बुटवल ।
राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सरकारले देशको अहिलेको विषम् परिस्थितिको निकास नदिने बताएका छन् । राष्ट्रिय जनमोर्चा रुपन्देहीले बुटवलमा जेनजी आन्दोलन र त्यो आन्दोलनले दिएको शिक्षा विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले जेनजी आन्दोलनका मागबारे सरकार गम्भीर नभएको आरोपसमेत लगाए । उनले अहिले सरकार एनजिओ आइएनजिओ जसरी चलेको टिप्पणी गरे ।
जेनजी आन्दोलनका मागहरूलाई सम्बोधन गरेर देशलाई अगाडि बढाउनु पर्ने र त्यसका लागि दलहरू सुध्रन आवश्यक रहेकोमा जोड दिएका थिए । सरकारमा रहेका बेला एमाले, काँगे्रस लगायतका दलहरूले बदमासी गरेका कारण जेनजी आन्दोलन जन्मिएको उनको भनाइ थियो । जेनजी आन्दोलनमा देशीविदेशी शक्तिको योजनाबद्ध रूपमा घुसपैठ गरेर देश ध्वंस भएको केसीको भनाइ थियो ।
सरकारमा रहेका आफूलाई ठूलो दल बताउनेहरूले राजनीतिको नाममा राजनीतिलाई उद्योग बनाएर कमाउ धन्दा चलाएकाले देशले अहिले यस्तो अवस्था भोग्नु परेको उनले बताए । अध्यक्ष केसीले भने, ‘बंगलादेशको बाढी नेपालमा पनि आउँछ । तिमीहरू सुध्र है भनेर मैले भनेको थिए । सरकारमा भएकाले हाम्रो कुरा सुनेनन् । अहिले नेपाली जनताले यस्तो अवस्था भोग्नुपर्ने बाध्यता आइलाग्यो । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता अहिले खतरामा छ ।’
आफ्नो पार्टीले गुमेको संसद पुनस्र्थापना भएपनि स्वीकार गर्ने र चुनाव भएपनि स्वीकार गर्ने बताउँंदै जेनजी आन्दोलनको पाठ सिकेर संविधान जोगाउनु पर्नेमा उनले जोड दिए । उक्त कार्यक्रममा बोल्दै नेकपा मालेका स्थायी कमिटी सदस्य गोपालमणी गौतमले जेनजी आन्दोलनले देश कता जान्छ ? भन्ने अवस्थाको सिर्जना भएको बताउँदै निर्वाचन गराउन र देशलाई निकास दिन सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताए ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिब्यूरो सदस्य पे्रम सुवेदीले जेनजी आन्दोलनलाई कमजोर सम्झन नहुने बताए । मुलुकको राष्ट्रिय स्वाधिनता कमजोर भएकाले संसदवादी दलहरू सुध्रिन जरुरी रहेको उनको भनाइ थियो । नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य युवराज घिमिरेले जेनजी आन्दोनलाई अराजकता मिसिएको विद्रोह भएको बताए । २३ गतेको घटनालाई सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने र २४ गतेको आन्दोलन घुसपैठका कारण घटेकाले उचित छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
उनले जेनजी आन्दोलनलाई अराजकताको भिड भएको तर्क गरे । नेपाली कम्युनिष्ट पार्टीका नेता निर्मल जीसीले जेनजी आन्दोलनले सबै दलहरूलाई सुध्रने संकेत गरेको बताउँदै अबपनि दलहरू नसुध्रिए सक्किनुको विकल्प नभएकाले सबै दल मिलेर देशलाई अगाडि बढाउनु पर्ने बताए ।
यसैगरी नेकपाका केन्द्रीय सदस्य शरद वलीले जेनजी आन्दोलन बेथिति विरुद्धको विद्रोह भएको उल्लेख गर्दै यो अवस्था आउनमा अहिलेको व्यवस्था पनि दोषी रहेको बताए । जेनजी आन्दोलन अहिलेका दलहरूले फैलाएको वितिष्णाको प्रतिकार भएको बुटवल बार एशोसिएसनका अध्यक्ष गोविन्द मरासिनीको भनाइ थियो । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको जेनजी आन्दोलन र त्यसले दिएको शिक्षा विषय अवधारणा पत्रमाथि वक्ताले आ–आफ्ना धारणा राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्