‘पैंक, रोकाय र बिजुली दाह्रे मष्टो देवता’ नामक किताबको विमोचन



कोहलपुर ।

रोकाया परिवार वंशावाली चित्रित किताब विमोचन गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच कोहलपुरमा ‘पैंक, रोकाय र बिजुली दाह्रे मष्टो देवता’ नामक किताबको विमोचन गरिएको हो । रोकाय परिवार प्रकाशक रहेको किताबका लेखक धीरेन्द्र आर.सी. र योगेन्द्रराज आर.सी. हुन्। किताबका प्रधान सम्पादक योगेन्द्र राज आर.सी. हुन् ।

किताबको सम्पादन मण्डलमा मानार्थ उपसेनानी कृष्णबहादुर रोकाय, अधिवक्ता रत्न बहादुर रोकाय ‐आर.सी.) र शिक्षक हस्त बहादुर रोकाय रहेका छन् । ९७ पृष्ठको उक्त ‘पैंक, रोकाय र बिजुली दाह्रे मष्टो देवता’ किताब मष्टो मन्दिर, पैंक गाउँ लगायतका रोकाय वंशावलीहरू समेटेर पुस्तक लेखिएको छ ।

उक्त अवसरमा बोल्दै जाजरकोटको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका सिंहले छरिएर रहेका रोकाया ‐काश्यप) गोत्र भएका सबै एकजुट हुन आवश्यक रहेकोमा जोड दिइन् । उनका अनुसार आफ्नो वंशवलीका बारेमा पछिल्लो पुस्तालाई जानकारी दिनुपर्छ । पुस्तक प्रकाशन हुनु ऐतिहासिक कार्य भएको उनको भनाइ छ ।

‘पैंक, रोकाय र बिजुली दाह्रे मष्टो देवता’ किताब रोकाय वंशावली मात्र नभई ऐतिहासिक दस्तावेज रहेको उपाध्यक्ष सिंहले बताइन् । उनले जाजरकोट शैक्षिक क्षेत्र, धार्मिक र सम्पदाको दृष्टिकोणबाट पैंक गाउँ अग्रणी स्थानमा रहँदै आएको इतिहास रहेको बताइन् । ‘पैंक, रोकाय र बिजुली दाह्रे मष्टो देवता’ किताबले जाजरकोटको विविधतालाई समेत समेटेको उनले जानकारी दिइन् ।

रोकायाको उत्पति र वंशज लगायतका ऐतिहासिक कुराहरूलाई किताबमा समेटिएको लेखक धीरेन्द्र आर.सीले जानकारी दिए । जाजरकोटदेखि विभिन्न जिल्लामा आफ्नो पेशा व्यवसाय गर्न छरिएर रहेका रोकायाहरूलाई सुत्रमा बाध्न मद्दत पुगेको बताए । ऐतिहासिक विषयवस्तुहरू हराएर जाने र नयाँ पुस्ताहरूमा यसबारे जानकारी नै नभएकाले यसलाई संयोजन गरी पुस्तकका रुपमा प्रकाशन गरिएको उनको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ७ गते आइतबार