नरेन्द्रजंग पिटर
राजनीतिक विश्लेषक
पछिल्लो पटक भएको भनिएको विद्रोह किन र केका लागि भएको थियो भन्ने अन्यौलता त कायमै छ । तर, यसले विस्तृत शान्ति सम्झौताको सान्दर्भिकतालाई नै ओझेलमा पारिदिएको छ । सम्झौताले तय गरेको बाटोकै सान्दर्भिकतामाथि प्रश्नचिन्ह उठिरहेको छ ।
यो विभिन्न शक्तिहरूले लोकप्रियतावादी राजनीति हुँदै सृजना गरिरहेका विश्वभरीका घटनाहरूकै एक अंग हो भन्ने मलाई लाग्छ । यसो हुँदा हुँदै पनि शान्ति सम्झौताका पक्षधर शक्तिहरूले संयमतापूर्वक अहिलेको स्थिति सम्हाल्नुपर्छ । थप उत्तेजनाले विकराल स्थित नल्याउला भन्न सकिन्न।
सुुशिल थापा
जेनजी सहिद आयुष थापाका पिता
आयुष मेरो एक्लो छोरा हो । उसलाई गुमाउँदा हामीलाई कति पीडा छ त्यो बुझ्नुपर्याे । हत्यारालाई चाँडोभन्दा चाँडो कारबाही होस् । हाम्रा छोराहरूले त्यस्तो बलिदान दिए, त्यो चुनावका लागि मात्रै होइन भ्रष्टाचारको अन्त्य होस्, सुशासन होस्् भनेर हो । हामी सबै सहिद परिवारको पहिलो माग हत्यारालाई कारबाही होस् भन्ने हो । अब जेनजीहरूले किन आफ्नो ज्यान दिए भनेर मनन् गर्ने र देशलाई उनीहरूको भावनाअनुसार अघि बढाउनुपर्छ ।
सौरभ शाह
जेनजी अगुवा
जेनजीले के सोचेका थिए भने अहिलेको सरकारले सबैभन्दा पहिले युवाहरूलाई हत्या गर्नेहरूलाई कारबाही हुनेछ । सरकारमा बसेकाहरूमाथि छानबिन हुनेछ । तर, जो सरकारमा थिए, जसले गल्ती गरे उसैले फेरि जेनजीहरूलाई नै जिस्काउँदै हिडेका छन् । सबैभन्दा पहिले सरकारले दोषीहरूलाई कारबाही गर्नुपर्छ । नेता र पार्टीहरूले आफ्नो गल्ती स्वीकार गरेर माफी माग्नुपर्छ । त्यसपछि मात्रै चुनावमा जानुपर्छ । युवाहरूलाई फेरि आक्रोशित बनाउने काम कसैले गर्नुहुँदैन ।
सनत रेग्मी
साहित्यकार तथा पूर्व राजनीतिकर्मी
देश अत्यन्तै विषम परिस्थितिमा छ । यतिखेर मैले देखेको एउटै निकास भनेको सबै दलहरू चुनावमा जानु नै हो । यसबाट दायाँबायाँ भयो भने थप समस्याहरू आउँदै जान्छन् र झन् खराब अवस्था नआउला भन्न सकिन्न । युवाहरूको भावनालाई सम्मान गर्दै राजनीतिक दलहरूमा सुधारको जरुरत पनि छ । उनीहरूले आत्मालोचना गरेर स्थितिलाई सम्हालेर लैजानुको विकल्प छैन ।
प्रकाश उपाध्याय
अधिकारकर्मी
आजको स्थिति आउनुका पछाडिको एउटा कारण मुख्य शान्ति सम्झौताका मुख्य सरोकारवालाहरूले आफ्नो कार्यभार किन पूरा कार्यान्यवयन भएन भनेर जवाफ दिन नसक्नु पनि हो । न्याय दिनुपर्ने, सत्य स्थापित गर्नुपर्ने काम किन नगरेको भनेर उनीहरूले जवाफ दिएका छैनन् । उनीहरूले दण्डहीनता सृजना गरे ।
अब सबै स्टेकहोल्डरहरूले आत्मालोचना गर्ने हो । यदि समयमै स्थिति सम्हालिएन भने हाम्रा आर्थिक, सामाजिक, राजनीतिक सबै सूचकहरूले देशमा गृहयुद्धको खतराको आधार बनाइरहेका छन् । यसलाई अहिलेको विद्रोही पक्षसहित जिम्मेवार राजनीतिक शक्तिहरूले चाडै सम्हाल्नैपर्छ । त्यसका लागि निर्वाचन नै सही विकल्प हो ।
बिनिता चौधरी
सशस्त्र द्वन्द्वबाट पीडित परिवारका सदस्य
मेरो बुवालाई हत्या गर्दा म १० वर्षकी मात्रै थिएँ । त्यो घटना अझै मैले बिर्सन सकेकी छैन । हामीलाई न्यायको अनूभुति राज्यले दिलाउन सकेको छैन । यहीबीचमा फेरि अर्काे आन्दोलन भएको छ । धेरैले आफन्तहरू गुमाएका छन् । अझै पनि शान्तिको वातावरण बनेको छैन । यस्तो अवस्थामा म के आग्रह गर्दछु भने नेताहरूले जिम्मेवारी महसुस गर्नुपर्याे । गल्ती स्वीकार गरेर जनताका मागहरू पूरा गर्ने काममा अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।
टंक धामी
अध्यक्ष, नेपालगन्ज उद्योग वाणिज्य संघ
देशले पटक–पटक ठूला क्षतिहरू व्यहोरेको छ । त्यसको सबैभन्दा बढी मारमा निजी क्षेत्र र व्यवसायिक क्षेत्र नै बनेको छ । जेनजी आन्दोलनमा पनि निजी क्षेत्रले धेरै ठूलो क्षति व्यहोर्नुपरेको छ । पुरानो क्षतिको क्षतिपूर्ति नहुँदै अर्काे अशान्तिको चक्रमा देश परिरहने गर्दा आर्थिक क्षेत्र उठ्नै नसक्ने स्थिति छ । अहिले युवाहरूले उठाएका मागहरू पूरा गर्ने प्रतिबद्धता गर्दै अघि बढ्नुको विकल्प छैन । कलैले पनि उक्साउने र थप उत्तेजना फैलाउने काम नगर्न हामी उद्योगी व्यवसायीहरूको आग्रह छ ।
लक्ष्मीकन्या बुढा
माओवादी जनयुद्धकी लडाकु
हामीले देशमा परिवर्तन र जनताको अधिकारका लागि भूमिगत भएर पनि लड्यौँ । त्यसबाट संविधान, संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता उपलब्धीहरू भए । तर विस्तृत शान्ति सम्झौताको पूर्ण पालना भएन । अझै मानिसहरू न्यायको पर्खाइमै छन् । तर शान्ति सम्झौताले एउटा शान्तिपूर्ण बाटोमा देश गइरहेकै बेला अहिले फेरि अर्काे अशान्तिको वातावरण बनिरहेको छ । यो आन्दोलनमा देशभित्रकै केही शक्ति र बाहिरी शक्तिहरूले गिजोल्ने र पुरानै अवस्थामा फर्काउने कुचेष्टा गरेको जस्तो मलाइ लाग्छ । त्यसैमाथि केही नेता र दलहरूले उल्टै अवस्था उत्तेजित बनाउने अभिव्यक्ति दिइरहेका छन् । अब सबै राजनीतिक शक्तिहरू जिम्मेवार भएर देशलाई चुनावमार्फत निकास दिनुपर्छ ।
केशर जंग शाही
स्ववियू सभापति, महेन्द्र बहुमुखी क्याम्पस
आन्दोलनको मर्मलाई कसैले अवमूल्यन गर्नुहुँदैन । अहिले सबै राजनीतिक दलहरूले आन्दोलनको जनादेश मानेर अगाडि बढ्नुपर्छ । देशको अवस्था राम्रो नभएकै कारण त्यस्तो घटना घट्न पुग्यो भन्ने कुरा स्वीकार्नुपर्छ । यसका साथै संविधानले दिएको भेला गर्न पाउने, बोल्न पाउने, हिडडुल गर्न पाउने अधिकारमा कसैबाट पनि अवरोध आउनु हुँदैन । यदि त्यस्तो भयो भने स्थिति थप खराब हुनसक्छ । यसलाई सम्हाल्ने पनि मेरो विचारमा जिम्मेवार राजनीतिक दलहरूले नै हो । अहिले दलहरूप्रति घृणा फैलाइएको छ । तर लोकतन्त्रमा दलको विकल्प छैन भन्ने पनि हामी सबैले बुझ्नु्पर्छ । निर्वाचन हुनुपर्छ तर त्यसका लागि उपयुक्त वातावरण बनाउनुपर्छ ।









प्रतिक्रिया दिनुहोस्