पर्यटन पत्रकारिता र फोटोग्राफीबारे अनुशिक्षण



नेपालगन्ज ।

नेपालगन्जमा पत्रकारहरूलाई फोटोग्राफी र पर्यटन रिपोर्टिङसम्बन्धी अनुशिक्षण गरिएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को सहकार्य र क्रियाशील महिला पत्रकार बाँकेको संयोजनमा सम्पन्न अनुशिक्षण कार्यक्रममा नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट दिलिप कार्कीले पर्यटन पत्रकारिता र फोटो पत्रकार प्रशिक्षक सुनिल ब्रजाचार्यले फोटोग्राफीका आधारभूत सीपहरूबारे अभिमूखीकरण गराएका थिए ।

अनुशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर तथा पर्यटन दिगो विकास परियोजनाका राष्ट्रिय परियोजना संयोजक श्रद्धा श्रेष्ठले लुम्बिनी प्रदेशभित्र थुप्रै पर्यटकीय सम्भावना रहेकाले पत्रकारिताका क्षेत्रबाट पनि उजागर गर्न जरुरी रहेको बताइन् । बाँकेका विभिन्न सञ्चार संस्थामा कार्यरत ६० जना बढी पत्रकारहरूको सहभागितामाझ श्रेष्ठले पर्यापर्यटनको प्रवद्र्धनका लागि मिडिया र सरोकारवालाहरूबीच समन्वयात्मक भूमिका जरुरी रहेको पनि उल्लेख गरिन् ।

बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमका सहभागिहरूले यस्ता अनुशिक्षण कार्यक्रमले पर्यापर्यटनको क्षेत्रमा भइरहेका प्रयासलाई उजागर गर्न थप क्रियाशिलता बढाउने अपेक्षा रहेको प्रतिक्रिया दिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी र क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरी लगायतले पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रलाई सामेल गराउने विधिहरूमा जोड दिन आग्रह गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ८ गते सोमबार