविधिको दुरुपयोगले साइबर अपराध बढेको उनको भनाइ छ । ‘डिजिटल साक्षरण अहिलेको आवश्यकता हो ।

हामी साइबर अपराधबारे जानकार हुनुपर्छ । प्रविधिको सही सदुपयोग गर्नुपर्छ,’ उनले भने । नगरपालिकाले डिजिटल बाँसगढीलाई प्राथमिकता दिएको भन्दै समय सुहाउँदो डिजिटल सेवा प्रदान गर्न सुरु गरिएको नगरप्रमुख खड्काको भनाइ रहेको थियो । नगरप्रमुख खड्काले अधिकांश कार्यहरूमा मोबाइल, ल्यापटप तथा डिजिटल उपकरणहरूको प्रयोग अनिवार्य बन्दै गएको भन्दै ती उपकरणहरूको सदुपयोग कसरी गर्ने, कुन–कुन क्रियाकलापबाट जोखिम बढ्न सक्छ भन्नेबारे जानकारी दिए ।

कार्यालयका संवेदनशील प्रणाली वा सूचना कसरी ह्याक हुन सक्छन् भन्ने विषयमा समय–समयमा जानकारी हासिल गर्नु अत्यन्त महत्वपूर्ण भएकाले अन्तरक्रियाले सहयोगी भूमिका खेल्ने अपेक्षा रहेको नगरपालिकाले जनाएको छ । अन्तरक्रियामा बाँसगढी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १० गते बुधबार